सरकारले ल्याएको बजेटमा हरित कर भन्दै पेटृोल, डिजेलमा थप कर लगाउने भएको छ, पहिलेदेखि असुल्ने गरिएको यसको प्रदूषण करको के प्रयोजन भयो थाहा छैन । वतावरण विनाश पनि रोकिएको छैन । संसारमा विश्व वातावरण दिवस मनाउने प्रचलन बढेको छ । जुन ५ वा भनौँ जेठ २२ त विशेष चर्चा हुने दिन नै भयो । हामीले पनि मनाउँदै आएका छौँ भव्यै रुपमा । विगत ५० वर्षददेखि यसबारे विश्वको ध्यान बढी गएको हो । विगत ५० वर्ष यता मानव मात्रले पृथ्वीको दोहन १५ प्रतिशतले बढाएको र खाद्यान्न उत्पादनका लागि मात्र ३०० प्रतिशतले बढाइसकेको छ । १९९२ यता शहरीकरणको बृद्धि दोब्बरले बढेको छ भने १९७० यता काठको प्रयोग ४५ प्रतिशतले बढेकाले बन फडानीको क्रम उच्च छ । सन् १९८० देखि सन् २००० सम्ममा पृथ्वीको १ अर्व हेक्टर उष्ण प्रदेशीय वन नष्ट भैसकेको छ । विगत ३ शताब्दी यतादेखि सिमसारक्षेत्रको ८५ प्रतिशत भाग नष्ट भेसकेको छ भने पृथ्वीको झण्डै ७५ प्रतिशत भाग मानवले आप्नो अनुकुल हुने गरी प्रयोग गरिसकेको छ ।
जल, जंगल र जमीनको अधिक दोहनले मानिसको भावी दिन बढी कष्टकर हुने निश्चित छ । पृथ्वीको गर्भगृहमा दुईृ तिहाई पानी छ भने एक तिहाई भुभागलाई मानवले कृषि र पशुपालनमा उपयोग गरेको छ । जीवजन्तुको बासस्थानलाई विस्थापन गरेको छ भने बनस्पतिको अत्यधिक दोहन छ । सिमसार भनौँ नदी, वन, जलाशयको अतिक्रमणकै कारण आज मानव आका्रन्त बनेको छ । ध्वनि, वायु एवं जल प्रदूषणका कारण कडा रोगको उच्च जोखिममा छ आज आम मानव । अधिक कार्वनको उत्सर्जनले कडा रोगको उच्च जोखिममा पनि छ । नेपालको राजधानी काठमाडौँ शहर बस्ती बस्नु पूर्व यहाँ रहेको पानीलाई वरदा र मोक्षदा शक्तिको प्रयोग गरी चोभारको डाँडो काटी पानी बाहिर पठाई शहर बसालेको इतिहास सबैलाई जगजाहेर छ । भनिन्छ पानीको श्रोत मन पर्ने नेपालका अधिकाँशक्षेत्रमा हाल पनि नाग देवता विराजमान छन् । हाम्रो परम्परा, धर्म, संस्कृतिले पानी, वायु, जमीन स्वच्छ हुनु पर्छ भनेको छ, त्यसमा पनि हाम्रो दैवी भूमि हो र यहाँ स्वर्गका तमाम देवता बस्सछन् भनिन्छ र शास्त्रमा प्रदूषणलाई नै पाप भनेको छ ।
पानी प्रदूषित हुनुमा, पानीमा जलचर नपाइनुमा मानव निर्मित प्रदूषण कार्वन उत्सर्जन नै हो । वन जंगलले, पानीले, जमीनले, नदी, सिमसारले कार्वनलाई सोसेर लिन्छ । सबैभन्दा बढी कार्वन सोसेर लिने वन नै हो। वन, नदीनाला, सिमसारक्षेत्रको अतिक्रमणले मानव आफँ मृत्युको मुखमा परिरहेको छ, सिमसारमा बस्न रुचाउने प्राणीहरु अहिले संकटमा छन् । ताल, नदी, इनार, खोला, वन, जलाशयहरुको संरक्षण गर्ने काम स्थानीयकै हो, स्थानीय सरकारकै हो । तर स्थानीय सरकारहरु अहिले पिच गर्ने, ढुंगा छाप्ने, सडक चिल्लो गराउने काममा लागेका छन् र वन छेउछाउ डोजर कुदाउन थालेका छन्, खेत, बारीमा पनि डोजर कुदिरहेका छन् । हाम्रो भूमि दैवी र प्राकृतिक हो, अब बिस्तारै कृत्रिम हुँदेछ र अग्ला वन र पहाडलाई भ्यूटावरले विस्थापित गर्न लागेको छ । धान रोप्नु अघि गरिने खेतमा नाग पूजा हुन छोडेको छ र अनाज विदेशीको कोटामा परेको छ । नेपालको वार्षिक वर्षा क्रममा पनि व्यापक हेरफेर भइसकेको छ । लामो समय खडेरी पर्ने वा तीब्र वर्षा हुने क्रम देखा परेको छ । अहिले रात र दिन दुबैमा चिसो कम छ । १०० मि मि वा सोभन्दा बढी परिमाणमा पानी पर्ने दिनहरुको संख्या पनि बढ्दै छ । यता मुसलधारे वर्षा पनि धेरै देखिए । खण्ड वृष्टि, अतिवृष्टि र अनावृष्टिले हाम्रो मुलुक आक्रान्त भएको छ । पानी पर्ने समय र यसको अवधिमा परिवर्तन भएको छ । एकातिर हिमनदीहरु पातलिएका छन् भने अर्काेतिर हिमतालको आकार बढ्दै गएको छ हाम्रासामु अहिले । जलवायु परिवर्तनकै कारण कृषि, जलस्रोत, वन, जैविक, विविधता, मानव स्वास्थ्य, पर्यटन र समग्र पूर्वाधारमै प्रभाव पारेको छ । हिजोआज भूस्खलन, बाढी, पहिरो जस्ता प्राकृतिक दुर्घटनाबाट धनजनको ठूलो विनाश भएका उदाहरणले हाम्रा आँखा गलेका छन् । अतितदेखि वर्तमानसम्म आइपुग्दा तराई, पहाड र हिमाली क्षेत्रमा सबैतिर परेको असर र प्रभावको यकिन तथ्य समेत हामीकहाँ छैन भन्दा हुन्छ । बेमौसममा गुुराँस फुलेका उदाहरण हामीले देखिसकेका छौं । मानव जीवन प्रकोप प्रभावित हुने कारण पनि बेमौसमी प्रभाव नै हो ।
विकास निर्माण, बसाइ सराइ, औद्योगिकीकरण, सहरीकरण जस्ता पूर्वाधार, विकासका लागि हुन् विनाशका लागि होइनन् । प्राकृतिक क्षेत्रले भरिपूर्ण हाम्रो मुलुकले जलवायु परिवर्तनबाट हुन सक्ने लाभलाई लिन सक्नुपर्छ हानिलाई होइन । जलवायु परिवर्तन सम्बन्धी स्थलगत कार्यक्रमहरु गर्दा अत्यधिक खर्च स्थानीय त्यहींकै लागि गर्नु वेस हुन्छ । प्राकृतिक स्रोतको व्यवस्थापन जलवायुमैत्री हुनुपर्छ । पूर्वाधार विकासलाई जलवायु समयानुकुल बनाउन जरुरी छ । स्वच्छ र नवीकरणीय ऊर्जा विकास, कार्बन व्यापारमा कटौती र दिगो विकास तर्क अग्रसर हुन जरुरी छ । स्रोत व्यवस्थापन गर्दा भोलिको पुस्तालाई विर्सनु हुन्न । स्वच्छ ऊर्जा जलविद्युतका सम्भावना धेरै छ हामीकहाँ । पूनर्नवीकरणीय र वैकल्पिकऊर्जा, सोलार ऊर्जा वृद्धि गरी हरितगृह ग्याँसको उत्सर्जन न्यून गर्नु पर्दछ । हिमाल, पहाड, चुरे, तराई क्षेत्र, प्राकृतिक सम्पदाले भरिपूर्ण छन् तिनको सन्तुलित र गतिलो दोहन गर्न सकिन्छ । कुखुराको अण्डा दोहनगर्दा कुखुरै मर्ने गरी भने कतै दोहन गर्नु हुँदैन । बाँझो, छोडेको जमीन, पर्ती, बाढी पहिरोग्रस्त, भिरालो जमीनमा लाभदायक रुख विरुवा रोप्न सकिन्छ । प्रकोप व्यवस्थापन गर्न वीमा नीतिहरु तय गर्न सकिन्छ । वर्षाको पानी संकलन, मुहानको भरपूर संरक्षण, पर्यावरणीय सरसफाई, डढेलो नियन्त्रण, वन क्षयीकरणमा रोक, नदी किनारामा बस्ती विकासमा रोक, फोहोर मैलालाई स्रोतको रुपमा व्यवस्थापन गर्ने, प्रकोप नियन्त्रणका लागि पूर्व तयारी र समग्रमा इच्छा शक्ति नै आजको आवश्यकताको हो ।


















