वीरेन्द्रनगरका स्थानीय विनोद गिरी चढेको गाडीमा गोली प्रहार भएको छ । प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगरमा शनिबार राति उनलाई लक्षित गरी एक राउण्ड गोली चलेको हो ।
राति पौने ९ बजेतिर वीरेन्द्रनगर–१ गौरीटोलमा गिरीले आफैले चलाएको गाडीमा गोली प्रहार भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गोली चलेपनि गिरीलाई भने लागेको छैन । घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । शनिबार राति नै चार जनालाई र आइतबार बिहान एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूमध्ये एक जना भारतीय सुटर रहेका छन् । साथै, उक्त गोली प्रहार घटनामा भारतीय सुटर प्रयोग गरेको खुलेको छ । प्रहरीले घटनास्थलबाट एक थान कटुवा पेस्तोल, गोलीको खोका र एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थप गर्ने प्रक्रिया भइरहेको छ भने उनीहरुको परिचय हालसम्म खुलाइएको छैन ।






















