कार्बन उत्सर्जनलाई घटाउँदै ‘पृथ्वीको तापक्रम १.५ डिग्रीमाथि बढ्न नदिन सबैको पहल आवश्यक’

बुधबारदेखि काठमाडौँमा सुरु भएको हिमाल, जनता र जलवायु सम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै विज्ञहरूले कार्बन उत्सर्जनलाई घटाउँदै पृथ्वीको तापक्रमलाई १.५ डिग्रीमा सीमित राख्नुपर्नेमा जोड दिएका हुन् । दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा पृथ्वीको तापक्रमलाई १.५ डिग्रीमा सीमित गरिनुपर्ने प्रयासहरूको सम्बन्धमा छलफल भएको थियो ।

पृथ्वीको तापक्रमलाई १.५ डिग्रीभन्दा बढ्न नदिन विभिन्न राष्ट्रकोबिच सहजताको वातावरण कसरी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएको जलवायु विज्ञ मञ्जित ढकालले बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायुविज्ञ ढकालले जलवायु परिवर्तनको मुद्दा पर्वतीय देशहरूको मुद्दा मात्रै नभई अन्य देशको पनि मुद्दा भएकाले यो विषयलाई विश्वव्यापीकरण गर्न पनि छलफलले सहयोग पुर्‍याएको उनले बताए ।

विभिन्न मुलुकहरूबिचमा आपसी सहकार्यबाट मात्रै कार्बन उत्सर्जनमा कमी ल्याउन सकिन्छ भन्ने सन्देश छलफलले दिएको उनले बताए । त्यस्तै छलफलमा जलवायु परिवर्तनको असर पर्वतीय मुलुकमा मात्रै असर नपरी हिउँ पग्लिएर सुमुन्द्रमा पुग्दा तल्लो तटीय भू–भागमा रहेका देशहरूमा पनि असर पर्ने भन्दै यो विषयलाई त्यस्ता देशहरूले पनि अपनत्व लिनुपर्नेमा जोड दिइएको छ ।