विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु

काठमाडौं–विद्युतीय सवारी(इभी) र्यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । विद्युत् खपत बढाउने सन्देशसहित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)को आयोजनामा हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले र्यालीको उद्घाटन का हुन् । आज बिहान इभी र्याली आयोजना गरी विद्युतीय सवारी प्रवद्र्धन र विद्युत खपत बढाउने सन्देशसहित चौथो संस्करणको एक्स्पोको सुरुआत गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए । र्याली उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई सार्थक बनाउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हाइड्रो एक्स्पो अघि सुरु भएको यो र्यालीले स्वदेशी विद्युत खपत बढाउन र विद्युतीय सवारी प्रवद्र्धनमा सहयोगी सावित हुनेछ । हाइड्रो एक्स्पो नेपालको विद्यत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुनेछ ।’ इप्पान अध्यक्ष गणेश कार्कीले ‘हाम्रो बिजुली, हामी आफैँ खपत गरौँ’ भन्ने उद्देश्यले इभी र्याली आयोजना गरिएको बताए ।

सरकारले सन् २०३५ सम्ममा १३ हजार मेगावाट विद्युत् खपत गर्ने लक्ष्य लिएको छ । त्यसका लागि समेत विद्युतीय सवारी र्यालीले थप प्रवद्र्धन हुने उनको आशा छ । उनले भने, ‘सरकारले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट उत्पादन र १३ हजार मेगावाट स्वदेशमै खपत गर्ने लक्ष्य लिएको छ, यसलाई सार्थक बनाउन पनि इभी र्यालीले सहयोग गर्छ । विद्युतीय सवारीले स्वदेशी विद्युत् खपत बढाउन सहयोगी हुनुका साथै पर्यावरणका लागि उपयुक्त हुन्छ ।’

इभी र्याली कमलादीको स्काई वाक टावरबाट सुरु भइ सिंहदरबार, बानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी, हुँदै भृकुटी मण्डपमा पुगेर टुङ्गिएको थियो । र्यालीमा तीन सयभन्दा बढी विद्युतीय सवारी सहभागी थिए । एक्स्पोको पहिलो दिन तीन वटा प्राविधिक सत्र राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बिहीबार एक्स्पोको औपचारिक उद्घाटन गर्ने छन् ।