skip this वडा नं १६ बालाजु च:मती

सिद्धार्थ हस्पिटालिटी ग्रुप २६औँ वर्षमा प्रवेश, ५० प्रतिशतसम्म छुट योजना

आफ्नै लगानीका होटलको सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरि करिब तीन दर्जन आउटलेट सञ्चालन गर्दै आएको सिद्धार्थ हस्पिटालिटी ग्रुप २६औँ वर्षमा प्रवेश गरेको छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटीको यात्रामा यसवर्ष भैरहवामा पाँच तारे होटल ‘सिद्धार्थ भिलाषा’पनि सञ्चालनमा ल्याएको छ ।

२६ वर्ष अघि टिकापुरबाट सुरू भएको यस ग्रुपले दुई हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिइरहेको छ । मंगलबार काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा विभिन्न विधामा उत्कृष्ट आउटलेट र कर्मचारीहरूलाई अवार्ड समेत वितरण गरिएको हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण न्यौपानेले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले हाल देशमा देखिएको राजनैतिक र सामाजिक अस्थिरताको कारण विगतदेखि आर्थिक मन्दीको असर पर्दा पनि सिद्धार्थ ग्रुप अन्तर्गतका कम्पनीले मुनाफा आर्जन गर्नु निकै उपलब्धीमूलक रहेको बताए । सिद्धार्थ ग्रुपले ‘भिजन २०३०’को योजना अन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको छ । अगामी वर्ष कैलालीको धनगढी र तनहुँको दमौलीमा नयाँ होटल र रूपन्देहीको योगी कुटिमा ब्याङ्क्वेट सहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउने योजना रहेको जनाइएको छ ।

त्यस्तै, आगामी वर्ष भित्रै पृथ्वी राजमार्गमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्ट र कपिलवस्तुको चन्द्रौटामा रहेको सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टलाई चार तारे होटलमा स्तरोन्नति गर्ने योजना अनुरूप काम भइरहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । सिद्धार्थ हस्पिटालिटीले वार्षिकोत्सवलाई लक्षित गरी एक हप्तासम्म विभिन्न आउटलेटमा खाना तथा बसाइमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ ।