दैलेखमा पेट्रोलियम पदार्थ खोजि अन्तिम चरणमा

दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणका लागि ड्रिलिङ शुभारम्भ गरिएको छ। केही दिन अगाडिबाट सुरु भएको ड्रिलिङ अब चार महिनाभित्र सम्पन्न हुने र कति पेट्रोल रहेको छ भन्ने पत्ता लगाउने बताइएको छ।

उक्त स्थानबाट पेट्रोलियम पदार्थ व्यावसायिक रूपमा उत्खनन गर्न सकिने या नसकिने निष्कर्ष पनि सँगसँगै निकालिने अधिकारीहरूले बताएका छन्। चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्वेले भौगर्भिक अध्ययन सम्पन्न गरेपछि चीनकै सीएनपीसी सीबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले दुई देशबीचको सम्झौता अनुसार सो ड्रिलिङ अघि बढाएको हो।

दैलेखसहित नेपालको तराई र सिवालिक क्षेत्रमा १० वटा सम्भावित पेट्रोलियम उत्खनन गर्न सकिने ब्लक निर्धारण गरिएको छ जसको क्षेत्रफल प्रतिब्लक करिब ५ हजार वर्ग किलोमिटर रहेको विवरण आएका छन्।

करिब २ साताअघि खानी तथा भूगर्भ विभागले चितवन र लुम्बिनी क्षेत्रमा अवस्थित दुईवटा ब्लकमा पेट्रोलियमको अन्वेषणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्पनीहरूलाई लक्षित गर्दै बोलपत्र आह्वान गरेको छ।