लामो समय शिक्षण क्षेत्रमा सक्रिय व्यक्ति स्वेच्छिक अवकाश लिएपछि राजनीतिमा सक्रिय हुनुभयो। योजनाबद्ध रूपमै राजनीतिमा सक्रिय हुने सोचेर राजीनामा दिनुभएको थियो ?
हो, मैले वि.सं. २०४५ सालदेखि २०८० सालसम्म ३५ वर्षभन्दा बढी समय पढाएँ । अन्तिममा मावि द्वितीय श्रेणीबाट रिटायर्ड भएँ, यद्यपि तीन–चार वर्ष सेवा अवधि बाँकी नै थियो । जागिर छोडेपछि काठमाडौंमा प्राइभेट कलेजहरूमा पढाउँदै थिएँ। त्यही क्रममा म शिक्षक सङ्गठनको हिसाबले बाबुराम भट्टराईको ‘नयाँ शक्ति पार्टी’ सँग नजिक भएँ। उहाँका मिटिङ र बैठकहरूमा जाँदाजाँदै प्रशिक्षित हुँदै गएँ । उहाँकै प्रेरणाबाट २०८२ को चुनावमा उम्मेदवार बनेँ । जहाँसम्म पूर्व योजनाको कुरा छ, जागिर छाड्ने बेलाभन्दा पनि छाडेपछि राजनीतिमा नलागीकन समाजसेवा गर्न सकिन्न भन्ने विचार आयो, किनभने राजनीति नै एउटा मूल नीति हो। ३५ वर्षमा २०–३० हजार विद्यार्थीहरूलाई त पढाएँ होला, तर त्यो एउटा सीमित क्षेत्र थियो। शिक्षा, स्वास्थ्य, सुरक्षा, खानेपानी, आवासजस्ता हरेक क्षेत्रमा काम गर्नका लागि नीति निर्माण तहमै हस्तक्षेप गर्नु पर्ने देखेपछि प्रलोपाबाट उम्मेदवारी दिने निर्णय गरेको थिएँ ।
उम्मेदवारी त दिनुभयो, तर बीचमै फिर्ता लिनुभयो ? तपाईँजस्तो बौद्धिक व्यक्तिले उम्मेदवारी दर्ता गरी बीचमै किन फिर्ता गर्नु भयो ?
उम्मेदवारी दिनु पनि आफैँमा ठूलो कुरा हो। उम्मेदवारी दिएपछि बीचमा १५–२० दिनको म्याद थियो। त्यो अवधिमा मैले साथीभाइहरूसँग अन्तरक्रिया गरेँ र आफ्नो क्षेत्रमा गएर बुझेँ। धेरैको सल्लाह वैकल्पिक राजनीतिकै लागि नयाँ युवाहरूको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी आयो भन्ने थियो । मेरै कारण वैकल्पिक पार्टीले हार्ने र पुराना पार्टीहरूले जित्ने अवस्था नहोस् भनी वैकल्पिक पार्टी रास्वपालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको हुँ।
प्रलोपाका जिल्ला नेताले त पैसा लिएर वा रास्वपासँग बार्गेनिङ गरेर कुनै पद पाउने आश्वासनपछि उम्मेदवारी फिर्ता लिएको आरोप पनि लगाए नि ?
त्यस्तो केही होइन। फेसबुकमा हाल्ने र हल्ला गर्नेहरूले जे पनि भन्छन्। म जत्तिको मान्छे अन्तिमसम्म चुनावी मैदानमा बसिदिएको भए हुन्थ्यो, चुनाव हारे पनि पार्टी जोगिन्थ्यो भन्ने खाले कुराहरू आउनु स्वाभाविक हो। तर तपाईँलाई त प्रलोपाले कारबाही गर्यो ?
कारबाहीको कुरा मनगढन्ते कुरा मात्र हो। पार्टीले त्यस्तो कुनै निर्णय गरेर कारबाही गरेको छैन। मैले त रास्वपालाई समर्थन गरेर रवि लामिछाने, कवीन्द्र बुर्लाकोटी र स्वर्णिम वाग्लेसँग भेटघाट तथा कुराकानी गरी उहाँहरूकै सल्लाहअनुसार समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएको हुँ ।
यसको मतलब प्रलोपालाई भर्याङ बनाई रास्वपामा हैसियत बनाउन खोज्नुभएको हो ?
मैले पहिले नै रास्वपाको सदस्यता लिएको रहेछु। वास्तवमा नयाँ शक्तिमा हुँदा रास्वपामा अनलाइन फर्म भरेको थिएँ। त्यो धेरै वर्षअघि भएकाले मलाई त्यो स्वीकृत भएको पनि थाहा थिएन । रुपन्देहीमा दुई नम्बरमै मेरो सदस्यता रहेछ । चुनावका बेला उहाँहरूले नै “तपाईँ त हाम्रो सदस्य” भनेपछि स्वीकृत भएको थाहा पाएँ ।
पहिलेनै अनलाइनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएपछि किन छोड्नुभयो?
हो, मैले अनलाइनबाट रास्वपाको सदस्यता भरेको थिएँ। तर, म बाबुराम दाइको विचार, प्रेरणा र मायाबाट प्रभावित भएँ । वैकल्पिक राजनीतिमा नै केही गर्नुपर्छ, पुराना पार्टीहरूले विकास र पूर्वाधारका क्षेत्रमा राम्रो गर्न सकेनन् । देशबाट युवाहरू पलायन भए । युवालाई नेपालमै कसरी राख्ने, जनशक्ति, भूमि, श्रम, पूँजी र संगठनलाई कसरी उत्पादनमुखी काममा लगाउने भन्ने सोचिरहेको थिएँ । यही क्रममा नयाँ शक्तिमा जोडिएँ । पछि नयाँ युवाहरूको लहर आयो । यही हिसाबले पुरानाको खिलापमा नयाँलाई समर्थन गरेको हुँ ।
त्यसो भए कुनै व्यक्तिगत लोभ वा आकांक्षाभन्दा पनि वैकल्पिक शक्तिलाई जिताउनुपर्छ भनेर लाग्नुभएको हो?
एकदम, वैकल्पिक शक्तिलाई जिताउनै पर्छ भनेर लागेको हुँ । म रिटायर्ड मान्छे हुँ, ४०–४२ हजार पेन्सन खान्छु । मलाई कुनै लोभलालच वा स्वार्थ छैन । स्वार्थ हुन्थ्यो भने त पुराना पार्टीहरूले मलाई बोलाइरहेका थिए, कतै बार्गेनिङ गरेर पुरानासँगै जान्थेँ होला । हामीले नै समर्थन गरेर रास्वपा र युवाहरू अगाडि बढेका हुन् । हाम्रै विद्यार्थीहरू माथि जाँदा हामीलाई खुसी नै लाग्छ ।
सुनिल जी त तपाईँकै विद्यार्थी हुनुहुन्छ नि, होइन?
हो, हाम्रै विद्यार्थी र हाम्रै छिमेकी । मैले लेखजंगलाई र सुनिल जीलाई सपोर्ट गरेँ । रुपन्देहीका पाँचवटै क्षेत्रमा धेरै सांसदहरूले जितेका छन् । हामीजस्ता बौद्धिक मान्छेहरूले सपोर्ट गरेको कारणले नै लहर पनि आयो ।
अहिले सिङ्गो देशले नै रास्वपालाई करिब दुई तिहाइ निकट मत दिएर विजयी गराएको छ। यो विजयलाई तपाईँ कसरी लिनुहुन्छ?
यो जनताको आशाको जित हो । जनता सधैँ परिवर्तन चाहन्छन् । जनतालाई नयाँ चाहिन्छ । हामी उमेरले पुराना भए पनि हाम्रो सोच नयाँ हुनुपर्छ । पुराना पार्टीहरूले नयाँ युवाहरूलाई चान्स नदिएकाले फेल भए । नयाँ युवाहरूको सोच नै नयाँ हुन्छ, हामीले भन्दा धेरै कुरा जानेका हुन्छन् । यो आईटी र एआईको जमाना हो । एआईलाई कसरी प्रयोग गर्ने भन्ने कुरा युवाहरूलाई थाहा हुन्छ ।
हामीले ब्ल्याकबोर्डमा पढेको हो । अहिले स्मार्ट जमाना आइसकेकाले हामी उनीहरूको पछाडि हिँड्नुपर्छ । उनीहरूले हाम्रो अनुभवबाट राम्रा कुरा लिउन् र नयाँ कुराहरू आफैँले ग्रहण गरून् । एउटा भनाइ छ नि— “थिङ्किङ ग्लोबलाइजेसन, एक्टिङ लोकलाइजेसन ।” पुराना दलहरूले त यो नयाँ शक्तिको उदयलाई विदेशी चलखेल, अल्गोरिदम, सेना वा अमेरिकाले जिताएको भनेर आरोप लगाउँछन् नि?
यो त एजेन्डा नपाएपछि भन्ने कुरा मात्र हो। भन्ने कुरा र यथार्थ फरक हुन्छ। आफू हारेपछि वा तल परेपछि ’क्वाइँ–क्वाइँ’ गरेको जस्तै हो यो।
नयाँ सरकार आएपछि, सुरुवाती दिनहरूमा बालेन नेतृत्वको सरकारले गरिरहेका कामहरूलाई तपाईँ कसरी हेरिरहनुभएको छ?
बालेन स्ट्रक्चरल इन्जिनियर भएकोले काठमाडौँको मेयर हुँदा उहाँले धेरै राम्रो काम गर्नुभयो। काठमाडौँ भनेको राजधानी हो, सचेत मान्छेहरू बस्ने ठाउँ। शिक्षा क्षेत्रमा आर्थिक रूपमा कमजोर भएका विद्यार्थीहरूलाई छात्रवृत्ति, स्वास्थ्य, सुरक्षा, खानेपानी, सरसफाइको क्षेत्रमा राम्रो काम गरेपछि बालेन चर्चामा आउनुभयो। ’फस्र्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’ भन्छन्, उहाँ मेयर हुँदा नै सुरुमा राम्रो इम्प्रेसन पर्यो। अहिले प्रधानमन्त्री भएर पनि त्यसैलाई निरन्तरता दिइरहनुभएको छ। यसलाई अझै सिस्टमेटिक बनाएर काम गर्नुपर्छ।
अलि हतारिनुभयो। सुकुम्वासीलाई वैकल्पिक व्यवस्था नगरी घरमा एकैचोटि डोजरहरू चले। एकैचोटि न्यायालयमा क्रमभङ्गता गर्दै चौथो नम्बरकोलाई नियुक्त गर्नुभयो। सरकारी निकायहरूका नियुक्तिहरू खारेज गर्नेदेखि, ठूला व्यापारीहरूलाई पक्राउ गर्ने खालका काम अलिकति हतारिएर गर्नुभयो भन्छन् नि, तपाईंलाई के लाग्छ?
अब हतारमा होइन, ’फस्र्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’। तर राम्रो कामको सुरुवात चाहिँ चाँडै नै गरिहाल्नुपर्छ। हुन त पाँच वर्ष, १० वर्ष, १५ वर्ष अझै रास्वपाले लेला, राम्रो गर्ला। राम्रो गर्नका लागि नै सय वाचा गरेर जनताको माया र मत पाएर बालेन, रविहरू आउनुभएको छ। यस्तो अवस्थामा त्यत्तिकै बसेर बोल्दै, भाषण मात्रै गरेर भएन। “संसद्मा गएर बोलेन, जवाफ दिएन” भन्छन्, कामले जवाफ दिने हो नि। कामले नै जवाफ दिँदै हुनुहुन्छ।
ठूला व्यापारीहरू, सेयरमा बदमासी गर्नेहरू, यिनीहरूलाई समात्नु धेरै राम्रो हो। समात्दैमा सबै कुरा सकिएको होइन, छानबिनको प्रक्रियामा छन्। न्यायालयमा पर्फर्मेन्स हेर्नुपर्यो। छ जनालाई न्याय परिषद्ले सिफारिस गरेपछि, छ जनामध्ये एउटा बनाऊ भनेको हो नि त। सिस्टमले बनाएको हो।
सुकुम्वासीकै सन्दर्भमा चाहिँ मेरो सुझाव के छ भने गरिबी हटाउने हो, गरिब हटाउने होइन। पोभर्टी हटाउने हो। छेउकुनामा आएर रोजगारीका लागि यहाँ बसेका मानिसहरू छन्, झुप्रा हालेर बसेका छन्, सडकको किनारमा, खोलाका किनारहरूमा बसेका छन्। उनीहरूको पहिचान गरेर व्यवस्था पनि गर्नुपर्छ। सुकुम्वासीको नाममा हुकुम्वासीहरूले घर बनाएर सुकुम्वासीलाई बेचिरहेका छन्। बिचरा सुकुम्वासीले दिनहुँ कमाएर किस्ता–किस्ता गरेर पैसा तिरेर बसेको अवस्था पनि छ। यसमा ख्याल गर्नुपर्छ।
सरकारले अहिले होल्डिङ सेन्टरमा राखेको छ। खाना, सुत्ने सुविधा, स्वास्थ्य सुविधालगायत सबै सुविधा दिएको छ। विद्यार्थीहरूलाई पढ्न पनि सुविधा छ। तैपनि यसमा अझै पहिचान गरेर गर्नुपर्ने अवस्था छ। तपाईंको पाठलाई शब्द र वाक्य नबिगारी, अर्थ यथावत राख्दै शुद्ध र परिष्कृत रूपमा यसरी सम्पादन गरिएको छ:
शिक्षामा धेरै विदेशी सहयोग छ। उनीहरूले जस्तो भन्छन्, त्यस्तै खालको पाठ्यक्रम बनाउने र त्यही खालको जनशक्ति उत्पादन गर्ने बाध्यता पो हो कि?
तपाईंले भन्नुभएको कुरामा केही सत्यता छ। हाम्रो देशमा उत्पादनमुखी शिक्षा दिनका लागि यहाँको माटो सुहाउँदो खालको पाठ्यक्रम निर्माण गर्नुपर्छ। अहिले यो हुन सकेको छैन।
पर्यटनसम्बन्धी शिक्षा, खनिजहरू कहाँ के खानी छ भनेर जानकारी दिने शिक्षा दिनु पर्दछ। वन, जडीबुटी चिन्ने जनशक्ति उत्पादन गर्नु पर्दछ। यसो भए रोजगारी र शिक्षा दुवै प्राप्त हुन्छन्। हामीले त खाली बुर्जुवा शिक्षा मात्रै दिइराखेका छौँ, खाली ज्ञान मात्रै दिएका छौँ, त्यो सीपमूलक हुनु पर्दछ।
अहिलेको सरकारले जनताले अपेक्षा गरेअनुसार काम गर्ला त?
लक्षण देखिन्छ। आशा गर्नुपर्छ। भर्खरै सरकार गठन भएको ५० दिन जति भयो, सुरुवात राम्रो देखिएको छ। हामीले हरेक कुरामा शङ्का मात्र गर्नुहुँदैन, सकारात्मक भएर आशावादी हुनुपर्छ।
प्रधानमन्त्री त बोल्नै छोड्नुभयो नि?
नबोलीकन काम गरेको झन् राम्रो हो। पहिले धेरै बोलेर नै कुराहरू बिग्रेका थिए। आवश्यक परेको ठाउँमा प्रधानमन्त्री पनि बोल्नुहुन्छ।
यो सरकारले तत्काल के गरोस् भन्ने यहाँको सुझाव छ?
सरकारले योजनाबद्ध रूपमा काम गर्नुपर्छ। शिक्षालाई रोजगारमुखी बनाउनुपर्छ र स्वास्थ्य बीमालाई प्रभावकारी वा निःशुल्क बनाउनुपर्छ।
उत्पादन र गरिबी उन्मूलनका लागि विशेष कार्यक्रमहरू ल्याउनुपर्छ। युवा र पूँजी पलायन रोक्नुपर्छ, लगानीको वातावरण बनाउनुपर्छ। गैरआवासीय नेपाली तथा विदेशीहरूले नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्ने जस्ता कामहरू गर्नु पर्दछ।



















