धनको लोभमा चिनियाँसँग बिहे, चीनमा श्रीमानले नै लगाए जबर्जस्ती बेश्यावृत्तिमा, सजाय भोग्दै मनमाया

कक्षा १२ पास गरेपछि कमाउँदै पढ्न चाहन्थिन्, ‘बबरमहल २८८’ । कारण, उनको घरको आर्थिक अवस्था दयनीय थियो । सोहीअनुसार उनी काठमाडौंको ठमेलस्थित एक क्याफे र किचनमा सहायकको रूपमा काम गर्दैथिइन् । प्रसङ्ग, २०७९ को चैतको हो । घर चाहिँ उनको नुवाकोट हो । मनमायाँ घले उनको गाउँले दिदी हुन् । उनीसँग कहिलेकाहीँ फोनमा कुराकानी हुन्थ्यो । उनीहरूबीच घरिघरी भेटघाटसमेत हुन्थ्यो । यत्तिकैमा २०७९ को चैत पहिलो साता उनै मनमायाको फोन आयो । र, फोनमा भनिन्, ‘बिहे गर्नु ल । केटा राम्रो छ, चाईनिज हो । हाम्रो गाउँको धेरैले चाईनिजसँग विवाह गरिसके ।’

‘बबरमहल २८८’ले त्यसबेला अस्वीकार गर्दै भनिन्, ‘अहिले बिहे गर्दिनँ, पढ्दै छु जागिर खाएपछि मात्र बिहे गर्छु ।’ लगत्तै मनमायाले थपिन्, ‘बिहे गरेर गएको ५ वर्षभित्र ग्रिनकार्ड मिल्छ, केटा राम्रो धनी पनि छ, नेपाल आउने जाने गर्न मिल्छ ।’

केटा धनी भएको र नेपाल आउन जान मिल्छ भन्ने मनमायाको कुराले उनी प्रलोभित भइन् । किनभने उनी गरिब परिवारकी हुन् । तर, पनि बिहे गर्न उनी अनिर्णित रहिन् । मनमायाले एकपटक केटा हेर्नु, चित्त बुझे मात्र कुरा अगाडि बढाउँला भनिन् । त्यसका लागि ठमेलको नर्सिङचोकमा रहेको एक होटलमा बोलाइन् । उनी गइन् । त्यहाँ चिनियाँ नागरिक क्विङ ताई आएका रहेछन् । जुन बिहे गरेर लाने चिनियाँ नागरिक भने होइनन् । प्रहरी अनुसन्धानको क्रममा खुलेअनुसार उनी नेपाली युवतीहरूलाई चिनियाँ नागरिकसँग विवाह गराएजस्तो गरेर चीन पठाउँदै बेश्यावृत्तिमा लगाउने आपराधिक कृत्यको एजेन्ट हुन् ।

त्यसबेला ‘बबरमहल २८८’ लाई ताईबारे थाहै भएन । उनै एजेन्ट भन्ने खुलेका ताईले बिहे गर्ने भन्ने चिनियाँ नागरिक मिङ झोङक्वीलाई भोलि बोलाउने भने । त्यही दिन भने उनको आमालाई चाहिँ बोलाए । आमाले ‘बबरमहल २८८’ को फोटो मोबाइलले खिचेर गइन् । भोलिपल्ट आफ्नो छोराले मन पराएको भन्दै मनमायालाई खबर पठाइन् । मनमायाले ‘बबरमहल २८८’ लाई सोही खबर सुनाइन् । त्यसपछि ताईको नर्सिङचोक नजिकै रहेको एक कोठामा भेटघाट भयो । त्यसक्रममा ‘बबरमहल २८८’लाई बिहे गर्ने भन्ने चिनियाँ नागरिक मनपर्‍यो । अनि, मनमायाले बिहे दर्ता अदालतमा गर्नुपर्ने सुझाइन् ।

सोहीअनुसार काठमाडौं जिल्ला अदालतमा उनीहरूको विवाह दर्ता १३ चैत २०७९ मा भयो । नयाँ वर्ष अर्थात् १ वैशाख २०८० मा भने मनमाया घले, ‘बबरमहल २८८’ र मिङ झोङक्वी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चीनको हेबाई प्रान्तको सियाङ्दु जिल्लाको सियाङताई सहर पुगे । जहाँ मिङ झोङक्वीको घर हो । त्यहाँ पुगेपछि मनमायाले ‘बबरमहल २८८’लाई छाडिन् र अर्कै सहर गइन् । यता घरमा १०/१२ दिनसम्म ठिकै थियो । अनि, मिङ झोङक्वीको व्यवहारमा परिवर्तन आयो । यतिसम्मकी, यता नेपालको नुवाकोटस्थित घरमा रहेका बुबाआमा र दाजुभाइसँग बोल्न दिन छाडे ।

घरबाहिर जाँदा ढोका थुनेर हिँड्न थाले । पीडित ‘बबरमहल २८८’ का अनुसार उनलाई खानसमेत नदिने, मोबाइल खोस्ने, लामो समय उत्तेजित औषधी सेवन गरेर चिमोट्दै, घाँटी पनि न्याक्दै दिनमा ५/६ पटक यौन सम्पर्क गर्न थाले । घरका अन्य सदस्यले पनि माया गरेनन् । केही दिनपछि त आफूलाई घर नजिकैको सानो झुपडीमा राखे । ‘बबरमहल २८८’ भन्छिन्, ‘त्यहाँ पुरुषहरूसँग पैसा लिई बेश्यावृतिको काममा लगाए । त्यसबेला मैले इन्कार गर्दा जे भन्छु त्यही गर, नत्र यतै मारेर फाली दिन्छु भन्दै धम्क्याए । मलाई दिनको ८/१० जना केटासँग जबर्जस्ती यौन सम्पर्क राख्न लगाए । जीवनदेखी हार खाएर आत्महत्या गर्ने सोच बनाएँ । ब्लेडले बायाँ हात काटेँ । नेपाल पठाइदिनु भनेँ । तर, मनमाया घलेसँगै लाखमा खरिद गरेको हो, मैले जे भन्छु, तैँले मान्नु पर्छ भन्दै उल्टै यातना दिए ।’

‘बबरमहल २८८’ को फुपूकी छोरी राधिका तामाङ हुन् । उनको साथी सरिता तामाङ चीनमै थिइन् । एकदिन बिशेषले मिङ झोङक्वी घरबाहिर गए । त्यही मौकामा सरितालाई फोन गरिन् र आफू पनि चीनमा रहेको तर दैनिक यातना दिँदै जबर्जस्ती बेश्याबृत्तिमा लगाएकोले उद्धार गरी नेपाल फिर्ता गरिदिन अनुरोध गरिन् ।

सरिताले चीनस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाली राजदूतावासमा समन्वय गरी ‘बबरमहल २८८’ बस्ने घरमा प्रहरी पठाउन लगाए र अन्तत: उनको १ असार २०८० मा उद्धार भयो । करिब दुई महिनाको नरकीय जीवनबाट उनले मुक्ति पाइन् । गाउँले दिदी नै आपराधिक गिरोह बनिन् । त्यही भएर त गरिबीले पिल्सिएकी ‘बबरमहल २८८’लाई पाँच लाखमा बिक्री गरिन् ।

यसपछि पीडितले किशोरीले उद्धार भएर नेपाल आएकै दिन मनमाया घले, क्विङ ताई र मिङ झोङक्वीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम हदैसम्मको कारबाही गरी क्षतिपुर्तिसमेत माग गर्दै मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा जाहेरी दिइन् ।

सोही जाहेरीका आाधरमा ब्युरोबाट खटिएको टोलीले मनमायालाई पक्राउ गरिसकेको र अनुसन्धान गरी बुझाएको प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा बिहीबार मनमायाविरुद्ध मानव बेचविखन तथा ओसारपसारसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ । चिनियाँ एजेन्ट क्विङ ताई र कथित बिहे गरेर बेस्याबृत्तिमा लगाउने मिङ झोङक्वी भने पक्राउ परेका छैनन् । मानव बेचविखन अनुसन्धान ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ओमबहादुर रानाका अनुसार उनीहरूको खोजी भइरहेको छ ।

र, बयानका क्रममा मनमायाले मिङ झोङक्वीका लागि उनका आमाले विवाह गर्न केटी खोज्न भनेको र ‘बबरमहल २८८’की आमाले पनि फोन गरी मेरी छोरीलाई पनि तिम्रोजस्तै चिनियाँ केटा खोजी विवाह गरी चीन पठाउनू भनेको बताएकी छिन् । सोहीअनुसार केटा र केटी तर्फको आमाबीच आफू दोभाषे बसेर कुराकानी गराएको पनि दाबी गरेकी छिन् । त्यसक्रममा केटाकेटी विवाह गर्न राजी भएको र उनीहरूका आमा पनि राजी नै भएको मनमायाको बयान छ ।

यसपछि भने अदालती विवाह गरेर केटाकेटीसँगै आफू पनि चीन गएको र उनीहरू आफ्नो घरमा गएपछि आफू पनि चीनस्थित हर्विन सहरस्थित घरमा गएको उल्लेख गरेकी छिन् । त्यहाँ उनको श्रीमान् र छोरी रहेको बयानमा भनिएको छ । उनले गएको १०/१२ दिनपछि जाहेरवाला ‘बबरमहल’लाई म्यासेन्जरमा कुराकानी गर्दा चीनमा बस्न र खान मन नलागेको र नेपाल फर्काइदिनु भनेपछि मिङ झोङक्वीकी आमालाई सम्पर्क गर्दा नेपालको केटासँग फोनमा कुराकानी गर्ने गरेको बताएको पनि बयानमा छ ।

आफूले ‘बबरमहल २८८’लाई बेचविखन नगरेको जिकिर मनमायाको छ । तर, प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबार जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा भने मनमायाले मानव बेचविखन तथा ओसारपसारविरुद्धको कसुर गरेको भन्दै अधिकतम २० वर्ष कैद र दुई लाख रुपैयाँ सजायको माग दाबी गरेको छ ।