skip this वडा नं १६ बालाजु च:मती

खोटाङमा कृषि एम्बुलेन्स संचालनमा

खोटाङस्थित दिक्तेल–रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषिउपज नि:शुल्क ढुवानी गरेर बजारसम्म पुर्याइदिने उद्देश्यका साथ नगरपालिकाले आजदेखि औपचारिकरुपमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

पहिलो दिन वडा नं.११ खार्मीस्थित ‘सोती बहुउद्देश्यीय कृषक समूह’ले उत्पादन गरेका कृषिउपज नि:शुल्क ढुवानी गरिएको छ । शुभम् फाउण्डेशनले नि:शुल्क उपलब्ध गराएको बोलेरो पिकअप भ्यानमार्फत कृषि एम्बुलेन्स सेवा दिन सुरु गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए । कृषि एम्बुलेन्समार्फत खार्मीबाट पहिलो पटक आठ सय केजी बन्दाकोभी ढुवानी भएको छ । प्रतिकेजी ३० रुपैयाँमा बिक्री भइरहेको बन्दाकोभी दिक्तेल बजारका विभिन्न ठाउँमा सञ्चालित तरकारी बिक्री केन्द्रले खरिद गरेका छन् ।

नगरपालिकाले नि:शुल्क उपलब्ध गराएको बन्दाकोभीको बेर्नाबाट दुई हजार केजीभन्दा बढी उत्पादन भएको समूहका अध्यक्ष हर्कराज राईले जानकारी दिए । ‘हामीले परीक्षणका लागि तीन रोपनी जग्गामा बन्दाकोभीको व्यावसायिक खेती गरेका थियौँ । पहिलो पटकमा राम्रो उत्पादन भएको छ’, उनले भने, ‘यस वर्ष बन्दाकोभीसँगै फूलकोभी, अकबरे खुर्सानी, लसुन, प्याजलगायत विभिन्न प्रजातिका फलफूल तथा तरकारीखेती गर्ने तयारी गरेका छौँ । सामूहिकरुपमा सुरुआत गरिएको तरकारीखेतीलाई व्यावसायिकरुपमा वृद्धि गर्दै लैजाने योजना छ ।’ नगरपालिकाले सुरु गरेको कृषि एम्बुलेन्स लिएर नगरप्रमुख तीर्थराज भट्टराई, नगर उपप्रमुख विशन राई, कृषि शाखा प्रमुख जैसी, शुभम् फाउण्डेशनका प्रबन्ध निर्देशक सूर्यबहादुर राईलगायत खार्मी पुगेका थिए ।

आफूले उत्पादन गरेका कृषिउपज बिक्री गर्नका लागि ढुवानी गर्न नसक्दा कतिपय कृषक निरास भइरहेको अवस्थामा नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउनुलाई निक्कै महत्वका साथ हेरिएको छ । नगरपालिकाले सुरुआत गरेको कृषि एम्बुलेन्स कार्यक्रमलाई दिगो बनाउन सकेमा कृषकलाई ठूलो राहत हुने वडा नं.२ सोल्मा अगुवा कृषक गङ्गाबहादुर विश्वकर्माले बताए । ‘ढुवानी नहुँदा धेरै कृषकको कृषिउपज बारीमै कुहिएर गइरहेको छ । ढिलै भए पनि नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । यसले निरन्तरता पाउन जरुरी छ’, उनले भने, ‘यो महत्वकाङ्क्षी कार्यक्रम हो । दुई/चार महिना सञ्चालन गरेर बन्द गरेका खण्डमा कृषकको लगानी डुब्नेवाला छ ।’

कृषि एम्बुलेन्स सञ्चालनका लागि यस वर्षका लागि नगरपालिकाबाट १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगर उपप्रमुख राईले जानकारी दिए । ‘हामीले कृषिलाई पहिलो प्राथमिकता दिएका छौँ । गाउँगाउँमा कृषक समूह गठन गरिएको छ । कृषक समूह आबद्ध तथा व्यक्तिगतरुपमा कृषि पेसा अपनाएका कृषकलाई नगरकोतर्फबाट बीउ तथा बेर्ना नि:शुल्क उपलब्ध गराउँदै आएछौँ’, उनले भने, ‘कृषकले उत्पादन गरेका कृषिउपज खेर जाँदैन । उहाँहरु आफैँ बिक्री गर्नुहुन्छ, हामी ढुवानी गरिदिन्छौँ । उहाँहरुले आफूले उत्पादन गरेका कृषिउपज बिक्री गर्न नसकेको खण्डमा बजारमा चलेको बजार भाउअनुसार हामी आफैँ खरिद गर्छौं । यसले कृषकलाई हौसला मिलेको अनुभूति गरेका छौँ ।’ १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हावापानी र भूगोलअनुसार ब्लक बनाएर कृषिलाई व्यवसायीकरण गर्ने तयारी गरेको छ ।

परीक्षणका लागि बन्दाकोभी, फूलकोभी, ब्रो काउली, प्याज, धनिया, लसुन, खुर्सानी, सिमी, बोडीलगायतका तरकारीको बीउ तथा बेर्ना नि:शुल्क उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले यो आर्थिक वर्ष तीन लाख कफीको बेर्ना, ७० लाख प्याजको बेर्ना, ४० हजार किबीको बेर्ना र चार लाख रुपैयाँ बराबरको लसुनको बीउ वितरण गरिने जनाइएको छ । राससले जनाएनुसार केरा पकेट क्षेत्रअन्तर्गत छ लाख रुपैयाँको कार्यक्रम पनि यसै वर्ष लागू गरिने कृषि शाखा प्रमुख जैसीले बताएका छन् । नगरपालिकाले ‘उत्पादनमा नगर उपप्रमुख’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नगरसभाबाट पारित उत्पादनमा नगर उपप्रमुख कार्यक्रमका लागि यो वर्ष ४० लाख रुपैयाँ बजेट रहेको नगरपालिकाले जनाएको छ ।