skip this वडा नं १६ बालाजु च:मती

राष्ट्रपतिसमक्ष नवनियुक्त उपप्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथ

काठमाडौँ, २३ फागुन राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का तर्फबाट उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, खानेपानीमन्त्री राजेन्द्र राई, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, कृषि तथा पशुपन्छीमन्त्री ज्वालाकुमारी साह र भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले आज पद तथा गोपनीयतको शपथ लिनुभएको हो ।

यसैगरी नेकपा ९माओवादी केन्द्र०का तर्फबाट उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शपथ लिनुभयो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उपप्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले शपथ लिनुभएको छ ।

पद तथा गोपनीयतको शपथ लिनेमा नेकपा ९एकीकृत समाजवादी०का तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी र सहरी विकासमन्त्री धनबहादुर बुढा हुनुहुन्छ ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।

पहिलो चरणमा विनाविभागीय मन्त्रीका रुपमा नियुक्त हुनुभएका नेकपा ९एमाले०का पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले यही फागुन २१ गते शपथ लिनुभएको थियो ।

मन्त्रीमण्डल पुनर्गठनका क्रममा आज एमालेका गिरीलाई कानुन, न्याय तथा संसदीय व्यवस्था, माओवादी केन्द्रका तामाङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वतन्त्र पार्टीका अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी तोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्नु हुनेछ ।