काठमाडौंको टोखा नगरपालिकाले बिस्का नख:(जात्रा)को अवसरमा बैशाख ४ गते सार्वजनिक बिदा दिएको छ । टोखाको गत चैत २९ गते बसेको नगर कार्यपालिकाको बैठकले बैशाख १ देखि ५ गतेसम्म मनाइने बिस्का जात्राका अवसरमा बैशाख ३ गते टोखा नगरपालिकाको वडा नं.२ र ३ साथै वैशाख ४ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बैशाख ३ गते दुईवटा वडा र बैशाख ४ गते टोखा नगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्था बन्द हुने जानकारी दिए । टोखामा बैशाख २ गते आज बिहान तीनवटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएर बली पूजा लिई कोठु गणेश र मसानकाली दुवै रथ एकैसाथ ल्याएर बिहान ११ बजे थलागः टोलमा लस्करै बिसाइएको थियो ।
सोमबार दिउँसो ३ बजे गणेश कुमारीको आगमन गराई तलेजुबाट सरकारी पुजा ल्याई सिन्दूरजात्रा गरी रथ उठाइयो भने साँझमा गाउँ परिक्रमा गरी बेलुका ७ बजे सबै रथ तपलाक्षीःमा बिसाइएको नेवा गुथीः टोखाका अध्यक्ष रमेश नापितले बताए । र, रातभर भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बसेको अध्यक्ष नापितले बताए ।


















