आधुनिक नेपालको इतिहासमा यस्ता धेरै घटनाहरू पाइन्छन्, जसले नेपालको राजनीतिक प्रवाह नै परिवर्तन गराई दीर्घकालीन प्रभाव पारेका छन्। लामो रस्साकस्सी, घात–प्रतिघात, षड्यन्त्रकारी राजनीति र योजनाबद्ध आन्दोलन आदिबाट राजनीतिले कोर्स परिवर्तन गरेका धेरै घटनाहरूको साक्षी नेपालको इतिहास बनेको छ। तर, केही यस्ता घटनाहरू पनि छन् जुन कुनै पूर्वनियोजित योजना, दीर्घकालीन सङ्घर्ष वा लामो गृहकार्यबिना नै आकस्मिक रूपमा घटे। उदाहरणका लागि महाभूकम्पलाई लिन सकिन्छ। यस्ता प्राकृतिक विपत्तिले मुलुकमा दीर्घकालीन प्रभाव पारेको पाइन्छ। तर, आकस्मिक रूपमा घटेका र राजनीतिमा गहिरो छाप छोडेका तीन प्रमुख घटनाहरूको चर्चा यस आलेखमा गर्न खोजिएको छः
१. रणबहादुर शाहको हत्या
चौबिसी राज्यमध्येको कान्छो राज्य गोरखामा पृथ्वीनारायण शाहले विजय अभियान सञ्चालन गरी नव–नेपाल निर्माण कार्यको प्रारम्भ गरेका थिए। उनको सन् १७७५ मा मृत्यु भएपश्चात्, उनका छोरा प्रतापसिंह शाहले अढाई वर्ष मात्र शासन गरे। उनको २६ वर्षको उमेरमा १७७७ मा मृत्यु हुँदा उनका नाबालक रणबहादुर शाह नेपालका राजा हुन पुगे। यिनै राजाले आफैले राजपाठ सम्हालेको बेला अनेकौँ चर्तिकला गरी हुने–नहुने धेरै कार्य गरे। उनले विधवा कान्तिवतीसँग विवाह गरे र आफ्नो जेठो छोरो रणोद्योत हुँदाहुँदै उनै कान्तिवतीबाट जन्मेका गीर्वाणयुद्धलाई उत्तराधिकारी मात्र बनाएनन्, आफूले राज्य त्याग गरी श्री ५ समेत बनाए। राज्य त्याग गरेपछि उनी जोसमनी सन्तको मतअनुसार स्वामी महाराज कहलाए; तर कान्तिवतीको मृत्युपश्चात् ताण्डव प्रदर्शन गर्दै पुनः राजपाठ हत्याउन खोज्दा असफल भई बनारस पलायन भए।
स्वामी महाराजसँगै भीमसेन थापा पनि बनारस पुगेका थिए। यिनै भीमसेन थापाको योजना र चालअनुसार स्वामी महाराज नेपाल फर्की पुनः सत्ता कब्जा गर्न सफल भए। यस क्रममा दामोदर पाँडे लगायत केही भारदारले तुरुन्तै प्राणदण्ड पाए। यसपछि, रणबहादुर शाहलाई बनारसमा रोकिराख्न इस्ट इन्डिया कम्पनीसँग सन् १८०१ को सन्धि गर्ने पक्षधरहरूलाई के–कस्तो कारबाही गर्ने भन्ने विषयमा सबै उच्च भारदारहरूको कचहरी बस्यो। उक्त बैठकमा छलफल हुँदा रणबहादुर शाहले आफ्नै विमातृ भाइ शेरबहादुर शाहलाई षड्यन्त्रमा सामेल भएको शङ्का गरी सजाय दिने विचार गरे। यसबाट आवेशमा आई शेरबहादुर शाहले म्यानबाट तरबार झिकी तुरुन्तै रणबहादुर शाहको हत्या गरे। यस लगत्तै बालनरसिंह कुँवर (जङ्गबहादुरका पिता) ले शेरबहादुर शाहलाई पनि काटेर दुई टुक्रा पारे।
अचानक घटेको यस काण्डबाट भीमसेन थापाले आफ्ना विरोधी र सम्भावित सबै खतरालाई पन्छाउने प्रयत्न गरे। यस हत्याकाण्डमा अनेकौँ भारदारले ज्यान गुमाए भने कतिले विविध सजाय पाए। रणबहादुर शाहकी जेठी रानी राजराजेश्वरीलाई सती पठाउन बाध्य पारियो। यसैगरी चौतारा विदुर शाही, काजी त्रिभुवन प्रधान, काजी नरसिंह गुरुङ, पाल्पाली राजा पृथ्वीपाल सेन र रणबहादुर सेन लगायत १६ महिला र ७७ पुरुषले ज्यान गुमाए।
भीमसेन थापाले आफ्नी भतिजी ललिता त्रिपुरा सुन्दरीलाई राजा गीर्वाणको नायब बनाए। आफ्ना सबै शत्रुलाई पन्छाई उनले ३१ वर्षसम्म राज्यसत्ता एकछत्र आफ्नै हातमा लिए। भीमसेनकै कारण श्री ५ को हैसियत कम भई मुख्तियार (प्रधानमन्त्री) को बोलवाला हुने परिपाटी बस्यो र भारदारहरूमा षड्यन्त्रकारी राजनीति देखिन थाल्यो। ललिता त्रिपुरा सुन्दरी जीवित छउन्जेल भीमसेन थापाको रक्षाकवच भइरहिन् र कसैको केही जोड चलेन। तर, उनको मृत्युपछि राजा राजेन्द्रकी जेठी रानी साम्राज्यलक्ष्मीको समर्थन पाई पाँडेहरू अगाडि बढे र ’बाप–बैरी’ साध्न कम्मर कसे। यिनै पाँडेहरूको राजनीतिक प्रतिशोधका कारण अन्त्यमा स्वयं भीमसेन थापाले आत्महत्या गर्नुपर्ने स्थिति आयो। यस प्रकार रणबहादुर शाहको आकस्मिक हत्याबाट सुरु भएको षड्यन्त्रकारी राजनीतिले उग्र रूप लिँदै गयो; यथार्थमा भन्ने हो भने जङ्गबहादुरका ’राजनीतिक गुरु’ नै भीमसेन थापा हुन पुगे।
२. कोत पर्व
भीमसेन थापाको अवसानपछि राजा राजेन्द्र कमजोर हुँदा उनका दुई रानीहरू साम्राज्यलक्ष्मी र राज्यलक्ष्मीको महत्त्वाकाङ्क्षा बढ्न गयो। सुरुमा जेठी रानीको बोलवाला रह्यो भने कान्छी रानी पछि परिन्। यिनै साम्राज्यलक्ष्मीले रणजङ्ग पाँडे, रङ्गनाथ पौडेल र फत्तेजङ्ग शाह जस्तालाई प्रधानमन्त्री नियुक्त गर्ने र बर्खास्त गर्ने क्रम जारी राखिन्। उता जङ्गबहादुरको समर्थन युवराज सुरेन्द्रलाई हुँदा उनीहरूमा पनि शक्ति आर्जनको महत्त्वाकाङ्क्षा बढ्न थाल्यो। राज्यसत्ताको लुछाचुँडीका लागि विभिन्न गुट–उपगुटहरू सक्रिय रहे। यो सत्ता सङ्घर्ष र षड्यन्त्रकारी राजनीतिको चक्कर चलिरहेकै बेला साम्राज्यलक्ष्मीको मृत्यु भयो।
त्यसपछि कान्छी महारानी राज्यलक्ष्मी राजनीतिमा सक्रिय भइन्। राजा राजेन्द्रले आफ्ना अधिकारहरू उनैलाई हस्तान्तरण गरे। रानी राज्यलक्ष्मीदेवी युवराज सुरेन्द्रको सट्टा आफ्नै छोरा रणेन्द्रलाई राजा बनाउन चाहन्थिन्। विगतको इतिहासमा रणोद्योत शाह हुँदाहुँदै गीर्वाणयुद्ध राजा भएको घटनाबाट उनमा आफ्नो चाहना पूरा हुने मनोबल बढ्नु स्वाभाविकै थियो। आफ्नो इरादा पूरा गर्न उनले भारतमा निर्वासित जीवन बिताइरहेका माथवरसिंह थापालाई सम्झिइन्। भीमसेन थापाको पतनका बेला सबै थापा खलक र उनका निकटवर्तीहरूमाथि कारबाही हुँदा माथवरसिंह मुग्लान भासिएका थिए।
थापा पक्षधर बनेकी रानीले माथवरका सबै सर्तहरू मानी उनलाई प्रधानमन्त्री नियुक्त गरिन्। तर, माथवरसिंहबाट रणेन्द्रलाई राजा बनाउने सम्भावना नदेखेपछि रानीले जङ्गबहादुरद्वारा दरबारभित्रै उनको हत्या गर्न लगाइन्। माथवरसिंह थापा, जसले आफ्ना भान्जा वीरनरसिंह कुँवरलाई ’जङ्गबहादुर’ नाम दिएका थिए, उनकै हातबाट मारिए। माथवरसिंहको हत्यापछि गगनसिंह खवास र जङ्गबहादुर दुवै कान्छी रानीका प्रिय पात्र भई राज्य संयन्त्रमा हाबी भए। यस्तैमा सन् १८४६ सेप्टेम्बर १४ को रात पूजा गरिरहेका गगनसिंहको गोली हानी हत्या भयो। गगनसिंहको हत्याराका विषयमा विभिन्न मतहरू भए तापनि किटान गर्न सकिने स्थिति छैन। गगनसिंह र राज्यलक्ष्मीदेवीबीच विशेष सम्बन्ध भएकाले यस हत्याबाट रानी विक्षिप्त भइन् र दोषी पत्ता लगाउन सबै भारदारहरूलाई कोतमा भेला हुन धरहराबाट बिगुल फुकाउन लगाई आदेश दिइन्।
सबै भारदारहरू कोतमा जम्मा भए। जङ्गबहादुर र उनका भाइहरू पनि पूर्ण तयारीका साथ हातहतियारसहित कोतमा पुगेका थिए। महारानीले गगनसिंहको हत्यारा पत्ता नलगाई पानी समेत नखाने कठोर प्रण गरेकी हुँदा, हत्या कसले गरेको हो भन्ने विषयमा ठूलो खैलाबैला सुरु भयो। भारदारहरूबीच एकले अर्कोलाई आरोप–प्रत्यारोप लगाउन थाले, जसले गर्दा अन्ततः मार्काटको स्थिति सिर्जना भयो।
कतिपयले वीरकिशोर पाण्डेउपर शङ्का गरे भने कतिले जङ्गबहादुरलाई नै गगनसिंहको हत्यारा ठाने। यसबाट स्थिति झन् विकराल बन्यो र सबैजना एकअर्कामाथि जाइलागे। जङ्गबहादुर आफ्ना भाइहरू र मातहतका सेनासहित व्यवस्थित रूपमा उपस्थित भएकाले उनले यस परिस्थितिको पूर्ण फाइदा उठाए। उनले विपक्षी राजपरिवारका सदस्य र अन्य उच्च भारदारहरूलाई एकै चिहान बनाए।
यस भीषण हत्याकाण्डमा प्रधानमन्त्री चौतरिया फत्तेजङ्ग शाह र उनका छोरा खड्गविक्रम शाहलगायत अन्य चौतरियाहरू, पाँडेहरू र थापाहरू गरी ३१ जनाको कोतमै बध गरियो। यसै घटनाको चपेटामा परी तीन जना ब्राह्मणहरूको चार पाटा मुडियो भने पाँच भारदारलाई सपरिवार निष्कासित गरियो। अन्य २० जनालाई देश निकाला गरियो भने २७ जनाले भागेर ज्यान जोगाए।
कोत पर्व कुनै पूर्वयोजना अनुसार रचिएको षड्यन्त्र थिएन। गगनसिंहको हत्यारा पत्ता लगाउने रानी राज्यलक्ष्मीदेवीको आदेश अनुसार कोतमा भेला भएका भारदारहरूबीच हानाथाप हुँदा उक्त विध्वंस मच्चिएको थियो र जङ्गबहादुरले त्यस परिस्थितिलाई आफ्नो अनुकूल बनाएका थिए। कोत पर्वपछि प्रधानमन्त्री हुन पुगेका जङ्गबहादुरले रणेन्द्रलाई राजा बनाउने छाँट नदेखेपछि, रानीले उनलाई भण्डारखालमा बोलाई हत्या गर्ने योजना बनाइन्। तर, उक्त योजनाको सूचना जङ्गबहादुरले पण्डित विजयराजबाट अगाडि नै पाए। त्यसपछि जङ्गबहादुरले राज्यलक्ष्मीदेवीलाई कारबाही गरी बनारस निर्वासनमा पठाए; रानी बनारस जाँदा राजा राजेन्द्रले पनि उनैलाई पछ्याउँदै गए।
बनारस पुगेपछि केही निर्वासित भारदारहरूसँग मिलेर जङ्गबहादुरबाट सत्ता खोस्ने प्रपञ्च गर्दा ’अलौ पर्व’ मार्फत स्वयं राजा राजेन्द्र पदच्युत हुन पुगे। यसरी जङ्गबहादुरले कोत पर्वबाट सबै उच्च पदस्थ विरोधी भारदारहरूलाई सखाप बनाए, भण्डारखाल पर्वबाट लक्ष्मीदेवीलाई निर्वासित गरे भने अलौ पर्वबाट राजाको अधिकार खोसे। यी सबै महत्त्वपूर्ण राजनीतिक काण्डहरू सन् १८४६ (वि.सं. १९०३) भित्रै घटेका थिए। अन्ततः राजा सुरेन्द्रलाई आफ्नो बसमा पारेर श्री ३ महाराज र प्रधानमन्त्री पद राणा परिवारमा नै सीमित गरी जङ्गबहादुरले जहानियाँ निरङ्कुश राणा शासनको सूत्रपात गरे। यसपछि १०४ वर्षसम्म नेपालको शासनमा श्री ३ नै सर्वेसर्वा भए र श्री ५ ’खोपीका देवता’ सरह हुन पुगे। यस प्रकार, आकस्मिक रूपमा घटेको कोत पर्व नेपालकै सबैभन्दा सङ्गीन र युगान्तकारी घटनाहरूमध्ये एक साबित भयो।
३. दरबार हत्याकाण्ड
नारायणहिटी दरबारमा विगतमा धेरै हत्याकाण्डहरू भए, जसमध्ये कतिपय योजनाबद्ध थिए भने कति थिएनन्। वि.सं. २०५८ को काण्ड चाहिँ आकस्मिक थियो। यसअघि नारायणहिटीमा लिच्छवी राजा धर्मदेव र श्री ३ रणोद्दीप सिंहको हत्या योजनाबद्ध रूपमा गरिएको थियो। २०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारमा श्री ५ महाराजाधिराज वीरेन्द्र, बडामहारानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमारी श्रुति र अधिराजकुमार निराजनसहित शाही नातेदारहरू नियमित शुक्रबारे रात्रि सहभोजमा सम्मिलित थिए। उक्त भेलामा युवराज दीपेन्द्रले स्वचालित हातहतियारबाट गोली चलाई परिवारको हत्या गरेको भन्ने आधिकारिक निष्कर्ष छ।
त्यस दिन अचानक दीपेन्द्रले आफ्ना मातापिता, बहिनी, भाइ र काका धीरेन्द्र लगायतका सदस्यहरूलाई एकै चिहान बनाए। त्यस कहालीलाग्दो घटनामा दीपेन्द्रकी काकी कोमल र अधिराजकुमार ज्ञानेन्द्रका छोरा पारस भने बच्न सफल भए। यो घटना एक्कासि किन भयो भन्ने विषयमा धेरै जनश्रुति र तर्कवितर्क आएका छन्। दीपेन्द्रले आफैँलाई गोली हानी घाइते बनाएको र केही दिनपछि अस्पतालमा उनको मृत्यु भएको थियो। दीपेन्द्रको विवाह सम्बन्धी विवाद, मानसिक तनाव र मादक पदार्थको सेवनका कारण उक्त दुःखान्त घटना भएको हो भन्ने सरकारी छानबिन समितिको निष्कर्ष रहेको थियो।
तर, यस घटनाका विषयमा धेरै पृथक् विचार र षड्यन्त्रका सिद्धान्तहरू पनि बाहिर आएका छन्। यसमा कति सत्यता छ, त्यो त इतिहासको गर्भमै लुकेको छ। उक्त रात्रिभोजको समयमा अधिराजकुमार ज्ञानेन्द्र काठमाडौँबाहिर किन थिए र कोमल तथा पारस किन उक्त चपेटामा परेनन् भन्ने जस्ता अनेकौँ प्रश्न र तिनका उत्तरहरू आएका छन्। जे–जस्तो र जसको कारणबाट उक्त काण्ड भएको भए तापनि, सो आकस्मिक घटनाले नेपालको राजनीतिमा ठूलो तरङ्ग ल्यायो।
वि.सं. २०२८ सालमा श्री ५ महेन्द्रको निधनपछि राजा भएका वीरेन्द्रको शालीन, सरल र सुमधुर बोलीवचनबाट सबै प्रभावित थिए। “जनतालाई खुला क्षेत्रमा रमाउन दिनुपर्छ“ भन्ने उनको मान्यता थियो। तर, शाही परिवारकै कतिपय सदस्यहरूबाट उनको यस्तो उदारवादी दृष्टिकोणमा सहयोग नमिलेको चर्चा हुने गर्दथ्यो। भनिन्छ कि, २०३६ सालको जनमत सङ्ग्रहको घोषणा र २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनर्बहाली गर्दा समेत दरबारिया शक्तिहरू प्रसन्न थिएनन्। संवैधानिक राजाका रूपमा रहँदा उनमा कुनै तुस वा असन्तुष्टि देखिएको थिएन। २०४६ पश्चात् नेपालको राजनीतिले अपेक्षानुरूप गति लिन नसकेकोमा उनी सन्तुष्ट त थिएनन्, तापनि २०४७ को संविधानको मर्मविपरीत उनी कहिल्यै उभिएनन्। माओवादी आन्दोलनबाट मुलुकले भोगेको शास्तिप्रति उनी निकै चिन्तित थिए भन्ने कुरा उनीसँग निकट रहेर काम गर्ने व्यक्तिहरूको धारणाबाट स्पष्ट हुन्छ।
राजा वीरेन्द्रको वंशनाश भएपछि, राजगद्दी उत्तराधिकारको नियमअनुसार अधिराजकुमार ज्ञानेन्द्र शाह राजा हुन पुगे। गोर्खाको शाहवंशीय राजपरम्परामा दाजुबाट भाइमा शासन हस्तान्तरण भएको यो दोस्रो ऐतिहासिक घटना थियो। ज्ञानेन्द्र अनुदार स्वभाव र व्यापारिक मनोवृत्तिका व्यक्ति हुन् भन्ने चर्चा चलेका कारण नेपाली जनमानसले उनलाई राजाका रूपमा स्वीकार गर्न कताकता असहज मानेका थिए। राजदरबार हत्याकाण्डमा उनको भूमिकाका विषयमा अनेकौँ टीका–टिप्पणी नभएका होइनन्, तर असहजताका बाबजुद पनि उनलाई राजा स्वीकार्नुपर्ने संवैधानिक बाध्यता बन्यो।
श्री ५ ज्ञानेन्द्र राजा भएपछि नेपालको समकालीन अस्थिर राजनीति र दलहरूबीचको आन्तरिक सङ्घर्षका कारण उनमा शक्ति हातमा लिने महत्त्वाकाङ्क्षा जाग्यो। उनी ’महेन्द्रपथ’ मा अग्रसर हुँदै मुलुकको राज्यसत्ता आफ्नै हातमा लिन पुगे। उनको यस कदमले माओवादीसहित सबै राजनीतिक पार्टीहरूलाई एकजुट बनायो र आन्दोलन थप चर्कियो। अन्तर्राष्ट्रिय जगत्मा समेत राजाको यस कदमको स्वागत भएन। अन्ततः २०६२/६३ को ऐतिहासिक जनआन्दोलनले राजालाई घुँडा टेकायो र विघटित संसद् पुनःस्थापना भयो। संसद् पुनःस्थापनापछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए र माओवादीहरू पनि शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा आए। अन्तरिम संविधान जारी भयो र दुई पटकको प्रयासपछि संविधानसभाको निर्वाचन सम्पन्न भयो। संविधानसभाको पहिलो बैठकले २८ मे २००८ (१५ जेठ २०६५) का दिन नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गर्दै राजतन्त्र समाप्त भएको घोषणा गर्यो। यस प्रकार, राजदरबारको त्यस भीषण र आकस्मिक हत्याकाण्डबाट राजा बनेका ज्ञानेन्द्र र उनकै राजनीतिक कदमका कारण नेपालबाट २४० वर्ष लामो शाहवंशीय राजतन्त्र सदाका लागि बिदा भयो।
उल्लिखित तीन प्रमुख ऐतिहासिक घटनाहरूको आधारमा विश्लेषण गर्दा, हालैको ’जेन्जी’ (Gen Z) आन्दोलन आकस्मिक घटना हो वा होइन भन्ने विषयमा अहिल्यै कुनै ठोकुवा गर्न कठिन छ। यस आन्दोलनले पारेको प्रभाव र यसको दूरगामी परिणामको सन्दर्भमा अहिले नै पूर्वानुमान गर्न सहज छैन; त्यो त भविष्यको गर्भमै छ र समयले नै यसको सही मूल्याङ्कन गर्नेछ।
अस्तु।


















