क्रान्ति केवल बिचारले जन्माउँछ त्यसको गर्भ संगठनले धानिरहेको हुन्छ। इतिहासले प्रमाणित गरेको छ जहाँ बिचारमा आधारित संगठन बलियो हुन्छ त्यहाँ परिवर्तनको बीउ अटल उब्जिन्छ। यही सत्यलाई सर्वाधिक गहिराइमा बुझ्ने नेता थिए भ्लादिमिर इलिच लेनिन जसले संगठनलाई क्रान्तिको आत्मा र अनुशासनलाई त्यस आत्माको श्वास ठाने।
लेनिनका लागि संगठन कुनै साधारण संरचना थिएन त्यो प्रोलिटेरियतको सचेत शक्ति थियो जसले विचारलाई कार्यमा रूपान्तरण गर्छ सपना र बलिदानबीच पुलको काम गर्छ। उनले भनेका थिए क्रान्तिको विजय त्यो वर्गले पाउँछ जसले आफूलाई सबैभन्दा संगठित, सबैभन्दा अनुशासित र सबैभन्दा सिद्धान्तनिष्ठ बनाउँछ।
१. संगठन: संघर्षको औजार होइन, जीवनको ढाँचा
लेनिनले कम्युनिस्ट पार्टीलाई केवल राजनीतिक संगठनको रूपमा होइन, क्रान्तिकारी चेतनाको विद्यालयका रूपमा व्याख्या गरे। उनका दृष्टिमा संगठन एउटा यस्तो ऐतिहासिक संरचना हो जसले मजदुर वर्गलाई तिनीहरूको वर्गीय हितमा जागरूक बनाउँछ। उनी भन्थे बिचार र संगठनबिनाको आन्दोलन दिशाहीन उर्जा हो। संगठनले तिनै उर्जालाई मार्ग दिन्छ, एउटै धुनमा एकतालाई बाँध्छ र व्यक्तिगत भ्रमलाई सामूहिक चेतनामा रूपान्तरण गर्छ। त्यसैले लेनिनले पार्टी सदस्यलाई प्रोफेशनल रिभोल्युसनरी भने क्रान्तिलाई आफ्नो पेशा, जीवन र नैतिकता बनाउने योद्धा।
२. अनुशासन: संगठनको आत्मा
अनुशासनबिनाको संगठन शरीरबिनाको आत्मा हो। लेनिनको यो भनाइ केवल प्रशासनिक सन्देश होइन नैतिक दर्शन हो। उनका अनुसार अनुशासन अन्ध पालन होइन सचेत जिम्मेवारी हो। त्यो भावना हो जहाँ प्रत्येक सदस्यले पार्टीका निर्णयलाई आफ्नो नैतिक वचन ठान्छ र प्रत्येक गल्ती सामूहिक रूपमा सुधार्ने संस्कार विकास गर्छ।
उनले लेखेका छन् क्रान्तिकारी अनुशासन स्वतन्त्रताको नाश होइन त्यो स्वतन्त्रताको रक्षा हो। यसमा गहिरो अर्थ छ। सामाजिक स्वतन्त्रता तब मात्रै सम्भव हुन्छ, जब जनशक्ति अनुशासनमा बाँधिन्छ जब प्रत्येक व्यक्ति आफ्नो म लाई हामी मा रूपान्तरण गर्न तयार हुन्छ।
३. विचार र व्यवहारबीचको सेतु
लेनिनले संगठन र अनुशासनलाई केवल नीतिगत कुरा होइन व्यवहारिक हतियारको रूपमा प्रयोग गरे। उनले मार्क्सको सिद्धान्तलाई रूसी भूमि र समयअनुसार पुनर्व्याख्या गरे। उहाले भन्नुभयो सिद्धान्त जब जनतासँग जोडिन्छ त्यही क्रान्तिको रूप लिन्छ।
त्यो जोड्ने माध्यम थियो संगठन। त्यो संगठनलाई स्थिर राख्ने आत्मा थियो अनुशासन। त्यसैले उनले पार्टीभित्रको अराजकता ढुलमुलेपन स्वार्थ र गुटबन्दीलाई सबैभन्दा ठूलो खतरा माने। उनले पार्टीलाई लोहारको घनजस्तो कठोर र कविताको हृदयजस्तो संवेदनशील बनाउने आह्वान गरे।
४. समाजवादी क्रान्ति र संगठनको भूमिका
समाजवाद केवल आर्थिक प्रणाली होइन त्यो चेतनाको रूपान्तरण हो।
यसको सफलताको आधार दुई कुरा हुन्
(१) वैज्ञानिक विचारमा अडिएको संगठन,
(२) वर्गीय अनुशासनमा बाँधिएको नेतृत्व।
रूसको अक्टोबर क्रान्ति यसको ज्वलन्त उदाहरण हो। जब सारा विश्व असम्भव भन्थ्यो, लेनिनको संगठित नेतृत्वले इतिहासलाई नयाँ दिशामा मोड्यो। हजारौं मजदुर र किसानले एकै आवाजमा घोषणा गरे सारा सत्ता सोभियतलाई! यो केवल नारा थिएन त्यो संगठन र अनुशासनको संयुक्त स्वर थियो।
५. नेपाली सन्दर्भमा लेनिनको शिक्षाको प्रासङ्गिकता
नेपालजस्ता देशमा जहाँ क्रान्तिको यात्रा अझै अधूरो छ लेनिनका विचारहरू अझै पनि ज्योतिका रूपमा चम्किरहेका छन्। आजको समस्याहरू नेताहरूको व्यक्तिगत स्वार्थ आन्दोलनको असंगठित स्वरूप, विचार र व्यवहारबीचको दूरी यी सबै रोगहरूको औषधि हो लेनिनको संगठन अनुशासन दर्शन।
यदि पार्टीभित्र विचारमा एकता अनुशासनमा स्थिरता र जनतासँग सजीव सम्बन्ध कायम गर्न सकियो भने समाजवाद केवल आदर्श होइन यथार्थ बन्न सक्छ। लेनिनको जीवन यही प्रमाण हो कि संगठन नै क्रान्तिको हृदय हो अनुशासन त्यसको नाडी।
६. अन्तिम विचार: लेनिनको सन्देश आजका क्रान्तिकारीहरूका लागि
लेनिनले कहिल्यै आरामको बाटो रोजेनन्। उनका लागि संगठन धर्म जस्तै पवित्र थियो। उनले भनेका थिए । एक इन्च पनि पछि हट्ने होइन, जबसम्म वर्गीय अन्यायको अन्त्य हुँदैन । आजका क्रान्तिकारीहरूका लागि त्यो सन्देश अझै ताजा छ। संगठन कमजोर हुँदा क्रान्ति बिखरिन्छ, अनुशासन ढल्दा विचार मर्छ। त्यसैले हरेक सचेत कार्यकर्ता लेखक, कलाकार र मजदुरले आफ्नो जीवनमा संगठनको अनुशासनलाई धर्मजस्तो ग्रहण गर्नुपर्छ। क्रान्तिको बाटो लामो छ तर दिशा स्पष्ट छ।
वर्गहीन समाजको निर्माण, समानताको भविष्य र न्यायको शासन। त्यो भविष्य केवल सहि विचारल र संगठानिक अनुशासनको संगमले आउँछ। संगठन क्रान्तिको मेरुदण्ड हो । अनुशासन त्यसको श्वास।





















