काठमाडौँ, ५ फागुन नेपालले नेदरल्याण्ड्विरुद्ध शानदार जित हासिल गरेको छ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग(२ अन्तर्गत आज यहाँ भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गर्दै दुई अङ्क जोड्यो ।जारी प्रतियोगिताको पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको नेपाल आजको खेलमा नेदरल्याण्ड्समाथि हावी भयो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले ३९ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३७ रनमा सीमित भयो । नेदरल्याण्ड्सलाई सस्तैमा समेट्ने क्रममा कुशल भुर्तेलले चार विकेट लिए भने ललित राजवंशीले दुई विकेट लिए । साथै कप्तान रोहित पौडेल र सोमपाल कामीले एकरएक विकेट लिए । नेदरल्याण्ड्सका दुई ब्याटर रनआउट भए ।
नेदरल्याण्ड्सको पारीको सुरुआत राम्रो भएन । चार रनमा पहिलो विकेट गुमाएको उसले १८ रनमा दोस्रो विकेट गुमायो । साथै ५६ रन छँदा नेदरल्याण्ड्सले तेस्रो, ६७ रनमा चौथो ९७ रनमा पाँचौँ, ९९ रनमा छैटौँ, एक सय एक रनमा सातौँ र एक सय २२ रनमा आठौँ विकेट गुमायो । त्यसैगरी एक सय २७ रनमा नवौँ र एक सय ३७ रनमा अन्तिम विकेट गुमायो । उसका लागि कप्तान स्टक एड्वार्डसले सर्वाधिक ३३ रन बनाए भने साइब्राण्ड एंगलब्रेक्टले २३ र बास डे लिडेले २७ रनको योगदान दिए ।
एक सय ३८ रनको लक्ष्य नेपालले १५ दशमलव दुई ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले २८ रन बनाए भने आशिफ शेख र अनिल साहले अर्धशतकीय पारी खेले । आशिफले ५४ रन र साहले ५७ रनको योगदान दिए । नेदरल्याण्ड्सका भिभिआन किङ्माले एक विकेट लिए ।




















