skip this वडा नं १६ बालाजु च:मती

कांग्रेस एमालेले हाम्रा एजेन्डामा सहमति जनाए सरकारमा जान पनि सक्छौं , महामन्त्री राजेन्द्र गुरुङ (राप्रपा)

राजेन्द्र गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री हुनुहुन्छ । पार्टीभित्र स्पष्ट भिजन र दृष्टिकोण राख्न सक्ने सबै नेता कार्यकर्तासँग मित्रवद व्यवहार गर्ने एक सालिन नेताको रुपमा समेत गुरुङ परिचित हुनुहुन्छ । कुनै लाभको पद नलिएर निरन्तर पार्टी संगठनमा सक्रिय गुरुङले मुलुकले राप्रपाले अगाडि सारको मार्गचित्र अनुशरण नगरेसम्म उन्नती प्रगति नगर्ने बताउनु हुन्छ । विस्तारै ठुला दलहरु राप्रपाको एजेन्डाप्रति सकारात्मक हुँदै गएको बताउनुहुने गुरुङसँग सान न्युजका लागि केशव अर्यालले गर्नु भएको कुराकानीको सम्पादित अंश
यहाँहरुको राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र २७ गते सम्पूर्ण नेता कार्यकर्ता र जनतालाई काठमाडौंमा उतारेर आन्दोलन गर्यो तर आन्दोलनको निरन्तरता नदिई बिचमै रोक्नु भयो किन ?
चैत्र २७ गते हामीले जुन आन्दोलनको कार्यक्रमको घोषणा गरेका थियौं, त्यो एकदिने कार्यक्रम थियो । तपाईले प्रश्न गर्नुभए जस्तै देशभरिबाट हाम्रा नेता कार्यकर्ता साथीहरु काठमाडौं आउनु भयो । नागरिक समाजको पनि आन्दोलनमा सहभागिता रह्यो । जुन सहभागिताले हामीलाई अत्यन्त उत्साहित बनाएको छ । अहिले देशमा जे जस्ता क्रियाकलाप भइरहेका छन्, त्यसमा नेपाली जनता सन्तुष्ठ छैनन भन्ने कुरा चैत्र २७ गतेको उपस्थितिले पुष्टि गरेको छ । उक्त उपस्थितिले पार्टीलाई थप उत्साहित बनाएको छ । हामी सहभागी आम जनता, नेता, कार्यक्रमप्रति कृतज्ञ छौं । हामीले हाम्रा एजेण्डा छाडेका छैनौं । हामी नयाँ कार्यक्रमसहित पुनः   आन्दोलनको तयारीमा छौं । तपाईसँग कुरा गर्नु अघि पार्टीमा युवा दस्ता बनाउने छलफल कार्यक्रममा सहभागी भएर म आएको छु । अब देशव्यापी रुपमा युवा दस्ता बनाउछौं र हाम्रा एजेण्डालाई अगाडि बढाउन सशक्त आन्दोलन गर्दछौं ।
राप्रपाले साच्चै नै राजसंस्थाको पुनःस्थापना गर्न चाहेको भन्दा पनि राजा र राजसंस्थाको नाम भजाएर शक्ति आर्जन गरी आफू सत्तामा जान चाहन्छ भन्ने पनि आरोप छ नि ?
यो आरोपमा कुनै सत्यता छैन । किनकि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो स्थापनाकालदेखि नै यो मुलुकको लागि राजसंस्था अपरिहार्य छ । सर्वधर्म सम्भावसहितको हिन्दु अधिराज्य चाहिन्छ भन्दै आएको छ । त्यसैगरी, राप्रपाले दुई तहको सरकारको कुरा पनि स्थापनाकालदेखि नै उठाउँदै आएको छ । त्यसैले हामीले राजसंस्थाको नाम शक्ति प्राप्त गर्न होइन, यो मुलुकको आवश्यकता हो भनेर उठाएका हौं र त्यो निरन्तर जारी छ ।
यदि साँच्चै नै राजसंस्था पुनःस्थापना गर्न चाहनु हुन्थ्यो भने २०८० चैत २७ गते एक दिन मात्र राजसंस्थाको पक्षमा आन्दोलन गर्नु भयो, आन्दोलनको क्रममा एक जना सहिद पनि हुनुभयो तर बिचमै आन्दोलन किन छाड्नु भयो ?
आन्दोलन गर्ने आ–आफ्नै शैली र तरिका हुन्छन् । हामीले हाम्रो तरिकाले निरन्तर आफ्ना एजेन्डाहरु निरन्तर उठाइरहेका छौं । अवश्य पनि तपाईले सोध्नु भएजस्तै हाम्रो आन्दोलनले निरन्तरता नपाएको सत्य हो तर निरन्तरता नदिएको पनि एजेन्डा छाडेर वा विचलन भएर होइन रणनीति अन्तर्गत नै हो । राप्रपाले आन्दोलनको बलबाट आफ्ना मुद्दाहरु पूरा गराउन चाहन्छ । अहिले पनि हामी आन्दोलनको तयारीमा छौं र आन्दोलनकै माध्यमबाट हाम्रा मुद्दाहरु स्थापित गर्दछौं ।
भावि दिनको लागि आन्दोलनको तयारी कस्तो छ ?
हामीले विगतमा उठाउँदै आएको सर्वधर्म समभावसहितको हिन्दु अधिराज्य, संवैधानिक राजतन्त्र जस्ता एजेन्डा त उठाउँछौं नै, यसबाहेक अहिलेको संघीयता पनि ठिक छैन । यि विषयलाई लिएर जनताको माझमा जान्छौं । त्यसैगरी देशमा भ्रष्टचार व्याप्त छ, सुशासन कायम हुन सकेको छैन, बेरोजगारी समस्या छ, किसानले मल बिउ पाएका छैनन् । यि सबै जनजिविकाका मुद्दा उठाउँदै आन्दोलनमा जान्छौं ।
फरक प्रसंगमा, पछिल्लो समय संसदको सबैभन्दा ठूलो दल कांग्रेस र एमालेबीच सत्ता गठबन्धन गरेर अगाडि बढ्ने सहमति भएको छ, यसलाई राप्रपाले कसरी लिन्छ ?
अहिले दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन गरेर नयाँ सरकार बनाउने र अहिलेको सरकारलाई विस्थापित गर्ने सहमति भएको छ । त्यसैगरी, दुई दलबीच संविधान संशोधन गर्ने पनि सहमति भएको छ । राप्रपाले पनि विगतदेखि नै यो संविधानमा संशोधन हुनुपर्छ भन्दै आएको थियो । कांग्रेस र एमालेले यो विश्वकै उत्कृष्टै संविधान हो भन्दै आएका थिए । उनीहरु पनि अहिले आएर संविधान संशोधन गर्ने कुरामा सहमति गर्दा हामीले विगतमा उठाएको एजेन्डा सहि थियो भन्ने पुष्टि भएको छ । राप्रपाले त विगतदेखि नै यो संविधानले नेपाल र नेपालीको कल्याण गर्दैन, नेपाल र नेपालीको लागि यो संविधान होइन भन्दै आएको थियो । यो संविधान जबर्जस्त लादिएको संविधान हो भन्दै आएका थियौं, जुन कुरा पुष्टि भएको छ ।
कांग्रेस र एमालेले चाहेको संशोधनको एजेन्डा र तपाईहरुले उठाउनु भएको संशोधनको एजेन्डा त फरक होला नि ?
उहाँहरुको एजेन्डा के छ त्यो विस्तारै प्रष्ट हुँदै जाला । तर, उहाँहरुले त यो विश्वकै उत्कृष्ट संविधान हो । ठुलो त्याग र बलिदानले स्थापित भएको संविधान हो, यसमा संशोधन जरुरी छैन भन्नु हुन्थ्यो । अहिले आएर संशोधन गर्न जरुरी छ भनेर उहाँहरु जसरी सहमत हुनुभयो । त्यसबाट कम्तिमा संविधान संशोधन हुनुपर्छ भन्ने राप्रपाको एजेन्डासहित थियो भन्ने कुरा त स्थापित भयो नि ।
अब संशोधन गर्दा नेपाली जनताको भावना र चाहना समेट्ने गरी संशोधन गर्नु पर्दछ । हाम्रो भनाई त संविधान संशोधन मार्फत राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाउँदै आएको मुद्दाहरु संवोधन गर्नुपर्दछ । राप्रपाले जुन मार्गचित्र अगाडि सारेको छ त्यो अनुरुप नहिडेसम्म मुलुकको समृद्धि हुँदैन । जनताको भलाई पनि हुँदैन । मुलुकमा शान्ति, विकास, उन्नती, प्रगति केही हुँदैन ।
अब कांग्रेस एमालेको गठबन्धनसँग सहकार्य गरेर अगाडि बढ्ने सम्भावना कत्तिको छ ?
राप्रपा संसदको पाँचौं ठूलो दल हो । त्यसैले राप्रपाले अन्य दलहरुको सँगको सम्बन्ध चिस्याउने काम गर्दैन । हामी हाम्रो एजेन्डामा स्पष्ट छौं । गन्तव्यप्रति स्पष्ट छौं । यदि दुई ठूला दलले साच्चैनै मुलुकलाई केन्द्रमा राखेर संविधान संशोधन गर्न चाहेका हुन भने मुलुकलाई राप्रपाको मार्गचित्रमा भिडाउनुको विकल्प छैन । अन्य ठुला दललाई पनि हाम्रा एजेन्डाहरुप्रति गम्भीर हुन अनुरोध, आग्रह गर्दछौं ।
हाम्रो मुद्दामा पनि उहाँहरुको समर्थन र सद्भाव रहने भयो भने सरकारलाई समर्थन गर्ने वा अन्य विषयमा पनि छलफल हुन सक्छ तर हाम्रो प्राथमिकता भनेको संविधान संशोधनमार्फत हाम्रा माग र मुद्दाहरु पूरा गर्ने नै हो ।
तपाईंहरु संसदको पाँचौं ठुलो दल हुनुहुन्छ तर तपाईको पार्टीलाई पनि जनताले सोचजस्तो महत्व दिएनन् नि ?
अहिले मुलुकमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता छ । संविधानले त्यसैलाई व्यवस्थित गरेको छ । हामीलाईृ आएको मत त अहिलेको व्यवस्थाको विरोधमा आएको मत हो । त्यसैले विद्यमान व्यवस्थाका विरुद्ध आएको मतलाई कम आकलन गर्नु हुन्न । राप्रपाले कति मत ल्यायो भन्ने कुरा प्राविधिक विषय हो । मुख्य कुरा मुलुकलाई अगाडि बढाउने मार्गचित्र के हुन सक्छ भन्ने हो । त्यसरी हेर्ने हो भने मुलुकलाई अगाडि बढाउने एउटा मात्र उपयुक्त मार्गचित्र राप्रपाले अगाडि सारेको मार्गचित्र नै हो । अहिलेका प्रधानमन्त्री प्रचण्डले पनि राजाकै पालामा नेपालको सान, मान थियो भनेर भन्नु भएको छ, बल्ल उहाँको चेत खुल्दैछ । त्यसैगरी, बामदेव गौतमले पनि मुलुक अगाडि बढाउन राजा चाहिन्छ भन्नु भएको छ । यसरी सबैतिरबाट राप्रपाको मार्गचित्र नै सहि छ भन्ने भनाई आइराखेको छ ।
अहिलेको व्यवस्थाको विकल्प चाहियो भनेर राजनीतिमा आएको रास्वपा, बालेन साह, हर्क साङ्पाङ जस्ताले प्राप्त गरेको मत तपाईहरुले तान्न सक्नु भएन नि, यसको विश्लेषण कसरी गर्नु हुन्छ ?
तपाईको प्रश्नमा केहिहदसम्म सत्यता छ । विकल्प खोजिराखेका मतदातालाई हामी तर्फ आकर्षित गर्न नसकिएको छ । यसरी आकर्षित गर्न नसक्नुमा पार्टीको मात्र कमजोरी छैन । त्यसमा देशी विदेशी चलखेलले पनि काम गरेको छ । नेपाली जनताले विकल्प खोजेपछि देशी विदेशी शक्तिले अब यो मत राप्रपालाई जाने भयो भनेर रास्वपा, बालेन, हर्क जस्ता पार्टी र व्यक्तिलाई अगाडि सारे ।
तपाईले देशी विदेशी शक्तिको षडयन्त्रको कारण राप्रपा शसक्त हुन नसकेको बताउनु भयो तर धेरैले राप्रपा बाह्य कारणले होइन आन्तरिक किचलोको कारणले नै कहिले फुट्ने, कहिले कमजोर बन्ने अवस्थामा आएको हो भन्छन् नि ?
राप्रपा एउटा जिवन्त पार्टी हो । जिवन्त पार्टीभित्र नेताहरुले आ–आफ्नो विचार भनाई राख्नु स्वभाविक हो । बाहिर सामाजिक सञ्चालमा आएजस्तो कुनै समस्या छैन । यसको मतलब पार्टी समस्यामुक्त छ भन्ने होइन । केही समस्या हुन सक्छन् तर बाहिर प्रचार गरिएजस्तो कुनै समस्या छैन । आम नेपाली जनताले यो मुलुकलाई राप्रपाले विकल्प दिनु पर्छ भनिराखेका छन् । राप्रपाका सम्पूर्ण नेता कार्यकर्ता पनि यस तर्फ सचेत छन् । त्यसैले बाहिर सामाजिक सञ्जालमा आएको हल्ला जस्तो पार्टीमा कुनै समस्या छैन । राप्रपाले नै मुलुकलाई विकल्प दिनु पर्छ भनि सम्पूर्ण नेता कार्यकर्ता लागिरहनु भएको छ ।
अन्त्यमा ?
अन्त्यमा म के भन्न चाहन्छु भने अहिले मुलुकको राजनीतिक घटनाक्रम जसरी अगाडि बढिराखेका छन् त्यसबाट राप्रपाले उठाएको एजेन्डा र मार्ग सहि हो भन्ने पुष्टि भएको छ । विश्वमानचित्रमा नेपाल र नेपालीको शिर उचो बनाउने हो । नेपालको इतिहास र संस्कृति बचाउने अनि नेपालमा नेपालकै माटो सुहाउँदो प्रणाली स्थापना गर्ने हो भने राजसंस्थासहितको व्यवस्था सर्वधर्म समभावसहितको हिन्दु अधिराज्य र दुई तहको सरकारको प्रणालीमा जानुको विकल्प छैन । अहिलेको प्रणालीले मुलुकका समस्या समाधान गर्न सक्दैन । समस्या समाधान हुने भनेको राप्रपाकै मार्गचित्रबाट हो ।