पोखरा । शारदीय नवरात्रको अवसरमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा आयोजित घटस्थापना समारोहमा आदि शंकराचार्यद्वारा विरचित ‘प्रश्नोत्तरमणिरत्नमाला’ ग्रन्थको नेपाली तथा अंग्रेजी अनुवाद विमोचन गरिएको छ ।
स्वामी निर्भयानन्दद्वारा अनुवादित उक्त ग्रन्थको विमोचन घटस्थापना समारोहका अवसरमा गरिएको हो । संस्कृत दर्शन र आध्यात्मिक चिन्तनका दृष्टिले महत्वपूर्ण मानिने यस कृतिमा जीवन, धर्म, ज्ञान, वैराग्य र आत्मबोधसँग सम्बन्धित विषयलाई प्रश्नोत्तर शैलीमा प्रस्तुत गरिएको छ ।
समारोहमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठ लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
समारोहमा वक्ताहरूले संस्कृतमा रहेका प्राचीन दार्शनिक तथा आध्यात्मिक कृतिहरूलाई नेपाली र अंग्रेजी भाषामा अनुवाद गरी व्यापक पाठकसमक्ष पुर्याउनु महत्वपूर्ण पहल भएको बताए । यस्ता कार्यले शंकराचार्यका दार्शनिक चिन्तन तथा वैदिक दर्शनलाई नयाँ पुस्ता र अन्तर्राष्ट्रिय पाठकसमक्ष पुर्याउन महत्वपूर्ण योगदान गर्ने उनीहरूको भनाइ थियो ।
साथै, वक्ताहरूले स्वामी निर्भयानन्दले गर्दै आउनुभएका यस्ता ज्ञानवर्धक तथा सांस्कृतिक कार्यलाई निरन्तरता दिँदै आगामी दिनमा पनि प्राचीन दर्शन, संस्कृत साहित्य र आध्यात्मिक ज्ञानको संरक्षण तथा प्रचार–प्रसारमा थप महत्वपूर्ण योगदान गर्न आग्रह गरेका थिए ।




















