पेट्रोलियम ट्यांकर चालकसँग सहमति, ढुवानीको समस्या समाधान

सरकार र आन्दोलनरत नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच सहमति भएको छ । आज सोमबार सिंहदरबारमा भएको वार्तामा अध्ययन गरेर सबै समस्याको बारेमा प्रतिवेदन पेस गर्ने र सोहीअनुसार माग पूरा गर्ने सहमति भएसँगै अहिले देखिएको इन्धन ढुवानीको समस्या समाधान हुने भएको हो ।

सहमति भएसँगै आजैबाट पेट्रोल पम्पहरू खुल्ने निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताए । उनले भने, ‘छलफल सकियो । दुई पक्षबीच सहमति भएको छ । आजैबाट तेल पाइन्छ ।’ शनिबारदेखि ट्यांकर चालकहरूले सम्पूर्ण ट्यांकर चालक/सहचालक मजदुरहरूलाई श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनुपर्ने लगायतका सात बुँदे माग राखेर आन्दोलन गरेका थिए । उक्त आन्दोलनलाई लिएर आज दुई पक्षबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको हो ।