नेपालमा बेला–बेला कम्युनिष्ट पार्टीहरु बिचको एकताको बिषयले चर्चा पाउने गर्दछ। पछिल्लो पटक २०८१ मंसिर १६ को उपनिर्वाचनमा प्राप्त मत र बिजय भएका स्थानको मत विश्लेषण गर्दै बाम बुद्धिजीबि र जनस्तरमा पुन: वामपन्थी शक्तिहरूबीच एकता हुनु पर्ने चर्चा चल्न थालेको छ । उनीहरुको निष्कर्ष छ, नेकपाको फुटले कम्युनिष्ट आन्लदोलनलाई घाटा पारेको छ । प्रमुख वाम पार्टीहरूबीच धेरै सैद्धान्तिक मतभेद पनि देखिँदैन । नीतिगत रूपमा उनीहरू उस्तैछन् । फुट केवल शीर्ष नेताहरूको महत्वकांक्षाका कारण भई रहेको छ । धेरैजसो वामपन्थीले आफ्नो कार्यदिशामा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने राजनीतिक कार्यक्रम राखेका छन् ।
प्रमुख कम्युनिष्ट पार्टी एमाले, माओवादी र एकिकृत समाजबादी सबै चुनाबी प्रतिस्पर्धामा विश्वास गर्दछन् । उनीहरुले बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्दै आएका छन् र बहुदलीय प्रतिस्पर्धा मार्फत समाजवादको आधार निर्माण गर्ने बताउँदै आएका छन् । यी तीनवटै पार्टीको कार्यदिशा दलाल पुँजीवादको अन्त्य गर्दै र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने भन्ने छ । एमाले र समाजबादीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद छ भने माओबादीको माओवाद थपिएको छ । तर ब्यवहारमा उनीहरु बीच व्यक्तिवादी अहंकारवाद, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवादका कारण एक ठाउँमा छैनन् । उनीहरुको यही अहंमको टकरावका कारण कम्युनिष्टहरु फुटेर पाउन सक्ने उपलब्धि पनि गुमाईरहेका छन् ।
यस्तो अवस्थामा कम्युनिस्ट पार्टीलाई नयाँ ढंगले पुनर्गठन र रूपान्तरण गरेर नेपालको कम्युनिष्ट आन्दोलनले प्राप्त गर्न सक्ने उपलब्धिहरू बढाउनुपर्ने बाम बुद्धिजीबीको सुझाव छ । अहिलेकै उपनिर्वाचनको चुनावी परिणाम हेर्दा पनि कम्युनिष्टहरु मिलेको भए काँग्रेसले र रास्वपाले जितेका मध्ये थप छ स्थानमा कम्युनिष्टले जित्ने थिए । झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४ सय ९३ मतसहित निर्वाचित भए । ओलीलाई रास्वपाको समर्थन थियो । त्यहाँ एमालेका तुलाराम बस्नेत ३ सय ५६ र माओवादीका गणेशबहादुर थापाले २ सय ७७ मत प्राप्त गरेका छन् । एमाले र माओबादीको मत जोड्दा ६ सय ३३ मत हुन्छ यो मत जित्नकालागि चाहिने भन्दा बढी हो ।
त्यस्तै सुनसरीको गढी–६मा काँग्रेसका तेतर साहु ८ सय १६ मतसहित निर्वाचित भएका छन्। त्यहाँ माओवादीका कुशेश्वर खेरवारको ७ सय ९४, एमालेका सन्तु उरावको ७ सय ७०, मत छ । जहाँ एमाले र माओबादीको मत जोड्दा १ हजार ५सय ६४ मत हुन्छ यो पनि जित्नका लागि चाहिने भन्दा धेरै बढी मत हो ।
त्यस्तै काठमाडौं–१६ मा रास्वपाकी रोजिना श्रेष्ठ १ हजार ५ सय ८४ मतसहित निर्वाचित भएकीछिन् । एमालेका लक्ष्मीरत्न तुलाधर १ हजार २ सय १८, एकीकृत समाजवादीका मीनबहादुर मानन्धर ६सय ५१, मत प्राप्त गरेका छन । दूई कम्युनिष्टको मत जोड्दा १ हजार ८ सय ६९ हुन्छ । यो पनि जित्नका लागि चाहिने भन्दा धेरै बढी मत हो । उता कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल ५ हजार ३ सय ३४ मतसहित निर्वाचित भएका छन् । माओवादीका शिवशरण महर्जन ४ हजार ५ सय ५५, एमालेका सुरेन्द्र मानन्धर ४ हजार ३ सय ३७ । दूई कम्युनिष्टको मत जोड्दा ८ हजार ८ सय ९२ हुन्छ । यो पनि जित्नका लागि चाहिने भन्दा धेरै बढी मत हो ।
हेटौँडा–१२ मा काँग्रेसका अर्जुनप्रसाद तिवारी २ हजुरा ६३ मतसहित निर्वाचित भएका छन्, माओवादीका रविकुमार १ हजार ५ सय ६०, एमालेका राजेश नगरकोटी १ हजार ३ सय ९८, दूई कम्युनिष्टको मत जोड्दा २ हजार ९ सय ५८ हुन्छ । यो जितकालागि चाहिने भन्दा धेरै बढी हो ।
यसरीनै दार्चुलाको दुहुँ–५ मा काँग्रेसका धनसिंह कुँवर ३ सय ७६ मतसहित निर्वाचित भएका छन्, एमालेका मानसिंह बडाल ३ सय ५८, माओवादीका वीरसिंह कार्की ९८ मत प्राप्त छ तीन कम्युनिष्ट पार्टीको मत जोड्दा ४ सय ५६ हुन्छ । यो पनि जित्नका लागि चाहिने भन्दा धेरै बढी मत हो ।
यी सबै परिणामले कम्युनिष्ट एकताको माग गर्दछ । तर ब्यबहारमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति अत्यन्तै बढी अनुदार देखिन्छन । उनले नेपाल नेतृत्वको पार्टीलाई मान्यता दिनसमेत अस्वीकार गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि ओलीको आलोचना गर्दछन । यस्तो अवस्थामा कम्युनिस्ट एकताको टुटेको कडी फेरि कसरी जोडिन सक्छ ? यस्तो अवस्थामा बाम बुद्धिजीबिको सुझाव छ ओलीको नेतृत्वको एमालेबिनाको कम्युनिष्ट एकतामा जोड दिए पुन: कम्युनिस्ट एकताको टुटेको कडी फेरि जोडिन सक्छ । केपी ओली र उनको गुटमा देखापरेको अहंकार, दम्भ, पदलोलुपता, राष्ट्रिय आत्मसमर्पणवाद र दक्षिणपन्थी अवसरवादका कारण नेकपा विघटन हुन पुग्यो । यस्तो विघटित, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गराउने पात्रको खोजी हुँदा सधैं अग्रपंक्तिमा विद्या भण्डारी देखिन पुग्दछिन् ।
आफ्नो दुई कार्यकालमा विना कंलक, विना विवाद राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति सन्तुलन कायम गरी आफ्नो सफल कार्यकाल पुरा गरेकी विद्या मात्र नेपालको कम्युनिष्ट आन्दोलनको एक मात्र साझा व्यक्तित्वको रुपमा देखा परेकी छिन् । हुन त कतिपयले भन्ने गर्दछन् राष्ट्रपति भएको ब्यक्ति पुन राजनीतिमा आउन हुन्न । यसो भन्नेलाई बुद्धिजीबिहरु भन्ने गर्दछन् रुसमा पुटिन राष्ट्रपति र प्रधानमन्त्री दुबै हुन मिल्ने नेपालमा किन नमिल्ने ?
अमेरिकामा राष्ट्रपतिले पदबाट बाहिरिए पछि पुरानै पेसा गरेर राजनीतिमा पुन सक्रिय हुन मिल्ने नेपालमा हुन किन नमिल्ने ? त्यस्तै विद्या स्वयम्ले पनि एक टेलिभिजन अन्तरर्वार्तामा आफू राजनीतिक बाट निरपेक्ष नरहेको र नेपालको कम्युनिष्ट आन्दोलनले माग गरेमा पुन: जिम्मेवारी लिन बाट नपन्छीने संकेत समेत गरेको सन्र्दभमा नेपालको कम्युनिष्ट आन्दोलन जोगाउन विद्याको खाँचो देखिएको विश्लेषण गर्न थालिएको छ । त्यसैले ओलीको ठाउँमा बिद्या भन्डारी एमाले नेतृत्वमा आएमा कम्युनिष्ट एकताको टुटेको कडी फेरि जोडिन सक्छ । विभाजित भएका सबै इमान्दार कम्युनिस्टहरूलाई एकताबद्ध गरि कम्युनिस्टहरूको एउटै केन्द्र निर्माण गर्न सम्भव हुन्छ । त्यसैले विद्या समयको आवश्यकता र कम्युनिष्ट आन्दोलनको बाध्यता पनि हुन् ।



















