क्यानडा पठाइदिन्छु भनि दुबई पुर्याएर मानवबेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीका अनुसार बारा सिम्रौनगढ नगरपालिका ठेगाना भई हाल काठमाडौं नागार्जुन नगरपालिका बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारी पक्राउ परेका हुन् ।
घटनामा संलग्न रही फरार रहेका हवारीलाई मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनसँगको समन्वयमा काठमाडौँ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार हवारीले टिकटकको माध्यमबाट चिनजान गरी ठगी गर्दै आएका थिए । हवारीले टिकटकमार्फत धेरै मानिसहरुलाई क्यानडा पठाइसकेको भनि प्रलोभन देखाउँदै पीडितलाई दुवई पुर्याई बन्धक बनाइराखेको अवस्थामा पीडितको आफन्तको सहयोगमा नेपाल फिर्ता हुन सफल भएका थिए ।
प्रहरीका अनुसार हवारीले क्यानडा जानका लागि ३० लाख रुपैयाँ लाग्ने बताएको, पीडितलाई बिहे गर्नेसम्म प्रलोभन देखाई नेपालमै पटक–पटक यौन शोषण गरेको र विभिन्न समयमा ११ लाख २८ हजार रकम समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
पक्राउ परेका हवारीउपर मानवबेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरुको समेत प्रहरीले खोजी गरिरहेको प्रहरीको भनाइ छ ।


















