नेपालको राजनीतिका कुट व्यक्तित्व हुन, खड्ग ओली । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ज्यादा बोल्छन, बोल्दा के के बोल्छन, उनैलाई थाहा हुन्न । उनले भनेका थिए, राजनैतिक उथलपुथल गराउँछु । खडग ओली उखान, टुक्का र मनोरन्जनात्मक भाषामा सार्वजनिक अभिव्यक्ति ज्यादा दिन्छन तर उनको भित्री कुराको भेउ कसैले पाउँदैन, उनी नभनि उथलपुथल गराउछन् । प्रसङ्ग रास्वपाका अध्यक्ष रबि लामिछानेको हो । रबि लामिछाने पनि आफूलाई चतुर खेलाडी सम्झन्छन, त्यसैले होला उनी बेलाबेला विवादमा आइरहन्छन् ।
गत २०७९ बैशाखको स्थानीय निर्वाचन र मंसिरको संसदीय निर्वाचनमा परम्परागत दलहरुलाई चुनौती दिदैँ केही स्वतन्त्र उम्मेदवार र स्वतन्त्र पार्टीले राष्ट्रिय राजनीतिमा तरंग पैदा गर्यो । नयाँ उदयिमान शक्ति, परम्परागत शक्तिमध्येको बनियो दल एमालेको लागि कडा चुनौतीको विषय बन्न गयो । स्वतन्त्र व्यक्ति र स्वतन्त्र पार्टीलाई फोहोरी राजनीतिमा नधमिल्याई पुराना पार्टीको भविष्य छैन भन्ने कटु सत्य बुझेका खड्ग ओलीले पहिलो प्रहार बालेन साहमाथि गरे । बालेनको व्यक्तित्व, राजनीतिमा सम्झौता नगर्ने नीति र कुनैपनि भ्रष्टाचारजन्य विवादमा नफसेका कारण बालेनलाई सक्न सकिदैन भन्ने निर्क्यौलका साथ बालेनलाई नचलाउने तर बालेनको जस्तै छवि बनाएका रास्वपा अध्यक्षलाई बदनाम गर्न सके भने यो बाढीले बालेन जस्ता स्वतन्त्रलाई पनि स्वतः बगाउने छ भन्ने निक्यौलका साथ रवि लामिछानेसँग कसिलो मित्रताको बन्धन कस्न सफल भए ।
मार्गदर्शक वा अनुयायि छोराको राजनैतिक सम्बन्धका कारण खड्ग ओलीको आर्शिवाद प्राप्त गरी पासपोर्ट, नागरिकता जस्ता विवादबाट उम्कन सफल भए । रविले के कुरा बुझेनन भने खड्ग ओली जस्तो चरम षडयन्त्र बुन्न माहिर नेताले रविलाई बिना स्वार्थ आर्शिवाद दिएका होलान भनेर । खड्ग ओलीको कटु चतुर्याईबाट भुक्तभोगी सहयात्री माधव नेपालहरुबाट पनि उनले शिक्षा लिन चाहेनन । फलस्वरुप उनी विस्तारै एकपछि अर्को खड्ग ओलीको जालमा फँस्न थाले ।
वैकल्पिक गठबन्धनको सम्भावनाको अन्त्य:
खडग ओलीले सहकारीकाण्डमा रवि लामिछानेलाई यसरी साथ दिए जसको कारण कांग्रेस र रास्वपाबीच पानी बाराबार मात्र होइन तल्लोस्तरको गाली गलौज र वाकयुद्धकै थालनी भयो । अब कांग्रेस र रास्वपाबीच वैकल्पिक गठबन्धनको सम्भावना लगभग समाप्त भयो । कांग्रेसबाट एमालेप्रतिको सम्भावित खतरा समाप्त हुन गयो । अब एमालेको पक्षबाट रास्वपा ढाल बोकेर खडा हुने भयो । एमालेले भन्ने गरेको मिसन ८४ मा पनि रास्वपा र कांग्रेस आमनेसामने हुने भए जसले एमालेलाई आफ्नो गन्तव्य निर्धारण गर्न बेरोकटोक बाटो तयार हुने देखियो ।
पार्टीप्रतिको वितृष्णा र स्वतन्त्र व्यक्ति/समुहको अस्तित्व नामेट:
लामो समयदेखि राज गरिरहेको पार्टीहरु, भ्रष्टाचारमा चुर्लम्म डुबेको तिनका नेताहरुबाट आक्रोशित जनताले स्वतन्त्र व्यक्ति र पार्टीबाट फरकधारको वैकल्पिक राजनीतिको अपेक्षा गरेका थिए । लाग्थ्यो स्वतन्त्रहरुको लोकप्रियताले ८४ को निर्वाचनमा परम्परागत पार्टीहरुको अस्तित्व संकटमा पर्ने छ । यसैबीच, खडग ओलीको जालमा फसेको रास्वपा अध्यक्षको एकपछि अर्को विवादास्पद क्रियाकलापले लोकप्रियता बोकेको स्वतन्त्रहरुलाई एकछिनमा यसरी घरासायी बनाई दियो कि मिसन ८४ होइन मिसन १८४ मा पनि उठ्न नसक्ने अवस्थामा पुराइयो । एकातिर एमाले माथिको प्रहारलाई रोक्न खडग ओली सफल भय भने वैकल्पिक शक्ति पनि कान चिरेकै जोगी हो भन्ने भाष्य प्रमाणित गराई वैकल्पिक शक्तिको नसबन्दी नै गराई दिए ।
एमाले नै ठिक भन्ने भाष्य स्थापित गराउन सफल हुनु:
यसरी कांग्रेस, रास्वपा र माओवादी पार्टी, तिनका नेता र तिनका विवादास्पद भूमिका र क्रियाकलापले अहिले पुनः अरु भन्दा एमाले नै बरु ठिक रहेछ, कमसेकम खडग ओलीले राष्ट्रियताको सवालमा हिजो पनि अडान नै लिएका थिए भन्ने भाष्य स्थापित गराई ८४ सम्म एमाले पार्टीलाई विकल्पहिन पार्टीको रुपमा स्थापित गराउने बाटोतर्फ खडग ओली केही हदसम्म सफल देखिन्छन् ।
नेपाली राजनीतिका चतुर खेलाडी खड्ग ओलीले रास्वपालाई काखामा राखि घाँटी रेटदै छन् भन्ने बुझेर पनि रास्वपा रेटिन तयार भएर खुशी खुशी पछि लाग्दैछ । यसरी उनले एकतिरबाट रास्वपा सकिदिएका छन भने त्यहि तिरले वैकल्पिक गठबन्धनको सम्भावना समाप्त पारिदिएका छन् । त्यस्तै एमालेको विकल्प अरु पार्टी हुन सक्दैन भन्ने भाष्य स्थापित गर्न पनि सफल भएका छन् । हुनत नेपालमा यस्तो कुट राजनीति गर्न खडग ओली मात्र माहिर छैनन । अनेकौं खडग ओलीहरु अध्यारो कुनामा बसेर यस्तै कुट गरिरहेका हुन सक्छन । राजनीतिमा कस्को तिर सफल हुने वा को सकिने यो त समयले नै बताउला, समयको प्रतिक्षा गरौं ।

















