नेपाल उद्योग परिसंघ र यूरोपियन यूनियनका पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धिलगायतका विषयमा छलफल भएको छ । परिसंघले युरोपेली आयोगका उपमहानिर्देशक मिरियाम फेरान, नेपालका लागि इयूका राजदूत भेरोनिक लोरेन्जोलगायत यूरोपियन यूनियनका विशिष्ट व्यक्तिहरूसँग दुई पक्षीयसहितका विषयमा छलफल गरेको हो ।
छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नेपाल र युरोपियन युनियनबीचको आर्थिक र व्यवसायिक सम्बन्धका विषयमा चर्चा गर्दै नेपालको आर्थिक विकासका लागि इयूले आगामी दिनमा गर्न सक्ने सहयोगका क्षेत्रका विषयमा जानकारी गराए । उनले युरोपेली मुलुकहरूमा सिधा उडानहरू पुन: सुचारु गराउन आवश्यक सहयोग गर्न आग्रह गरे । सुरक्षा सूचीबाट हटाई नेपालको पर्यटन क्षेत्रमा योगदान गर्न उनले आग्रह गरेका हुन् ।
नेपालका लागि इयूका राजदूत भेरोनिक लोरेन्जोले यूरोपियन यूनियन नेपालको आर्थिक बृद्धि र विकासको यात्रामा सहयोग गर्न प्रतिबद्ध रहेको बताए । साथै, यो छलफलले दुबै राष्ट्रहरूबीच सहयोग र व्यापार बढाउने सम्भावनालाई उजागर गरेको उनले बताए ।
छलफल मुख्यत: व्यापार सम्बन्ध सुदृढ गर्ने, नेपाली उत्पादनलाई इयू बजारमा निर्यात क्षमता बृद्धी गर्ने, सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित देशबाट विकासोन्मुख राष्ट्रमा स्तरउन्नोती गरेपछिको अवस्था, नेपालका लागि जीएसपी (जनरलाइज्ड स्किम अफ प्रिफरेन्स प्लस) स्थिति सुरक्षित गर्न युरोपियन युनियनको सहयोग, नेपालको उत्पादन र आईटी क्षेत्रको सम्भावनालगायत व्यवसायिक लाभ र आर्थिक विकासका विषयमा केन्द्रित थियो ।
छलफलमा परिसंघका निवर्तमान अध्यक्ष विष्णु कुमार अग्रवाल, पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष राज बहादुर शाह, परिसंघ महिला नेतृत्व फोरम सभापति छाया शर्मा, परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।


















