धम्क्याएर ५० लाख रकम माग गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
डर, त्रास तथा धम्की दिई उक्त रकम माग गर्ने कैलाली टीकापुर नगरपालिका–१ बस्ने ३६ बर्षीय हृदयराज बोगटी उपनाम विश्वजित बटला तथा नुवाकोट ककनी नगरपालिका–३ बस्ने ३६ बर्षीय नरहरि ढुङगाना उपनाम रमेश रहेका छन् । केही व्यक्तिले योजनाबद्ध तरिकाले पीडितलाई पटक–पटक फोनमार्फत तथा प्रत्यक्ष भेट गरी डर, धम्की तथा त्रास देखाई ५० लाख रुपैयाँ माग गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले चन्द्रगिरि नगरपालिका–९ मच्छेगाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि मङ्गलबार जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको र उनीहरुका साथबाट प्रहरीले सु.प.प्र.–०१००९ प ६६१ नम्बरको एक थान मोटरसाइकल, विभिन्न कम्पनीका मोबाइलहरु चार थान तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सहयोग रसिद एक ठेली बरामद गरेको छ ।





















