आगामी फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त बनाउन सरकारले सुरक्षा व्यवस्था थप सुदृढ बनाउने लक्ष्य राखेको छ । आज गृहमन्त्री ओमप्रकाश अर्याल निर्वाचन आयोग पुगेर तयारीको समीक्षा गर्दै शान्तिसुरक्षा भंग गर्ने जो कोहीलाई पनि कडा कारबाही गरिने स्पष्ट गरेका छन् । आयोगमा भएको छलफलमा गृहमन्त्री अर्यालले मतदाता, राजनीतिक दल, उम्मेदवार, कर्मचारी र सुरक्षाकर्मी सबैको लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएका छन् । उनले चुनावी कार्यतालिकासँग मिलेर विशेष सुरक्षा योजना बनाइएको समेत बताएका छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगको तर्फबाट सबै व्यवस्थापकीय तयारी पूरा भएको जानकारी दिएका छन् । उनले संविधान, कानुन र आचारसंहिता विपरीत हुने कुनै पनि गतिविधिप्रति आयोग कठोर हुने र दण्डहीनता स्वीकार्य नहुने स्पष्ट पारेका छन् । छलफलमा निर्वाचन आयोगका आयुक्तहरू, गृह मन्त्रालयका सचिव तथा उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफल मुख्य रूपमा निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन केन्द्रित रहेको थियो ।




















