skip this वडा नं १६ बालाजु च:मती

प्रादेशिक औद्योगिक एवं पर्यटन महोत्सव’ सुरु

खजुरा ९बाँके०, १० माघ स् ‘प्रथम बैजनाथ तथा छैठौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०८०’ आजदेखि सुरु भएको छ । बैजनाथ गाउँपालिका–५ स्थित ‘कोहलपुर न्यू सिटी’ भित्र उक्त महोत्सव सञ्चालन गरिएको छ । महोत्सव यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बैजनाथ समिति बाँकेले पहिलो पटक महोत्सव सञ्चालन गर्न लागेको हो । महासङ्घका वरिष्ठ उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक सुमन विश्वकर्माका अनुसार महोत्सवमा एक सय ५० देखि दुई सयसम्म ‘नविनतम प्रविधिजन्य उत्पादन, महिलाद्वारा सञ्चालित उद्यम तथा स्थानीयस्तरमा उत्पादित वस्तु’ प्रमुख आकर्षणका रुपमा रहनेछन् । स्थानीय स्रोतको सदुपयोग गरी लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको दिगो बजार पहुँच स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । देशभित्रका सबै प्रकारका उत्पादनमूलक उद्योगका अलावा कृषि, वन पैदवार, हस्तकला, ऊर्जा, बायोग्यासलगायत पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टल रहने आयोजकले जनाएको छ । बैजनाथ गाउँपालिकामा आन्तरिक पर्यटक भित्राउन, यहाँको मौलिक कला, संस्कृति सभ्यता तथा मनमोहक प्राकृतिक सभ्यतालाई राष्ट्रियस्तरमा चिनाउनुका साथै पर्यटन प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्र विकासमा महोत्सवले टेवा पुर्‍याउने विश्वकर्माको भनाइ थियो । महोत्सवबाट करिब रू एक करोडको हाराहारीमा आम्दानी हुने आयोजकको अनुमान रहेको छ । “महोत्सवमा स्थानीय एवं राष्ट्रियस्तरको सांस्कृतिक कार्यक्रम हरेक दिन हुनेछन् । मेला अवधिभर संस्थाले एक लाख ५० हजारदेखि दुई लाखसम्म दर्शक भित्र्याउने लक्ष्य लिएको छ”, संयोजक विश्वकर्माले भन्नुभयो, “लघु घरेलु तथा साना उद्योगले स्थानीय तथा बाह्यस्तरमा उत्पादन गरेका स्वदेशी सामग्रीको बजार प्रवद्र्धन, आन्तरिक व्यापार तथा पर्यटन प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएका छौँ ।” महोत्सवबाट प्राप्त आम्दानीको २० प्रतिशत रचनात्मक काममा, २० प्रतिशत रकम कमजोर अवस्थामा रहेका उद्यमीका लागि र बाँकी रकम महासङ्घको कार्यालय भवन निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।
उच्चशिक्षा अध्ययन गर्न पालिकाको कर्जा
डडेल्धुराको परशुराम नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीलाई कर्जा दिने भएको छ । नगरपालिकाले एसइई वा सोभन्दा माथिको शैक्षिक तह अध्ययन गर्न चाहनेलाई बिना ब्याजमा कर्जा दिने निर्णय गरेको हो । नगरपालिकाको १४औँ नगरसभाबाट प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखी बिना ब्याजमा रू पाँच लाखसम्म कर्जा दिन निर्णय भएको नगरप्रमुख जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यसै शैक्षिक सत्रबाट लागू हुनेगरी सो कर्जा उपलब्ध गराउने कार्य अघि बढाइएको छ । आर्थिक अभावमा उच्च शिक्षा अध्ययन गर्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई नगरपालिकाले बिनाब्याज शैक्षिक प्रमाणपत्र धितो राखेर उच्चशिक्षा अध्ययनका लागि ऋण दिने व्यवस्था गरेको प्रमुख जोशीको भनाइ थियो । यो निर्णयले भित्री मधेशका विद्यार्थी हर्षित बनेका छन् । १४औँ नगरसभाबाट शैक्षिक कर्जासम्बन्धीको ऐन पारित गरी उक्त निर्णय कार्यान्वयन गर्न लागिएको नगरप्रमुख जोशीले जानकारी दिनुभयो । उच्च शिक्षा अध्ययन गर्नका लागि प्रदान गरिने कर्जा लिनका लागि विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था नेपाल सरकारको स्वीकृति प्राप्त वा सरकारबाट मान्यता प्राप्त हुनुपर्ने प्रावधान रहेको परशुराम नगरपालिकाले जनाएको छ । लक्षित समुदायका बालबालिकासहित लोपोन्मुख परिवार, विपन्न वर्ग र महिलाको शिक्षामा पहुँच बढाउन सहुलियतता प्रदान दिनेगरी नगरपालिकाले शिक्षामा लगानी गर्न लागेको जोशीको भनाइ थियो । उक्त कर्जा लिनका लागि विद्यार्थीले वडाकार्यालयमा निवेदन पेस गरी सिफारिस लिनुपर्नेछ । उक्त ऋण एक परिवारको एकजनाले मात्रै पाउनेछन् । उक्त कर्जा रकम शैक्षिक कोर्षको अन्तिम परीक्षा दिएको एक वर्षभित्र २५ प्रतिशत र दुुई वर्षभित्र ५० प्रतिशत, तीन वर्षभित्र ७५ प्रतिशत र चार वर्षभित्र सबै फिर्ता गर्नुपर्ने प्रावधान राखिएको छ । कर्जासम्बन्धी पारित भएको ऐन राजपत्रका प्रकाशित भएपछि चालु आर्थिक वर्षदेखि लागू गरिने नगरपालिका कार्यालयले जनाएको छ ।