ध्रुब राठीको बैशाखि टेकेर रमाउँदै कथित सेकुलरहरु

केही दिन यता नेपाली मिडियामा एक जना भारतीय मूलको युट्युबरको निकै ठूलो चर्चा छ । आधा दर्जन बढी “चल्ती”का अनलाइनहरुले जबर्जस्ती उचालेर चर्चामा ल्याएको ध्रुब राठीको बारेमा कान्तिपुर, नयाँ पत्रिका, नागरिक जस्ता दैनिकले समेत पुरै पेजभरिको कभरेज दिन थालेका छन् । मानौं कि ध्रुब राठी आधुनिक श्रीकृष्ण हो र उसले जस्तो चाह्यो उस्तै नतिजा निकाल्न सक्छ !

भारतमा यही अप्रिल १९ देखि संसदीय आम निर्वाचन शुरु हुँदैछ । एक महिनाभन्दा लामो समयसम्म चल्ने यो चुनावबाट भारतीय जनता पार्टी फेरि पनि स्पष्ट बहुमतसहित सत्तामा कायम रहने विभिन्न प्रक्षेपणहरुले देखाएका छन् । सन् २०१९ मा भन्दा पनि भाजपाको सिट संख्या बढ्ने र एनडीए गठबन्धनले दुई तिहाई सिट जित्ने प्रक्षेपणहरु गरिएका छन् । यस्तो प्रक्षेपण गर्ने भारतका मूलधारका मिडियाहरु हुन् । तर संसारभरका कथित सेकुलर मिडिया, तिनलाई फण्डिङ गर्ने एनजीओहरु र तिनै एनजीओहरुबाट ज्यान पाल्ने वुद्धिजिवी(फण्डइट)हरु भारतीय मूलधारका मिडियालाई गोदी मिडिया भन्दै ध्रुब राठीलाई भाजपा र मोदीविरुद्धको मसिहाको रुपमा प्रस्तुत गर्दैछन् ।

जर्मनीमा बस्ने ध्रुब राठी आफैंमा विवादास्पद ब्यक्ति हुन् । कुनै समय अरविन्द केजरीवालको आम आद्मी पार्टीको अग्रपंक्तिको प्रचारक रहेका राठी पछिल्ला वर्षहरुमा युरोप/अमेरिकातिरै बढी बस्ने गर्दछन् । अष्ट्रियन केटी विवाह गरेपछि उनी बर्लिनमा स्थायी रुपमा बसेर उतैबाट भारतीय जनता पार्टी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध भिडियो बनाउने र राजनीतिक कमेन्ट्री गर्ने गर्दछन् । अंग्रेजी र हिन्दी भाषामा रहेको उनको युट्युब च्यानलको एक मात्र मिसन नरेन्द्र मोदीलाई संसारको नयाँ तानाशाह करार गर्नु हो । उनको भिडियो फ्लो गर्ने संख्या ठूलै छ । भारतीय जनसंख्याको आकारले पनि उनलाई त्यत्रो फ्लोअर्स बटुल्न सजिलो भएको हो । दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीपछि र भारतमा आमचुनावको मिति जति जति नजिकिंदै छ त्यति उनलाई उचाल्ने प्रयास भईरहेको छ ।

हिन्दू राष्ट्रवादी भाजपा संसारभरीका सेकुलरहरुका लागि ठूलो टाउको दुखाई बनेको छ । झण्डै १० वर्षको शासनकालमा भाजपाले के प्रमाणित गरेको छ भने उ आफ्ना एजेण्डामा सम्झौता गर्दैन । कश्मिरलाई स्वायत्तता दिने संविधानको धारा ३७० को खारेजी होस कि अयोध्यामा राम मन्दिर निर्माण गर्ने वा मुशलमान बाहेकका शरणार्थीलाई नागरिकता दिने विषय होस वा भारतभरी समान बैवाहिक कानुन लागू गर्ने विषय होस उसले आफ्ना एजेण्डालाई लागू गरेर देखाएको छ । विकास निर्माण र आर्थिक उन्नतीका विषय त नियमित प्रक्रियाका रुपमा अघि बढेकै छन् ।

संसारभरका सेकुलरहरु आगामी चुनावबाट भाजपालाई रोक्न सकिन्छ कि भनेर अनेक हथकण्डा प्रयोग गर्दैछन् । त्यसै क्रममा जन्मिएका हुन ध्रबु राठी । ती कथित सेकुलरहरुको यो पहिलो प्रयास भने होइन । सन् २०१९ को चुनाव अघि पनि यस्तै अनेक प्रयास भएका थिए । ईशाइ मिसनरीदेखि मुश्लिमहरु संघ संगठनहरुलाई उचालेर नपुगेर वीवीसी, सीएनएनसम्मका पश्चिमा प्रभावशाली मिडियाहरु पनि राम्रैसंग प्रयोग भएका थिए । वीवीसीले गुजरात दंगामा नरेन्द्र मोदी नै जिम्मेवार थिए भन्ने भाष्यसहितको डकुमेन्ट्री चुनाव अघि प्रसारण गरेको थियो भने २०१९ को चुनावको ठीक अगाडि अमेरिकी म्यागजिन टाइमले “द विगेस्ट डिभाइडर” भनेर कभर स्टोरी नै बनाएको थियो । तर कसैको दाल गलेन र भाजपाले झन् ठूलो बहुमत ल्यायो ।

अघिल्लो चुनावमा फसिसकेकाले होला यस पटक पश्चिमा मिडियाहरु मिसन बनाएर मोदी विरुद्ध लागिसकेका छैनन् । तर भारतीय मूलकै एउटा युट्युबरलाई उचालेर भाजपा र मोदीलाई रोक्न सकिन्छ कि भन्ने निम्छरो आशा सेकुलरहरुले बोकेका छन् । बहुसंख्यक जनताको एजेण्डा, राष्ट्रिय विकासको गति र देशलाई सबल बनाउने मोदीमन्त्रका अगाडि उनलाई तानाशाह भन्दै राक्षसीकरण गर्ने प्रयास र त्यसैलाई क्याबात भन्दै प्रचार गर्नु मुतको न्यानो भन्दा फरक नहने निश्चित छ ।