skip this वडा नं १६ बालाजु च:मती

निर्यातका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ, अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । निर्यात व्यवसायी महासङ्घ नेपाल फिनको स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहमा अर्थमन्त्री डा महतले नेपाली उत्पादन उच्च प्रविधियुक्तभन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिनुभयो । निर्यात क्षेत्रको भविष्य निकै राम्रो छ । निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राखेको छ, उहाँले भन्नुभयो, नियार्तका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ । उहाँले भारतसँगको व्यापार सम्झौताबाट फाइदा लिन छाडेर साफ्टाको विषय उठाउन आवश्यक नरहेको धारणा राख्नुभयो । उहाँले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । निर्यात व्यवसायीहरूको समर्पण र परिश्रमले विश्वबजारमा नेपाली उत्पादनको बजार माग बढाउन र मुलुकको निर्यात क्षमता विस्तारमा योगदान रहँदै आएको छ, उहाँले भन्नुभयो । मन्त्री महतले फिनले उठान गरेका जायज माग देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसकिएको र निकट भविष्यमा निर्यातकर्तालाई सहुलियत उपलव्ध गराइने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । वार्षिकोत्सवका अवसरमा महासङ्घले उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरेको छ भने निर्यात बुलेटिन २०८० का अतिथि सम्पादक सरोज ओझा र कथा नेपाललाई कदरपत्रबाट सम्मान गरिएको छ ।