कतारको जहाजमा प्राविधिक समस्या, दुई घण्टादेखि यात्रु जहाजभित्रै

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको कतार एयरवेजको जहाजमा प्राविधिक समस्या देखिएपछि सवा दुई घण्टादेखि यात्रु जहाजभित्रै बस्नुपरेको छ । जहाजलाई पार्किङ बेबाट धावनमार्गतर्फ लान ‘पुस ब्याक’ ९तान्दा० जहाजको पुच्छरपट्टि भागमा सामान्य धुँवाजस्तो देखिएपछि प्राविधिक परीक्षण गरिएको थियो ।

यो जहाजको बिहान ११:४५ बजे उड्ने तालिका थियो । कतार एयरवेजको उडान नम्बर क्यूआर ६५३ को ‘ए३३०’ सिरिजको वाइड बडी जहाजमा ३ सय १८ यात्रु सवार छन् ।

‘कतार एयरवेजको जहाजलाई पार्किङ बेबाट पुस ब्याक गर्दा एक्जिलरी पावर युनिट ९एपीयू० मा धुँवा देखिएपछि सुरक्षाका लागि जहाज रोकिएको थियो,’ त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले सोमबार अनलाइनखबरसँग भने, ‘जहाजभित्रै धुँवा देखिएको वा अन्य कुनै प्राविधिक गडबडी होइन । अहिले जहाज प्राविधिक रूपमा ठिक छ भन्ने यकिन भइसक्यो, अब उड्न तयार भएको छ ।’

जहाजको बाहिरपट्टि धुँवा देखिएका कारण सवार यात्रुलाई जहाजबाट बाहिर ननिकालिकन प्राविधिक परीक्षण गरिएको झाले बताए । जहाजको ढोका सबै खुला राखिएका कारण यात्रुलाई कुनै पनि समस्या नभएको उनको भनाइ छ । कतार एयरवेजले दोहा–काठमाडौं–दोहा रुटमा दैनिक आधा दर्जनहाराहारी उडान गर्दै आएको छ ।