ललितपुरको गोदावरीस्थित वनको डढेलो निभाउने क्राममा घाइते एकको मृत्यु

ललितपुरको गोदावरीस्थित बडिखेल वनमा डढेलो निभाउने क्रममा आज घाइते भएका तीनमध्ये एकजनाको मृत्यु भएको छ । घाइतेमध्ये एकको उपचारको क्रममा मृत्यु भएको हो ।

डढेलोमा जलेर स्थानीय शंकर पहारीको मृत्यु भएको हो । जलेर गम्भीर घाइते भएका उनलाई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं एसएसपी शेखर खनालले जानकारी दिए । सोही डढेलो निभाउने क्रममा जलेर अरू दुईजना घाइते छन् । कीर्तिपुर बर्न अस्पतालमै एक जनाको उपचार जारी छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा अर्का एक घाइतेको उपचार भइरहेको गोदावरी नगरपालिकाले जनाएको छ । गोदावरीकै लेले क्षेत्रको आनन्द वनमा डढेलो लाग्दा आनन्द वन अस्पताल जोखिममा परेको छ ।