अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र गतिशील बन्दै गएको बताउनु भएको छ । इकोनोमिक मिडिया एशोसिएसन नेपाल को प्रथम वार्षिकोत्सवका अवसरमा आज आयोजित अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रियामा उहाँले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडि बढ्दै गएको बताउनुभएको हो । विगतका दिनमा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भयो, उक्त खर्चको दायित्व तिर्दा अर्थतन्त्र केही दबाबमा परेको थियो, पुँजीगत खर्च अब बढ्छ, त्यो विस्तारै समाधान हुँदैछ, अर्थतन्त्र लयमा फर्कँदै छ उहाँले भन्नुभयो । अर्थमन्त्री डा महतले बैंक तथा वित्तीय क्षेत्रबाट लिएको ऋण तिनुपर्ने बताउनुभयो । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कुनै हालतमा पनि तिनुपर्छ, उहाँले भन्नुभयो । उहाँले निजी क्षेत्र, सञ्चारकर्मी, सरकार, नागरिक समाज, समग्र जनता मिलेर मुलुकको अर्थतन्त्रलाई सपार्ने बाटोमा लाग्नुपर्ने बताउनुभयो । सबै क्षेत्रको सामूहिक प्रयासबाट मात्र अर्थतन्त्रले गति लिने उहाँको भनाइ छ । उहाँले अर्थतन्त्रले पछिल्लो समय राम्रो गति लिएको तथ्याङ्कले देखाएको बताउनुभयो । हामीसँग पुँजी छ, तर खर्च गर्न समस्या भएको छ, आगामी दिनमा खर्च पनि बढ्छ उहाँले भन्नुभयो । नेपाल राष्ट्र बैंककका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पछिल्लो समय नेपालको अर्थतन्त्र गतिशील बन्दै गएको बताउनुभयो । उहाँले आयात विस्तारै घट्दै जानुका साथै विप्रेषणसमेत बढ्दै गएको बताउनुभयो । उहाँले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा जुन खालको कर्जा प्रवाह गर्नुपर्ने हो त्यो हुन नसकेको स्पष्ट पार्नुभयो । उहाँले कर्जालाई उत्पादन क्षेत्रमा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । अर्थतन्त्रलाई सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषणमा लाग्न सञ्चारमाध्यमलाई उहाँले आग्रह गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रका सूचकाङ्क पछिल्लो समय सकारात्मक गतिमा जाँदा पनि उक्त सकारात्मक कुरा आम जनतामा जान नसकेको बताउनुभयो । फ्रेबुअरीमा हुन लागेको लगानी सम्मेलनलाई आवश्यक पर्ने ऐन, कानुन सहजीकरणका लागि निजी क्षेत्रले सरकारलाई सुझाव दिइसकेको उहाँको भनाइ छ । अध्यक्ष ढकालले मुलुकमा लगानीको वातावरण निर्माण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रलाई अगाडि बढाउन निजी क्षेत्रको मनोबल बढाउन जरुरी रहेको बताउनुभयो । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष ओमदेवी मल्लले व्यक्तिगत पाराले सहकारी चलाउँदा सहकारी क्षेत्रमा समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसी, नेपाल उद्योग परिसङ्घ उद्योग समितिका संयोजक लक्ष्मीप्रसाद सुवेदीलगायतले मुलुकको अर्थतन्त्रको विकासको क्षेत्रमा इमानले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । इमानका अध्यक्ष रोयल आचार्यले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि इमानले भूमिका खेल्दै आएको बताउनुभयो । बैंक तथा वित्तीय संस्थाको आवाज इमानले बोल्दै आएको उहाँको भनाइ थियो ।





















