skip this काठमाण्डौं महानगरपालिका ११

ओली-लेखकको मुद्दा पहिलो प्राथमिकतामै, आजै सुनुवाइ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेका बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइका लागि अदालतले पेसी तोकेको छ ।
ओलीको निवेदन न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ भने लेखकको निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

दुवै मुद्दा इजलासको पहिलो प्राथमिकतामै राखिएका छन्, जसले आजै प्रारम्भिक सुनुवाइ हुने संकेत गर्छ । शनिबार पक्राउ परेका ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी हुन् ।

त्यस्तै, लेखकका तर्फबाट उनकी पत्नी यशोदा लेखकले पनि निवेदन दायर गरेकी थिइन् । ओलीलाई शनिबार भक्तपुरको गुन्डु क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो । पक्राउपछि स्वास्थ्य समस्या देखिएपछि उनलाई तत्काल त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनी हाल चिकित्सकको निगरानीमा उपचाररत छन् । भदौ २३ को घटनासँग सम्बन्धित दमनको आरोपमा ‘जेन-जी आन्दोलन जाँचबुझ आयोग’को सिफारिसपछि ओली र लेखक दुवैलाई पक्राउ गरिएको हो । यसअघि आइतबार काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि उनीहरूलाई पाँच दिनसम्म हिरासतमा राख्न अनुमति दिएको थियो ।