नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पछिल्ला दिनहरुमा नजानिंदो ढंगबाट ठूलै राजनीतिक परिवर्तनको संकेत दिइरहेका छन् । नेता नेपाल बर्तमान सत्ता गठबन्धनसंग सन्तुष्ट छैनन् भन्ने घाम जत्तिकै छलङ्ग छ । तर उनले सार्वजनिक रुपमै जे भनिरहेका छन् त्यसको गुह्य खोतल्ने हो भने बर्तमान गठबन्धन कुनै पनि बेला तासको घर झैं ढल्ने अवस्थामा रहेको निष्कर्ष निकाल्न कठीन छैन ।
गत फागुनमा प्रधानमन्त्री प्रचण्डले तत्कालिन सत्ता गठबन्धन छाड्ने संकेत हामीले गर्दै गर्दा जुन अवस्था थियो अहिले फेरि अवस्था त्यसैगरी घुमेको छ । अर्थात फेरि सत्ता गठबन्धन फेरिने गरी राजनीतिक खेलहरु घनिभूत बनिरहेका छन् । र त्यसकै संकेत पूर्व प्रधानमन्त्री नेपालले लगभग दैनिक जसो गरिरहेका छन् । यसै साता पार्टीको युवा संघको कार्यक्रममा नेपालले आफू प्रधानमन्त्री बन्ला कि भनेर कसै कसैलाई पेट पोलिरहेको भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति ब्यंग्य गरेका थिए । गत बुधकार अन्तर्राराष्ट्रिय श्रमिक दिवसका दिन चितवनमा शुरु भएको पार्टीको वैठकमा पनि नेता नेपालले आवश्यक परे शक्ति देखाउने भन्दै खुला चुनौति दिएका थिए ।
वात पटुता त्यत्ति नभए पनि माधव नेपाल परिपक्क नेता भने हुन । कसैले यही सत्ता गठबन्धनमा बार्गेनिङका लागि धम्क्याएको आरोप पनि लगाउन सक्छन । तर यो गठबन्धनबाट नेकपा एस र माधव नेपालले अब खाशै पाउनुपर्ने केही छैन । त्यस्तो रहेछ भने पनि नपाउने भन्ने प्रश्नै उठ्दैन । किनकी केपी ओली यसरी गलेका छन् कि माधव नेपाललाई गठबन्धनबाट बाहिर जान नदिन उनी जस्तोसुकै त्याग गर्न पनि तयार छन् । माधव नेपाल फेरि एमालेसंग पार्टी एकता गर्ने पक्षमा कुनै हालतमा तयार नरहेको बुझिएको छ । उनी प्रचण्डसंगै टाँसिन पनि तयार छैनन् । एउटै कम्युनिष्ट पार्टी बन्ने र त्यसको पहिलो अध्यक्ष बन्ने अवसर आफूलाई हुने हो भने त्यसका लागि भने तयार रहेको बताइन्छ । तर ओली एउटै कम्युनिष्ट पार्टी बनाउने कुराको विरोधी देखिएका छन् । अर्थात ओली पनि यो गठबन्धन वा कम्युनिष्ट नामको पसल धेरै चल्दैन भन्नेमा ढुक्क भएको मान्न सकिन्छ ।
प्रचण्ड र ओलीले माधव नेपाललाई अल्मल्याउनका लागि धेरै कोशिस यो बीचमा गरेकै हुन । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नदिन अनेकन खेल खेले । सरकार नै ढल्नसक्ने देखेपछि प्रचण्ड र ओली पछि हट्न बाध्य भए । अहिले फेरि प्रचण्ड र ओली नेपाललाई पेल्ने र अलमल्याउने अरु खेलमा लागेको माधव नेपालले बुझेका छन् । विद्या भण्डारीलाई पूर्व प्रधानमन्त्रीहरु एकजूट गराएर एमालेले सम्मान दिन खोज्दा माधव नेपाल अनुपस्थित रहे । कसैको दास होइन भने र दुई पटक संसद विघटन गर्नेलाई सम्मान दिन सकिंदैन भने ।
घटना क्रमहरुले अब माधव नेपाल प्रधानमन्त्री बन्ने दाउमा लागेका छन् भन्ने देखाउँछ । उनलाई गठबन्धनभित्र कम्तिमा एक वर्षका लागि प्रधानमन्त्री दिने आश्वासन दिइएको छ । तर, यसमा धोका हुने छाँटकाँट उनले देखिसकेका छन् । त्यसैले नेता नेपालले नयाँ गठबन्धनको पहल थालिसकेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवासँग माधव नेपालको एक महिनाको बीचमा आधा दर्जन पटक प्रत्यक्ष भेटेर संवाद भएको छ ।
विश्वस्त सूत्रहरुले दिएको जानकारी अनुसार परिस्थित अनुकूल भएमा बैशाखभित्रै वा जेठ १५ गते बजेट पेश हुनु भन्दा अगाडि नै सरकार ढाल्ने खेलहरु चलिसकेको छ । नेता नेपालले उपेन्द्र यादवलाई समेत भेटेर गठबन्धन फेरिने संकेत दिईसकेका छन् । नयाँ गठबन्धन बनाउन राप्रपाको पनि साथ चाहिन्छ । राजेन्द्र लिङ्देनले अहिलेसम्म कुनै भरोसा नदिएका कारण खेलले ठोस रुप लिन नसकेको बुझिएको छ । तर राप्रपाले बर्तमान गठबन्धनसंग कुनै सहकार्य समेत नगर्ने निर्णय गरेकाले नयाँ गठबन्धनमा ढिलो चाँडो सहमत हुने विश्वास गरिएको छ । शेरबहादुर देउवाले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरिसकेका छन् । राप्रपालाई मिलाउने जिम्मा आफ्नो भयो भन्ने आश्वासन पनि देउवाले नेता नेपाललाई दिएकाले नेपालले खुला रुपमै सत्ता गठबन्धन परिवर्तनको संकेत गरिरहेका हुन भन्ने बुझ्न कठीन छैन ।


















