नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे(रोहित)ले स्थानीय तह प्रजातन्त्रको जग भएको बताएका छन् । ४२औँ विश्व सम्पदा दिवसका अवसरमा बिहिबार भक्तपुरमा आयोजित कार्यक्रममा सांस्कृतिक नगर भक्तपुरको सम्पदा संरक्षणबारे बिजुक्छे आफैले लेखेको पुस्तक ‘सय वर्षपछिको भक्तपुर’ बारे चर्चा गर्दै उनले प्रजातन्त्र बलियो बनाउन स्थानीय तह बलियो बनाउनुपर्ने बताए ।
भक्तपुर नगरलाई विकास गर्न नयाँ पुस्तालाई इमानदारितापूर्वक काम गर्न प्रेरित गर्नुपर्नेमा उनले जोड दिए । उनले भक्तपुर नगर सांस्कृतिक नगर घोषणा भएमा ऐन कानुनअनुसार कार्य हुने र मौलिकता संरक्षणमा सहजता तथा एकरुपता आउने विचार व्यक्त गरे । पुराना घरहरु नगरको पहिचान भएकाले यस्ता घरहरुको संरक्षण गरी पुराना शैलीका घर निर्माणमा नगरपालिकाले जोड दिने उनले बताए ।
उनले माटो जोडाइका घरहरु स्वास्थ्यको हिसाबले लाभदायी, सुरक्षित हुने भएकाले काठ र माटोको विशेषताबारे अनुसन्धान गर्दै नयाँ पुस्तालाई पुराना घर, मन्दिर र सम्पदा निर्माणसम्बन्धी तालिम दिनुपर्ने खाँचो औँल्याए । भक्तपुर नगरपालिकाले खानेपानीको गुणस्तर कायम गर्नुपर्ने र घर निर्माण गर्दा नक्सापास प्रक्रियाबारे जनतालाई जानकारी दिनुपर्ने उनको भनाइ छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नारायणमान बिजक्छे (रोहित)द्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकले नगरको भविष्य कस्तो हुन्छ भन्ने कल्पना गरेको बताए । प्रजापतिले भक्तपुर नगरले शिक्षाको जग बलियो बनाउन २०५६ सालमा ख्वप उच्च मावि, २०५८ सालमा ख्वप कलेज र ख्वप ई कलेज स्थापना गर्दै हाल सातवटा कलेज स्थापना गर्न सफल भएको बताए ।
कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले ५० वर्षपछिको नेपाल र सय वर्षपछिको भक्तपुरबारे परिकल्पनाले भक्तपुरको मौलिकता संरक्षणमा योगदान पुर्याएको चर्चा गर्दै पुस्तकका लेखकको दूरदृष्टिपूर्ण सोच र परिकल्पनाले नयाँ पुस्ताका लागि सहर निर्माण गर्न गुरुयोजनाको काम गर्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा इतिहासविद् विश्वमोहन जोशी, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दीपेशराज शर्मा, भक्तपुर नपाका पर्यटन शाखा प्रमुख गौतमलगायतले बिजुक्छेद्वारा लिखित पुस्तकको सान्दर्भिकताबारे चर्चा गरेको थिए ।


















