प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताएका छन् । आज धनगढी विमानस्थल हुँदै कञ्चनपुर पुगेका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै नीति तथा कार्यक्रम र बजेट वैज्ञानिक, वस्तुपरक र जनमैत्री बनाउने काम भइरेको जानकारी दिए ।
उनले वर्तमान सत्तासमीकरण वामपन्थीको मात्र नभएको स्पष्ट पारे । उनले भने, ‘वर्तमान सत्ता समीकरण वामपन्थीको मात्रै भनेर गरिएको होइन, राजनीतिक सत्ता समीकरणका रुपमा बुझ्नुपर्छ, अहिले वाम एकता भन्नु सही हुँदैन । वर्तमान सत्ता समीकरण पूरा अवधि जान्छ । राजनीतिक रुपमा बाहिर बजारमा चर्चा गरिएजस्तो समीकरणमा कुनै पनि समस्या छैन ।’
पहिलो पटक नेपालमा हुन लागेको कतारका राजा अमिरको भ्रमणको तयारीमा सरकार लागिरहेको बताउँदै प्रधानमन्त्रीले यो ऐतिहासिक अवसर भएको बताए । साथै, यही बैशाख १६ र १७ गते आयोजना हुन लागेको लगानी सम्मेलनको पनि तयारी पूरा हुने चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘लगानी सम्मेलनका विषयमा सबैतिरबाट सकारात्मक र उत्साहवद्र्धक प्रतिक्रिया आएको छ, विदेशी लगानीकर्ता र स्वदेशकै निजी क्षेत्रलाई लगानी गर्नका लागि प्रोत्साहित गर्न आवश्यक छ । लगानीमैत्री वातावरण बनाउन सरकारले मन्त्रिपरिषद् बैठकबाट केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन लागेको छ ।’
त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरुको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपाल आफैले आयोजना गर्न लागेको जानकारी दिए ।


















