प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय एकता प्रवर्द्धन भएको बताएका छन् । काठमाडौँमा सञ्चालित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’को आज समापन गर्दै उनले नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न महत्वपूर्ण योगदान गरेको धारणा राखेको प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्री दाहालले भने, ‘प्रदर्शनमा राखिएका चित्रकला मौलिक छ, यसले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्छ, नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न यो धेरै महत्वपूर्ण छ । कलाकारिताका माध्यमबाट देशको प्रतिष्ठा बढाउन यहाँहरूले ठूलो योगदान गर्नुभएको छ ।’ उनले नेपाल प्राकृतिकरूपमा सुन्दर र मौलिक नेपाली प्रकृति रहेको उल्लेख गरेका छन् ।
उनले भने, ‘यहाँका हिमाल, नदीनाला, छहरा, जङ्गल सबै नै चित्रकलामय रहेको छ । यसलाई पारखीहरूबाट ठोस आकार दिएर जब चित्रकलामा रुपान्तरण गरिन्छ, त्यसले दिने सन्देश धेरै नै शक्तिशाली हुन्छ भन्ने मैले महसुस गरेको छु ।’ उनले कलाकारबाट देशको पहिचान र प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुगेको पनि बताए । उनले चित्रकला प्रदर्शनका लागि विश्वका कलाकारले तयार पारेको कलाले नेपालको भूगोल र संस्कृति एवं परम्परा चित्रमार्फत देखाइएको आफूले पाएको बताए ।
काठमाडौंको आर्ट काउन्सिलमा यही फागुन ५ गतेदेखि सुरु भएको प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्र समावेश गरिएको आयोजकले जनाएका छन् ।




















