skip this वडा नं १६ बालाजु च:मती

थाङपाल भ्याली र अमेरिकी स्कूलबीच भगिनी सम्बन्ध

सिन्धुपाल्चोकस्थित थाङपाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका–४ र मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अवस्थित यु–३२ विद्यालयबीच भगिनी सम्बन्ध स्थापित गरिएको छ । हेल्प संस्थाको पहलमा विद्यालयमा एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गरिएको हो ।

सम्झौतामा यु–३२ का प्रिन्सिपल स्टिवन डेलिङ्गरपेट र थाङपाल भ्याली माविका प्रधानाध्यापक विजय तामाङले हस्ताक्षर गरे । पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले यस विद्यालयलाई देशकै नमुना बनाउने अभियानमा यो भगिनी सम्बन्धले थप बल पुग्ने बिश्वास ब्यक्त गरे । उनले अन्तर्राष्ट्रिय तहसम्म प्रतिस्पर्धा गर्न सक्ने विद्यालयको रुपमा यसलाई स्थापित गर्ने लक्ष्य अब विस्तारै पूरा हुने विश्वास व्यक्त गरे । उनले यस पालिकाको शिक्षा सुधारका लागि गाउँपालिका लागिपरेको बताए ।

हेल्पका अध्यक्ष जिमी लामाले भगिनी सम्बन्ध कायम भएकामा बधाई ज्ञापन गर्दै भविष्यमा विद्यार्थी र शिक्षकबीच सिकाइ साटासाट हुने बताए । अन्य दिन पनि स्कुल हितको लागि लाग्ने उनले प्रतिबद्धता जनाए । दुई विद्यालयका शिक्षक र विद्यार्थीबीच विभिन्न माध्यमबाट सिकाइ आदानप्रदान गर्न र एकअर्कालाई सिकाइ प्रक्रिया, शैक्षिक प्रक्रिया, शैक्षिक लक्ष्य तथा योजनाहरु पूरा गर्न एकअर्कालाई सहयोग पुर्याउने उद्देश्यसहित भगिनी सम्बन्ध गाँसिएको हेल्पका अध्यक्ष लामाले बताए । भगिनी सम्बन्धबाट शिक्षकहरुलाई हालको विश्वव्यापी सन्दर्भमा विद्यार्थीलाई संलग्न गराउने, अन्तरराष्ट्रिय सिकाइ सम्बन्धहरू बुझ्न मद्दत गर्ने विश्वास लिइएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले विद्यालयलाई उत्कृष्ट बनाउने अभियानमा सहयोग गर्ने सबैलाई आभार प्रकट गरे । कार्यक्रममा भ्यालीका प्रधानाध्यापक विजय तामाङ, पूर्वव्यस्थापन समितिका शङ्कर लामालगायतले यु–३२ विद्यालयप्रति आभार प्रकट गरे ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको ड्रिम प्रोजेक्टका रूपमा रहेको थाङपाल भ्याली मावि चारवटा विद्यालय गाभेर निर्माण गरिएको विद्यालय हो । बागमती प्रदेशभित्रको थाङपाल भ्याली मावि दोस्रो ठूलो विद्यालय हो । पालिकाभित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टाल आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालय गाभेर वडा नं.४ स्थित थाङपालकोटमा सो विद्यालय बनाइएको हो । विद्यालयमा हाल आठ सय २१ भन्दा बढी विद्यार्थी र ४३ जना कर्मचारी सदस्य छन् ।

यु–३२, मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अबस्थित एक माध्यमिक तथा उच्च शिक्षा अध्ययन गराउने एक शैक्षिक संस्था हो जहाँ करिब सात सय २५ जना विद्यार्थी अध्यनरत छन् । राससले जनाएनुसार यु–३२ समावेशी सिकाइ वातावरण, सामुदायिक सहयोग, विद्यार्थीको नेतृत्व, रचनात्मक तथा चुनौतीपूर्ण नयाँ पहल लिने इच्छुकता आदिले गर्दा अन्यभन्दा पृथक रहेको प्रिन्सिपल स्टिवन डेलिङ्गरपेटले जानकारी दिएका छन् ।