तिब्बतको कम्पनीले नेपालको घाँस खरिद गर्ने

तिब्बतको एक कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो ।

प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपाल क्राउन एग्रिकल्चर इन्टरप्राइजेज र न्यु होप नेपाल कम्पनीसँग क्रमश: ओट घाँस र जनावरको दाना खरिदको सम्झौता गरेको छ । नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङको उपस्थितिमा घाँस र दाना निर्यात गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

तिब्बतमा ओट ग्रासको ठूलो माग छ । ओट घाँसमा कच्चा फाइबरको मात्रा राम्रो हुन्छ । जुन याक जस्ता पशुका लागि महत्त्वपूर्ण मानिन्छ । आन्तरिक उत्पादनले यो माग पूरा गर्न नसकेपछि सरकारले घाँस आयात गरिरहेको छ । नेपालबाट उच्च गुणस्तरको ओट घाँस र पशु दानाको आपूर्तिलाई प्रभावकारी रूपमा सुधार गर्न तिब्बत सरकारले नेपाली किसानसँग सहकार्य गरेको हो ।

घाँस लैजाने कम्पनी तिब्बत प्लेटु ब्लु एग्रिकल्चरका निर्देशक झ्याङ्ग जियाङ्गले तिब्बतका दुग्ध फार्महरू र किसानहरुको लागि चीनको अर्को क्षेत्रबाट घाँस ल्याउनुभन्दा तातोपानी र केरूङ नाका हुँदै नेपालबाट घाँस किनेर लैजान सहज र सस्तो हुने बताए । यसले नेपाली जनताको आय आर्जन बढ्ने र रोजगारी समेत सिर्जना हुने भएकाले पनि चीनले नेपालमा उत्पादित घाँस आयातलाई प्राथमिकतामा राखेको जनाइएको छ ।

२०७८ सालमा चिनियाँ विदेशमन्त्रीले नेपालको भ्रमण गर्दा नेपालबाट चीनमा घाँस निर्यात गर्नेसम्बन्धी ‘प्रोटोकल’मा हस्ताक्षर गरेका थिए । त्यसपछि चितवनको एक नेपाली कम्पनीले हाइलेज(घाँसको विशेष प्रकार) बनाएर तिब्बत पठाइरहेको छ ।