आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे, टर्यो अध्यादेशको डर

नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान(बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने जानकारी गराए ।

उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२:४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरेका छन् । सरकारले प्रमुख प्रतिपक्षी दललाई पेलेरै अघि बढ्ने नीति लिएसँगै अध्यादेशमार्फत बजेट आउने सम्भावना टरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सरकार पक्षले प्रतिपक्षीलाई पेलेरै नीति तथा कार्यक्रम पारित गर्यो । यस्तै चालू वर्षको आर्थिक सर्वेक्षण समेत प्रस्तुत गर्यो ।

जेठ १५ गते प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठक बोलाएसँगै प्रमुख प्रतिपक्षी दलसँग सम्झौता नभए पनि सरकारले पेलेरै आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्नेछ ।

सहकारी ठगी प्रकरणमा सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले निरन्तर संसद् अवरुद्ध गर्दै आइरहेको छ ।