इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना, कोही जीवित नरहेको संकेत

इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर आइतबार दुर्घटना भएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उक्त हेलिकोप्टर भएको स्थान फेला परेको र दुर्घटनामा परेको हेलिकोप्टरमा सवार कोही जीवित नरहेको सङ्केत देखिएको छ ।

इरानी राष्ट्रपति रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान सवार हेलिकोप्टर आइतबार दुर्घटना भएको थियो । साथै हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमातीलगायत अन्य व्यक्तिहरु सवार थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकोप्टर पूर्ण रुपमा जलेको बताएका छन् ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारकर्मी घटनास्थलमा पुगेका छन् । इरानको रेड क्रिसेन्ट सोसाइटीका प्रमुखले अवस्था राम्रो नभएको बताए । उनका अनुसार दुर्घटना भएको स्थानमा मौसम निकै खराब छ, जसका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भएको छ । बीबीसी