शीर्ष तीन नेताको बैठकको अन्तर्य

आपसमा पानी बारबारको अवस्थामा रहेको तीन दलका तीन शीर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी ओली २१ जेष्ठ २०८१ मा अचानक एक ठाउँमा भेला भए । बाहिर समसामयिक विषयमा छलफल भएको सन्देश प्रवाह गरिए पनि यसको अन्तर्य अरु नै रहेको विश्लेषकहरुले बताउन थालेका छन् । विश्लेषकहरु अनुसार आज जुन ४ गते भारतमा लोकसभा निर्वाचनको मत परिणाम घोषणा हुँदैछ । सम्भवत भारतमा तेस्रो पटक पुनःभारतीय जनता पार्टीले बहुमतको सरकार बनाउने विभिन्न प्रक्षेपणले देखाइसकेको छ । सुरुवाती मतगणनाको रुझान पनि भाजपाको स्पष्ट बहुमतको सरकार बन्नेतर्फ नै देखिन्छ ।

प्रश्न खडा हुन्छ, भारतमा भाजपाको सरकार बनिरहदा नेपालका नेताहरुको सातो किन गएर एकाएक छलफलमा जुट्नु परेको होला ? यो विश्लेषण पछाडी केही तथ्यगत विवरणहरु रहेका छन् । प्रथमत ! भाजपा हिन्दु राष्ट्रवादी छवि बोकेको दल हो, जसले स्थापनाको सुरुवाती चरणदेखि नै हिन्दुत्वको नारा उजागर गर्दै आइरहेको छ । भाजपा सरकारले राम जन्मभूमि विवादमा विजय हासिल गरी आयोध्यामा राम मन्दिर निर्माणमा अहम् भूमिका निर्वाह गर्यो । हिन्दु धर्मप्रति आस्थावान भारतीयहरुले यस कार्यको प्रशंसा मात्र गरेनन उनीहरुले भाजपालाई विजयी बनाउन मतदान नै गरे, जो मत परिणाममा देखिएको छ । विश्लेषकहरु भन्छन, अब भाजपासँग भारतमा हिन्दुत्वको पक्षमा काम गर्नुपर्ने खासै विषय रहेन र उसको ध्यान २०६३ अघिसम्म हिन्दु राष्ट्रको रुपमा रहेको नेपालमा हिन्दुत्वको पुनस्र्थापनमा केन्द्रित रहने छ ।

त्यस्तै, ओली नेतृत्वको सरकारले भारतका धर्म निरपेक्षवादीलाई सहयोग गर्न रणनैतिक हिसाबले आयोध्या नेपालको ठोरी आसपास पर्छ भनि भाजपाबाट आयोध्याको मुद्दा विस्थापित गर्ने प्रयास गरेको थियो । ओलीको रणनैतिक कार्य देखावटी रुपमा राष्ट्रियताको पक्षमा रहेपनि यसको अन्तर्य राम जन्मभूमी विवादलाई विषयान्तर गर्न गरिएको प्रयासको रुपमा भाजपा र नरेन्द्र मोदी सरकारले बुझ्यो । त्यसैगरी, भाजपा र नरेन्द्र मोदीलाई कमजोर गर्न चुच्चे नक्शा विवादको सृजना गरियो, अझ पुष्पकमल दाहाल नेतृत्वको सरकारले त भारतीय लोकसभा निर्वाचनको पूर्व सन्ध्यामा नेपाली सय रुपैयाँ नोटमा चुच्चे नक्शा छाप्ने निर्णय गरेर भाजपालाई घेर्ने र धर्मनिरपेक्षवादीलाई सहयोग गर्ने उद्देश्यले रणनैतिक रुपमा नक्शा छाप्ने कार्य गर्यो । पुष्पकमल नेतृत्वको सरकारले देशभित्र राष्ट्रियताको मुद्दा स्थापित गर्न लागेको देखाउन खोजे पनि यसको वास्तविकता भारतमा भाजपालाई कमजोर बनाउन खोजिएको प्रयासको रुपमा नरेन्द्र मोदी सरकार र भाजपाले बुझेको विश्लेषकहरुको ठम्याई छ ।

यसरी भारतको लोकसभा निर्वाचनको मत प्रक्षेपणले त्रसित ओली, शेरबहादुर र पुष्पकमल दाहाल भाजपा नेतृत्वमा बन्ने सरकारको सम्भावित रणनीति के हुन सक्छ र त्यसलाई प्रतिकार गर्न विशेषतः धर्मनिरपेक्षताको वकालत गर्ने पश्चिमी मुलुकलाई गुहार गरी सत्ता जोगाउन माथापिच्ची गरेका हुन भन्ने पछिल्लो विश्लेषण गरिएको छ । समग्रमा भारतमा भाजपा नेतृत्वको सरकार बन्ने भएपछि नेपालमा त्यसको असर कस्तो पर्ने हो ? यसले सरकार मात्र परिवर्तन गराउँछ कि महान उपलब्धि भनिएको संघीय लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्रलाई नै हल्लाउने छ, समयले देखाउने नै छ ।