यही जेठ शुक्लपक्ष प्रतिपदा भनौँ जेठ २५ गतेदेखि गंगा दशहरा आरम्भ भएको छ । यसै असार २ गतेसम्म रहने यो १० दिने विशेष पर्वलाई दशहरा भनिन्छ र मूल पर्व भनेको शुक्ल दशमी नै हो । यतिबेला नेपालका तमाम तीर्थक्षेत्रमा स्नान गर्नेहरुको भीड नै हुन्छ । रसुवाको प्रसिद्ध तीर्थस्थलमा १० दिन नै विशेष भीड हुने गरेको छ । गोसाइँकुण्डको संक्षिप्त चर्चा गर्ने यो लेखको आशय छ ।
समुद्भूता त्रिशूलात्मा त्रिधारा गाढशोभना ।
तस्मात् त्रिशूलगङ्गेति समाख्याता सुरासुरै : ।।
त्रिशूलरोपणाच्छिद्रं गङ्गा तत्रापि चोद्भवा ।
ययौ गङ्गा सुखं रुद्र: परिश्रमं तदा जहौ ।।
(– हिमवत्खण्ड, नेपालमाहात्म्य)
रसुवाक्षेत्रमा पर्ने गोसाइँकुण्ड नेपालको प्रसिद्ध देवस्थल हो । चर्चित त्रिशूलीनदीको उद्गमस्थल गोसाइँकुण्ड काठमाडौँंबाट झण्डै १४० कि.मि. उत्तर रसुवाको धुन्चे बजारबाट पूर्व दक्षिण लेकमा पर्दछ । झण्डै साँढे चार हजार मिटरको उचाइमा रहेको यो क्षेत्रमा धेरै जलाशय,कुण्डहरूछन् । सत्ययुगमा देवता र दानवहरूका बीच वैरभाव थियो तर पनि गुमेका बस्तुहरू प्राप्ति गर्न आपसी मित्रता पनि राख्थे । क्षणिक सम्झौताका आधारमा समुद्रका गर्भमा रहेका हीरा, मोती, दिव्य रत्नहरूको खोजी कार्य एक्लै सम्भव थिएन । समुद्रमथन गरेर समुद्रबाट प्राप्त भएका विषयहरू आपसमा मिलेर बाँढेर लिने सम्झौता भएअनुसार देवता र दानवहरू समुद्रमन्थन गर्न लागे । समुद्रमन्थन गर्दै जाँदा कामधेनु गाई, कल्पवृक्ष, महालक्ष्मी एवं अमृत तत्व समेत प्राप्त हुन थाल्यो । समुद्रमन्थनकै क्रममा सँंसारलाई दग्ध गर्ने कोलाहल, कालकूट विष पनि निस्क्यो । देवताहरूले महादेवलाई प्रार्थना गर्दा महादेव उपस्थित भएर कालकूट विष पान गर्नुभयो । पूरै निल्यो भने महादेवका हिर्दयमा भएका श्रीनारायणलाई गाह्रो पर्ला भनी भगवान् शङ्करले आफ्नो घाँटीमै राख्नुभयो । विषको कारण उहाँको घाँटी शोभायमान नीलो त भयो तर नीलकण्ठ भगवान्लाई विषको कारण छट्पटी भएकाले चिसोक्षेत्र कैलाशतर्फ जान लाग्दा बाटामा विश्राम गर्नुभयो । पानी पिएर मात्रै आपूm अगाडि बढ्ने क्रममा आफ्नो आयुध त्रिशूललाई हिमालको चट्टानमा गाड्दा गङ्गाझँैं नदीका तीनवटा धाराहरूको उत्पत्ति भयो र तीनतिर पानी बहन लाग्यो ।
त्रिशूल गाड्दा उत्पत्ति भएको पानी पिएर आफ्नो छट्पटीलाई केही शान्त पारेका शिवजी नजिकै एउटा जलकुण्डको पनि उदय भयो । शिवजीबाट उदय भएको जलले पूर्ण भएको ताल गोसाइँकुण्डको नामले परिचित भयो । यही जलकुण्डबाट बगेकी नदीलाई त्रिशूली नदी भनिन्छ । ‘गो’ भनेको इन्द्रिय हो । स्वामी भनेको मालिक हो । इन्द्रियलाई जित्न सक्ने श्रीशिव हुनुहुन्छ, जसलाई जितेन्द्रिय भनिन्छ । इन्द्रियहरूमाथि विजय प्राप्त गर्ने व्यक्ति महर्षि, महात्मा देवतुल्य हुन्छन् । इन्द्रियमाथि विजय पाएका शिवलाई गोस्वामी भन्ने क्रममा अपभ्रंश भै गोसाइँ हुन गयो । शिवबाट कुण्ड तयार भएकाले ‘गोसाइँकुण्ड’ हुनपुग्यो । अनेकौंँ कुण्डमध्ये गोसाइँकुण्ड निकै रमणीय छ । आकारमा धेरै ठूलो नभए पनि गहिराइ धेरै छ । पूर्व–पश्चिम लाम्चो आकार भएको यो कुण्डमा डुबुल्की मार्दा शिव पार्वती प्रत्यक्ष दर्शन मिल्ने कुरा तीर्थयात्रीहरू अझै पनि बताउँछन् । केही चुच्चो परेर रहेको देखिने यो कुण्ड मूलत: गोलाकारकै छ । कञ्चन पानी दक्षिणतिर खस्छ । वरिपरिको वातावरण शान्त, शीतल र रमणीय छ । केही जाडो महसुस हुने यो क्षेत्रमा स्वास–प्रस्वासको लागि अक्सिजन कमी भएको महसुस पनि हुनसक्छ ।
अग्ला हिमालयका काखमा रहेको गोसाइँकुण्ड प्राकृतिक दृष्टिले निकै रमणीय छ । स्वयं शिवलाई अति प्यारो लागेको सुन्दर यो क्षेत्रमा शिवजी सदैव रहने प्रण गर्नुभयो, कैलाशतर्फ जान भुल्नु भयो भनिन्छ । दिव्य सय वर्षसम्म महादेव विराजमान् रहनु भएको यो कुण्डलाई ‘नीलकण्ठह्रद’ पनि भनिन्छ ।
ह्रदमध्ये ततो रुद्र : प्रविश्य चातिहर्षित: ।
अशयिष्ट सुखात्तत्र वहुशीतजलोत्तमे ।।
दिव्यवर्षशतं व्याप्य सुष्वाप च सुखं विभु : ।।
उमामहेशयोर्मूर्ति : प्रत्यक्षं तज्जले मुने ! ।।
भुक्ति–मुक्तिप्रदा साक्षात् स्नातकेभ्यो ददाति तत् ।।
(–नेपालमाहात्म्य, हिमवत्खण्ड)
दिव्य सय वर्षसम्म शिवजी विराजमान रहनुभएको यस कुण्डमा स्वयं पार्वतीले स्नान गरेर शिवसँग यहीँ विराजमान गर्ने निधो गर्नुभयो । शिव र शक्तिको संयुक्त साधना गर्न चाहनेले यस कुण्डमा स्नान गरी पितृहरूलाई तर्पण समेत दिने गर्छन् । स्नान गर्दागर्दै कुण्डको बीचभागमा पहेँलो पिताम्बरधारी जटा–मुकुटयुक्त श्रीशिवको दर्शन मिल्छ । कुण्डको जल निकै चिसो छ र पनि ग्रीष्म ऋतुमा गोसाइँकुण्डमा डुबुल्की मार्न सकिन्छ । भुक्ति र मुक्ति दुबै चाहने साधकहरू कठोर तपस्या (परिश्रम) गर्दै यहाँ पुग्छन् । काठमाडौँंको सुन्दरीजलबाट हिँंडेर पनि त्यहाँ पुग्न सकिन्छ । काठमाडाँैं–नुवाकोट–त्रिशूली हुँदै रसुवाको धुन्चेसम्म सवारी साधनमा गएर रातमा धुन्चे बास बसी भोलिपल्ट बिहान चन्दनबारी हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ । तर पैदल हलुका हिंँड्न चाहनेले एकदिन र आधा लगाएर कुण्डमा पुग्न बढी उत्तम हुन्छ । गोासाइँकुण्ड वरिपरि अरु पनि धेरै कुण्डहरू छन् । गणेशकुण्ड, नागकुण्ड, सरस्वतीकुण्ड, दूधकुण्ड आदि । सूर्यकुण्ड, भैरवकुण्ड अलिकमाथि रहेको छ । जेठ, आषाढ, श्रावणमास यहाँ जानक ालागि उत्तम महिनाहरू हुन् । ऋषितर्पणी अर्थात् रक्षावन्धन, जनैपूर्णिमामा यहाँ भव्य मेला लाग्छ । तीर्थयात्रीहरूको विशेष घुइँचो
हुन्छ । जेठमास दशहराको समयमा पनि विशेष भीड लाग्छ । कुण्डको उत्तरतर्फ केही स–साना मन्दिरहरू छन् । शिवलिङ्गसहित देवदेवीका मूर्तिहरू पनि देखिन्छन् । भक्तहरू कुण्डस्नान पछि यहाँ दर्शन, रुद्रीपाठ आदि गर्ने गर्छन् । बाटामा गुम्बाहरूकोसमेत दृश्यावलोकन गर्दै हिमालीक्षेत्रको अनुपम र ताजा अनुभव बटुल्दै गोसार्इँकुण्डको यात्रा गर्न निकै रमणीय हुन्छ ।


















