राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । आज काठमाडौंस्थित भद्रकाली क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । काठमाडौंको भद्रकालीबाट प्रदर्शनकारी सिंहदरबारतर्फ अघि बढ्न खोज्दा झडप भएको हो । प्रदर्शनकारी निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रण गर्न बल प्रयोग गरेको जनाएको छ । त्यसक्रममा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्याँस र पानीको फोहोरासमेत प्रहार गरेको छ ।
उता, ज्ञानेन्द्र शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेको प्रहरीको भनाइ छ । झडपका क्रममा राप्रपाका केही कार्यकर्ता घाइते भएको जनाइएको छ ।
















