रसुवा केरुङ नाकाः इतिहास के भन्छ

२०८२ असार ४ गते बुधबार सान (एस.ए.एन.एन.) न्युजमा प्रकाशित खबरले मेरो ध्यान आकृष्ट गर्यो। त्यहाँ चालु आर्थिक वर्षको साउनदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङमार्ग हुँदै रसुवा नाकाबाट करिब ८० अर्ब बराबरको सामग्री आयात भएको र ३ अर्ब बराबर मात्र निर्यात भएको उल्लेख छ। सोही समाचारमा उक्त अवधिमा ६,२६६ थान (जिप,कार,भ्यान), ४९ थान तीनपाङ्ग्रे तथा माइक्रोबस तथा बस-ट्रक गरी १,१७६ विद्युतीय सवारी साधन आयात भएको उल्लेख छ। यो समाचारबाट रसुवा केरुङ नाका हिजो के थियो र आज किन यस्तो भयो भन्ने कुरा गम्दा रसुवा केरुङ नाकाका विषयमा आएका केही चिन्तनहरू पाठक समक्ष प्रस्तुत गर्न खोज्दा यो लेखोट तयार भयो।

रसुवा केरुङ नाका नेपाल-भोट-चीनको आर्थिक, सामाजिक र राजनीतिक सम्बन्धको आरोह अवरोहको मूकदर्शक थियो। सातौं शताब्दीदेखि हालसम्म पनि चीन-भोट-नेपाल र हिन्दुस्तानको व्यापारको मूल बाटो यो सामरिक महत्त्वले भरिएको किल्ला भएको छ। व्यापारी, तीर्थयात्री, भिक्षु, पादरी, पण्डित, ज्ञानपीपासु, जिज्ञासु सबैका लागि केरुङ मार्गले नै स्वागत गर्यो। यो मार्ग मैत्री, प्रेम, सद्भावना, संस्कृति, सभ्यताको आदानप्रदान हुने राजमार्गकै रुपमा प्रतिष्ठित थियो। विश्वमा प्रचलित प्राचीन व्यापारिक मार्गहरू जस्तै सिल्क रुट, स्पाइस रुट, ट्रान्स सराहन रुट, अम्बर रुट, टि हर्स रुट जस्ता प्राचीन र मध्यकालीन संसारका प्रसिद्ध व्यापारिक मार्ग थिए। यीमध्ये परोक्ष रूपमा सिल्क रुटसँग केरुङ नाकाले सम्बन्ध गाँसेको थियो।

हिमालयन शृङ्खला पाकिस्तान, हिन्दुस्तान, भोट, भुटान र नेपालको उत्तरी क्षेत्रमा पूर्वपश्चिम करिब २५०० किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यसमा मुख्य २१ वटा ठूला नाका व्यापारिक मार्ग छन् भने सानातिना गौँडा त अनेकौं छन्। नेपाल र भोटबीच साना ठूला गरी ३७ भन्ज्याङहरू विद्यमान छन्। यीमध्ये ओलाङचुङगोला, किमाथाङका, कोदारी (कुति), केरुङ (रसुवा), कोरोला (मुस्ताङ), टिङ्कर अादि प्रमुख छन्। यी सबै नाकाहरूमध्ये सहज सुगम प्रायः सबै मौसममा खुल्ला हुने केरुङ नाका नै भएको तथ्य स्मरणीय छ। केरुङ नाका व्यापारिकबाहेक अन्य विविध दृष्टिकोणले समाजिक महत्त्वको स्थान हुँदा नेपालले त्यस क्षेत्रलार्इ अधीनस्थ गर्न भगीरथ प्रयत्न गरेको थियो, इतिहास यसै भन्छ। तर छोटो समयबाहेक उक्त नाका भोट र कालान्तरमा चीनकै आदिपत्यमा रह्यो।

केरुङ नाका अनादिकालदेखि नै नेपाल र भोटका सीमाका रैतीबीच सम्पर्कको माध्यम भए तापनि सातौं शताब्दीबाट चल्तीको मार्ग बन्न पुग्यो। सोही शताब्दीमा नै कुती (कोदारी) नाका पनि प्रचलनमा आएपछि चीन, भोट, नेपाल र हिन्दुस्तान बीच आवागमनको मार्गका रूपमा यी दुई नाका नै बढी चलायमान भए। सातौँ शताब्दीमा नेपाल आउने चिनियाँ बौद्ध तीर्थयात्री फाइयान र हु एन साङ भोटबाट हिन्दुस्थान छिरी नेपाल आएका थिए। व्यापारिक प्रयोजनबाट प्रारम्भ भएको यो केरुङ मार्ग तीर्थयात्री, दूत, शिष्टमण्डल एवं शरणार्थीहरूका लागि पनि लोकप्रिय मार्ग बन्न पुग्यो। लिच्छविकालको नेपाल भोट व्यापारको प्रमुख मार्ग यही नै थियो। सोही कालदेखि नेपाल भोटको व्यापारमा भाले हुँदै आएको देखिन्छ। मध्यकालदेखि भोट, नेपाल र हिन्दुस्तानको प्रमुख व्यापारिक मार्ग नै यही बन्न पुग्यो। जुन स्थिति सन् १९०४ सम्म यथावत रह्यो। यही व्यापारका कारण लिच्छविकालमा मानविहार, कैलाशकूट भवन, भद्रादिवास भवन जस्ता भव्य दरबार बन्न सके। मध्यकालमा आएर काठमाडौँ उपत्यकाको आर्थिक समृद्धि हुन गई अनेकौं भव्य दरबार, मन्दिर, विहार, सत्तल निर्माण भई सरकार र जनता दुवै आर्थिक रूपले सम्पन्न हुन पुगे। यसै कारण पनि कला कौशलको मात्र उन्नति भएन संस्कृति र सभ्यताको क्षेत्रमा पनि उपत्यका उर्वर स्थान हुन पुग्यो। राणाहरुको शान राख्न पनि यो मार्ग सहयोगी रह्यो र कयौँ ठूला र भव्य दरबार बने। सन् १९०४ भन्दा पहिलेसम्म नेपाल सरकारले भोट व्यापारबाट मनग्य राजस्व सङ्कलन गर्न सकेको थियो। सन् १९०४ पश्चात् केरुङ नाका कम चल्तीको मार्ग हुन पुग्यो।

केरुङ नाकाबाट नेपालबाट खाद्यान्न मरमसला, तामा, काँसका घरायसी सामान, सखर, खुर्सानी, बेसार, धातुका मूर्ति, मुगा, फलामका हातहतियार, सुर्तीजन्य पदार्थ, सुती कपडा, मिठाइ, सुक्खा फलफूल, चिनी, मिस्री आदि जाने गर्दथ्यो। यसैगरी यही मार्ग भएर घोडा, कुकुर, ऊन र ऊनका सामान, कस्तुरी, बिना, चिनियाँ माटाका भाँडाकुँडा जस्ता सामान नेपाल आउँथे। नुन आपूर्ति हुने प्रमुख मार्ग पनि केरुङ नै थियो। अफिम जस्ता विनिषिद्ध वस्तु पनि यही बाटो हुँदै भोट पुग्थे। भोटमा उत्पादित वस्तु भारतीय बजार र हिन्दुस्तानका चिजबिजहरू भोटमा यसै मार्गबाट प्रवाहित हुने गरेको थियो। नेपाली सिक्का ल्हासा पुगी सो बराबरको सुन चाँदी यसै मार्गबाट नेपाल भित्रिन्थ्यो। सुन र शरणार्थी भित्रिने घटनाको साक्षी त केरुङ (रसुवा) अहिले पनि छँदै छ।

व्यापारबाहेक सातौं शताब्दीदेखि नै नेपाल-भोट-चीन-हिन्दुस्तानका कूटनीतिज्ञ, कलाकार, तीर्थयात्री, बौद्ध विद्वान् भिक्षु, इसाई पादरी, शरणार्थीहरूको आवागमनको मुख्य नाका केरुङ नै भयो। स्रङ चङ गम्पोले नेपाली राजकुमारी भृकुटीको विवाह प्रस्ताव लिएर आउने मन्त्री गर तोड सेन यही बाटो काठमाडौँ पुगेका र भृकुटीको डोला लिएर यही बाटो भएरै ल्हासा गएका थिए। भोटमा बुद्ध धर्म पुग्ने बाटो पनि केरुङ नै भयो। गुप्तहरूबाट लखेटिएका लिच्छवि राजा उदयदेव केरुङ भएर भोटको शरणमा पुगेका थिए। उदयदेवका छोरा नरेन्द्रदेवले भोटको सैनिक सहायता लिर्इ यही बाटो आएर राजपाठ फिर्ता लिन सफल भएका थिए। नरेन्द्रदेवकै शासनकालमा चीनका राजदूत वाङ हिन्चे र लिप्याबो यही मार्ग भएर काठमाडौँ छिरेका थिए। कालन्तरमा अरनिको नेपाली कालीगढ लिएर केरुङ हुँदै भोटबाट चीन पुगेका थिए। यसै क्रममा डा. के.आर्इ. सिंह पनि यही नाका भएर चीनमा शरणार्थी बन्न पुगेका थिए। बहादुर शाहले पनि यही बाटो चीन जाने इच्छा व्यक्त गरेका थिए तर पूरा भएन। भोटमा शरणार्थी हुँदा उदयदेवका छोरा नरेन्द्रदेव पुरस्कृत भए भने डा.के.आर्इ. सिंह फर्केको २ वर्षपछि नेपालकै प्रधानमन्त्री बन्न पुगे । यो गजबकै संयोग बन्न पुगेको छ।

केरुङ मार्ग सांस्कृतिक धार्मिक एवं उत्तर र दक्षिण एसियाकै सांस्कृतिक मार्ग थियो। हिन्दुस्तानबाट भोट-चीन जाने र चीनबाट हिन्दुस्थान जाने तीर्थयात्री, धार्मिक नेता, ज्ञानी, अन्वेषक, जोगी, सन्यासी, फिरन्ते, मगन्ते, जासुस आदिको स्वागत गर्ने मार्ग पनि यही नै थियो। बौद्ध पण्डित शान्तिरक्षित, पद्मसम्भव, शीलमञ्जु, कमलशील यही मार्ग भएर भोट चीन पुगेका थिए। साथै मानसरोवर पुग्ने हिन्दु तीर्थयात्री हिजोदेखि आजसम्म यही मार्ग प्रयोग गरिरहेका पनि छन्। १८औँ शताब्दीमा धर्म प्रचारमा हिँडेका इसाई पादरीहरूले धर्म प्रचार गर्ने सुविधा मल्ल राजाहरूबाट पाउँदा उनीहरू यसै मार्ग भएर भोट पुगेका थिए। आवागमनमा अपेक्षाकृत सहज र सुरक्षित हुँदा यी उल्लेखित वर्गका सबै डुलुवाहरू व्यापारीकै साथ केरुङ भएर भोटका विभिन्न स्थल पुग्दथे। भनिन्छ, हिमालय शृङ्खलामा सबैभन्दा बढी सहज, उपयुक्त र ठूलो मार्ग पनि यही केरुङ नै थियो।

केरुङ नाकालाई आफ्नो कब्जामा लिने नेपाली शासकको उत्कट चाहना रहेको देखिन्छ। भोटको बजारमा पहुँच विस्तार गर्न केरुङलाई आफ्नो कब्जामा राख्न सबै लालायित हुन्थे। यक्ष मल्लले साम्राज्य विस्तार गरेर केरुङ क्षेत्र आदिपत्य जमाएका थिए तर दिगो हुन सकेन। उपत्यकाको भोट व्यापारको चकचकी देखेर गोरखाका राजा राम शाहले भोटमा धावा बोली केरुङ कब्जा गरे। तर, व्यापारमा भने कुनै प्रगति भएन। कालन्तरमा केरुङ पुनः भोटकै अधीनस्थ हुन पुग्यो। नरभूपाल शाहले नुवाकोट आक्रमण गर्नको कारण पनि केरुङ भएर भोटको बजारमा प्रवेश गर्ने नै थियो तर सफल भएन। पृथ्वीनारायण शाहले नुवाकोट कब्जा गर्नेबित्तिकै केरुङ मार्फत बन्द व्यापार पनि गर्ने सिक्का पनि पठाउने लामो प्रयास गरे तर उनी सफल भएनन्। उपत्यकालाई गलाउन आर्थिक नाकाबन्दी गर्ने नीति भने उनको केही हदसम्म फलदायी भयो। सन् १७८८ मा नेपाल-भोट युद्ध हुँदा केरुङ नाकाबाटै नेपाली फौज सिकार जोङ हुँदै सिगात्से पुगेको थियो। युद्धमा भोटमा पराजित भई सन् १७८९ को यही केरुङमा सन्धि भयो। उक्त सन्धिको पालनाका विषयलाई लिएर युद्धको पुनरावृत्ति हुँदा नेपाली फौजले यही केरुङबाट भोटमा धावा बोल्न पुगेको थियो। सिगात्से मठ नेपालीले लुटेको घटनाबाट चीन बादसाह उत्तेजित भई फु काङ बाङको नेतृत्वमा फौज यही केरुङ हुँदै बेत्रावतीसम्म पुगेको थियो। यहाँ बेत्रावतीको सन्धि भई फु काङ र चिनियाँ फौज केरुङ हुँदै चीन फर्केको थियो। सन् १७९२ को यही सन्धिअनुसार नेपालले चीन बादसाह समक्ष ५ वर्षमा पठाइने सौगात मण्डल चीनबाट केरुङ भएर काठमाडौँ फर्कने रित थियो। सन् १८५४-५५ को नेपाल भोट युद्धमा नेपाली फौजले केरुङ हुँदै भोटमा धावा बोलेको थियो। युद्धको अन्त्य सन् १८५६ को थापाथली सन्धिले गरायो। यस सन्धिबाट नेपाल र नेपाली व्यापारीलाई धेरै एकतर्फी फाइदा पुग्दा केरुङ मार्ग खुब चल्यो। सन् १८८३-८४ र सन् १९२८-३० का नेपाल-भोट विवाद युद्धकै स्थितिमा देखापर्यो। उक्त दुवै विवादमा नेपालले भोट हमला गर्दा केरुङबाट भोट घुस्ने रणनीति बनाएको थियो। तर, युद्ध भने भइहालेन। सन् १९०७-०८ तिर केरुङमा २२१ जना नेपालीको बसोबास रहेको थियो। सन् १९०४ मा ल्हासा सम्झौता भई छुम्बी घाँटीको मार्ग प्रचलनमा आएपछि भोट-हिन्दुस्तानको व्यापारमा केरुङ नाकाको भूमिका हिजो जस्तो भएन। सन् १९४९ मा भोटमा चीनको आधिपत्य जमेपछि केरुङ नाकाको भूमिका न्यून हुँदै गयो र कालान्तरमा यो नाका बन्द नै भयो। सन् १९५६ को नेपाल-चीन सन्धिबाट भोट-नेपाल बीच भएका सबै सन्धि खारेज गरेपछि केरुङबाट नेपाली अड्डा पनि उठ्यो। केरुङमा भएका नेपाली व्यापारीहरू पनि स्वदेश फिर्ता भए। केरुङ मार्ग खुल्ला गर्ने नेपालको मागबमोजिम सन् २०१४ मा पुनः खोलियो । यो नाकाबाट सन् २०१७ मा विदेशीका लागि पनि प्रवेश गर्न पाउने व्यवस्था भयो। कोरोना महामारीमा बन्द भएको नाका सन् २०२३ जनवरीबाट खुल्ला भई नेपाल-चीनको प्रमुख व्यापारिक मार्ग पुनः केरुङ (रसुवा) नाका हुन गयो।

केरुङबाट हिजो नेपालले समृद्धि ल्यायो। यसै बाटोबाट ल्हासा पुग्ने नेपाली व्यापारी महाजन भई प्रतिष्ठित भए। भोटमा नेपालीका लागि भोटको होइन नेपालकै कानुन लाग्यो। नेपाल र नेपाली लाई विशेष अधिकार प्राप्त भयो। भोटलाई खाद्यान्न पठाई नुन ल्याई गुण लगायो। नेपालमा मात्र होइन हिन्दुस्तानका बजारमा समेत ऊन र सुन पुर्याउने नाका यही नै भयो। केरुङमा नेपाली डिट्ठाको अड्डा नै रह्यो। यसै बाटोबाट व्यापार गर्दा अपार फाइदा पनि भयो। हिजो यसै मार्गबाट विलासिताका सामान भोट पुग्थे आज स्थिति उल्टिएको छ। भोटमा खाद्यान्न पठाउने नेपालमा अब उतैबाट खाद्यान्न आउने अवस्था सिर्जना भएको छ। व्यापारघाटा कहाली लाग्दो छ। सवारी साधनहरू, प्रशोधन सामग्री, लुगाफाटो उतैबाट आउँछन् ।अनेक जुक्ति, युक्ति र सूक्ति गरी सुन यसैबाट आउन थाल्यो। रक्तचन्दन, यार्सागुम्बा जस्ता निषेधित सामान पठाउने सरल मार्ग पनि यही भयो। नेपालको आयातको तुलनामा निर्यात न्यून हुँदा व्यापार घाटा अकासिएको छ। हिजो यो नाका कस्तो थियो र आज किन यस्तो भयो? यस प्रश्नको जवाफ खोज्ने बेला आएको छ। हिजोका शासक र समयलाई अवमूल्यन गराई आफूलाई अब्बल देखाउने शासकीय प्रवृत्तिको सदैव पुनरावृत्ति हुँदै जाने हो भने हाम्रो गौरव इतिहासमा मात्र सीमित रहन जाने हो कि? सबैले हेक्का राख्नुपर्ने समय आएको छ। सबैलाई चेतना भया!