काभ्रेको रोशी गाउँपालिका, सिपालीमा रहेको बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा पक्राउ परेकालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । एक जनालाई भने प्रहरीले करिब एक महिना हिरासतमा राखेर छाडेको छ ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकले घटनाका मुख्य योजनाकार सिजन भन्ने मानबहादुर तामाङ र पार्टीगत जिम्मेवारी लिने विश्वनाथ चौधरीलाई कारागार पठाउने आदेश गरेको छ । उता जिल्ला प्रहरी कार्यालय, काभ्रेले विष्फोटक पदार्थ, अपराधिक गतिविधि र संगठित अपराधको कसूरमा संलग्नता पुष्टि नभएको भन्दै प्रभात भनिने दुर्गाबहादुर तामाङलाई छाडेको छ ।
प्रहरीका अनुसार रुख काटेर विनाश गर्ने योजना बनाएका मानबहादुरको योजनामा सागर भनिने रामकृष्ण मैनाली, विजय हुमागाई, असल मोक्तान र अजय भनिने रामजी श्रेष्ठ सहभागि थिए । जिल्ला सरकारी वकीलको कार्यालयले ५४ करोड ९९ लाख ७ सय ८० रुपैयाँ क्षतिपूर्ति मागदाबी गरि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अभियोग दर्ता गरेको थियो ।
काभ्रेपलान्चोक जिल्ला अदालतको निर्णय चित्त बुझ्दो नआएको भन्दै उक्त निर्णयविरुद्ध माथिल्लो निकायमा जाने जाहेरवाला समिप त्रिपाठीले जनाएका छन् । यतिबेला पुर्पक्षमा रहेकाहरुलाई हाजिर जमानिमा छुटाउनुपर्छ भन्दै काभ्रेका कतिपय नेताहरु विभिन्न नेताहरुको घरमा भेटघाट गरिरहेको अनुमान केहीको छ ।


















