अच्युतप्रसाद पौडेल ‘चिन्तन’
क) पाथिभराः
देशै भरि शक्ति पीठहरु छन् । पूर्वमा ताप्लेजँुग पाथिभरादेखि पश्चिममा बढिमालिकासम्म । डँडेल्धुराकी उग्रतारा, डोटीकीशैलेश्वरी दशैभरिका नाम अनेक छन् । अध्यात्मले भित्री चित् स्वरुप भनेको छ भने धर्मले वाह्य संसारको खोजीमा धेरै शक्ति पीठहरको चर्चा गरेको छ । पूर्वमा दन्तकाली धरानको चर्चा छ भने यो आलेखमा पाथिभराको चर्चा गर्ने जमर्को गरिएको छ । पाथिभरा देवी स्थान मेचीको ताप्लेजुँग पुरुवामा पर्छ । यो करिव साँढे १२ हजार फिट उचाइमा छ । अग्लो चुली पहाड हेर्दैमा पाथी भरिएको चुली जस्तो भई पाथिभरा नामकरण भएको छ । हाम्रो अन्न बािल मापनको आधार माना, मुरी, पाथी नै हो पहिले ।
यहाँबाट कुम्भकर्ण हिमाल नजिकै पर्छ, सेतो सुनले चिनिएको छ । यहाँ अद्भूत जडिबुटीहरु पाइन्छन्ः कडचुर, पाखनवेद, चिराइतो, यार्सागुम्बा, कुड्की आदि । वनस्पति र जडिबुटीसंग नजिकिनु भनेको आध्यात्मिक जीवन सरस बनाइनु हो । यहाँ धेरै वनस्पतिहरु छन्ः लोठसल्ला, धूपी, गोब्रे सल्ला, धेरै प्रजातिका गुराँसहरु पनि । नौरंगी डाँफे, मुनाल कैयन पन्छीहरु, कस्तुरी मृग, हिम चितुवा जनावरहरु पनि धेरै पाइन्छन् । आयुर्वेदको खानि नै हो हाम्रो देश र हाम्रो जीवन ।
देवीको उदयबारे केही किब्बदन्ती छन् । स्थानीयहरु भेडा चराउने गर्थे, गोठालाहरुका भेडा हराएछन् । पक्कै कुनै अलौकिक शक्ति होला भनी खोजी गरेछन् । यहाँ रहेर देवीको प्रार्थना गर्दै हाम्रा भेडाहरु पाइयून्, देवीलाई चढाउँछौ भनी भाकल गरेछन्, संयोग भेडाहरु भेटिएछन्, पहिलो बलि भेडाकै दिइएछ, देवीलाई । अब स्थानीय मानिसमा विश्वास बढ्दै गएछ र अग्लो डाँडो, भरेको पाथी जस्तै देखिँँदा देवीको नाम पाथिभरा राखिदिएछन् । टाढाबाट आएर भक्तहरुले अहिले पनि देवीको दर्शन, बलि दिने गरेका छन्, धेरैजसो बलि भेडाकै दिने गरिएको छ । भगवतीको धातुको मूर्ति सजाइएको छ, ढुँगाको चौतारो उठाइएको छ, गणेशको मूर्ति पनि छ, वरिपरि त्रिशूल, घण्टाहरु छन्, उकालो अलि दुरुह छ, पानीको सकस थियो पहिले । यहाँको दर्शन गरे भाकल पूरा हुने, मानिस निरोगी रहने, संकट पनि समाधान हुने विश्वास रहेको छ, मनले चिताउको कुरो पुगि छोड्ने विश्वास छ । बासको असुविधा, खानाको समस्या र दूर्गम नै भन्नुपर्छ पाथिभराक्षेत्र ।
केही समय यतादेखि पाथिभरा देवीको अर्को विशाल मूर्ति ललितपुर सुगमक्षेत्र नल्लु भारदेउमा स्थापित गरिएको छ । दूर्गम मुक्तिनाथको सुगम बास पूजा, दूर्गम गोसाँइकुण्डको सुगम आह्वान सहितको पूजा, स्नान, कुम्भेश्वर ललितपुर लगायतको चर्चा छ सबैतिर । छिन्नमस्ता देवी सप्तरी साखडा छिन्, विशाल मन्दिर छ, चाँगुको गरुडनारायण मन्दिर परिसरमा सानो मन्दिर छ तिनैको । भक्तले, साधकले साधनाबाट जहाँ बोलायो भगवान त्यहीँ आइपुग्ने शास्त्रको मत पनि छ । ललितपुर टिकाभैरव हुँदै लेलेक्षेत्र भारदेउ नल्लु जाने यातायातको सुविधा छ । केही पर माथि दायाँतिर उकाली चढ्दै गएपछि नव निर्मित पाथिभराको मूर्ति देखिन्छ, चौतारोमा खासै मन्दिर बनेको छैन तर चुचुरो परेको डाँडो जहाँबाट सबैतिर हेर्न सकिन्छ, त्यहाँ देवीलाई सजाइइको छ । नजिक भीरमा खेतीपाती गरिएको छ । वनस्पति बोट बिरुवा प्रकृति हरियाली सुन्दर छ, ऐँसेलु, चुत्रो, काफल विशेस पाइन्छ त्यहाँ । वन बुटेन सहरको निरस वातावरणबाट छुट्टी लिएर जानेहरुको भीडै देखिन्छ । अलिक तल नजिकै माता मनकामनाको विशेष मन्दिर पनि छ । मनकामना गोरखा पुग्न नसक्ने र ताप्लेजुँगको पाथिभरा पुग्न दुरुह हुनेहरुका लागि त अझ सुन्दर नै भइहाल्छ यो क्षेत्र । दुबैक्षेत्रमा प्रबन्ध समिति रहेको छ, गाडी पार्किँग भने महँगो रहेको आम जन गुनासो छ ।
ख) माई पोखरी
माई पोखरी इलामको बरबोटै नजिकै पर्छ, उकालोमा । इलाम बजारबाट करिव १४ कि मि यात्रा पूरा गरेपछि समुद्र सतहदेखि २ हजार ४३८ मिटर उचाइमा रहेको माईपोखरीमा पुग्न सकिन्छ । पोखरी प्राकृत हो, १ कि मि सरोफेरोमा रहेको र ९ कुना परेको छ, ९ कोणमा रहेको देवकिो वास रहेको अनुमान लाग्छ । पोखरी परिसरमा शिवालय पनि भएकाले शिव र शक्ति संयुक्त रहेको विश्वास गर्न सहज हुन्छ । पोखरीको उत्त्र दक्षिण लम्बाइ २ सय मिटर र पूर्व पश्चिमको लम्बाइ ५० मिटर जतिको छ, गहिराइ एकीन छैन, हरिशयनी एकादशीमा विशेष मेला लाग्छ । माई पोखरीमा स्नान दान गर्ने चलन छ, बलि दिइँदैन । पूर्व पश्चिम राजमार्ग झापाको चारआलि हुँदै इलाम बजार नपुग्दै पशुपतिनगरबाट दार्जिलिँगतिरको बाटो नलागी इलाम बजारतिर लाग्नुपर्छ । मेची राजमार्ग बिब्ल्याँटे पुवाखोला खण्डको बरबोटेबाट जाँदा बरबोटेबाट केही घण्टा पैदल बा सवारीमा पुग्न सकिन्छ ।
देवीले पहिले बरबोटेमा रहेको क्रममा अवतार फेरिएर यहाँको स्थानमा सरेको भनाइ छ । फेरि सर्न सक्ने हो कि ? सम्पदा संरक्षणका लागि विभिन्न प्रयास भने गरिएको देखिन्छ । त्यहाँको स्नान, दर्शन गर्नाले मनोकामना पूरा हुने आम विश्वास छ । देवीका अनेकन नामहरु छन्ः पोखरामा विन्ध्यवासिनी, ताल बाराही, भद्रकाली, बाग्लुँगमा बाग्लुँग कालिका, गोरखामा मनकमना, गोरखकाली, नवलपरासीमा मौलाकाली, दाउन्ने देवी, साँखुमा बज्रयोगिनी, फर्र्पिँगमा दक्षिणकाली, काठमाडौँमा भद्रकाली, गुह्येश्वरी, वत्सला देवी, चामुण्डा देवी, भूवनेश्वरी, वनकाली, जय वागेश्वरुी, नरदेवी, कालिकास्थान, मैतिदेवी, नक्साल भगवती, शोभा भगवती, काभ्रेमा पलान्चोकी, सिन्धुपाल्चोकमा पाल्चोकी, ललितपुरमा बज्रबाराही, बगलामुखी, ढँडेल्धुरामा उग्रतारा, डोटीमा शैलेश्वरी, बजुरामा बढिमालिका, दैलेखमा त्रिपुरासुन्दरी, बाँकेमा बागेश्वरी, सुर्र्खेतमा देउती बज्यै, अर्घाखाँचीमिा शूर्पणहस्ता, रामेछापमा खुँडा देवी, काभ्रेमै चण्डेश्वरी, नुवाकोटमा जाल्पा देवी, बारामा गढीमाई, दैलेखमा ज्वालादेवी, धरानमा दन्तकाली, संखुवासभामा सिद्ध काली, तेहूथुममा सिँह वाहिनी, दोलखामा कालिन्चोक, कैयन पीठहरु छन् देशमा । सबैको नामै लिन पनि असम्भवजस्तो हुन्छ ।
धर्म र अध्यात्मको पाटोले मात्रै हेर्दा पनि हाम्रो देश स्वर्गभन्दा कम छैन र त देवताहरु यहाँ बस्न रुचाउँछन्, देवघट्ट भन्दै देवताहरु स्नान गर्न आउने स्थान देवघाट नारायणी भएको छ, जहाँ शिवगंगा र विष्णुगंगाको संयोग रहन्छ, त्रिशूली र कालि गण्डकीको । तपस्वी, साधक, भक्त, अभियन्ताहरुले देशलाई माथि उठाउने हो, पुनरुत्थान गर्ने हो, समृद्धिमा ल्याउने हो, उपकार गर्ने हो, किनकि मानिस अल्पायुमा बाँचेको छ, समय पनि कम, श्रम पनि कम र धन पनि कम छ ।


















