टर्कीएले इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने

गाजामा इजराइली युद्धको जवाफमा टर्कीएले मङ्गलबारदेखि सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने व्यापार मन्त्रालयले विज्ञप्तिमा जनाएको छ । इजराइलले तत्काल युद्धविराम घोषणा नगरेसम्म र गाजामा मानवीय सहायताको पर्याप्त तथा निर्बाध प्रवाहको अनुमति नदिएसम्म यो निर्णय कायम रहने मन्त्रालयले सामाजिक सञ्जालमार्फत घोषणा गरेको हो ।

इजराइलले गाजालाई हवाई सहयाता प्रदान गर्ने आफ्नो प्रयासलाई रोकेको एक दिनपछि टर्कीएले नयाँ कदम चालेको हो । विदेशमन्त्री हकन फिदानले सोमबार इजराइलविरुद्ध प्रतिशोधको वाचा गर्दै प्रतिबन्धलाई ‘चरणबद्ध रूपमा’ र ‘बिना कुनै ढिलाइ’ लागू गरिने बताए । टर्कीए गाजामा इजराइलको युद्धको सबैभन्दा कठोर आलोचकहरूमध्येको एक रहेको छ । राष्ट्रपति रेसेप तैयम एर्दोगानले इजराइललाई ‘आतङ्कवादी राज्य’ को संज्ञा दिएका छन् । रासस