एनसेल र माछापुच्छ्रे बैंकबीच सम्झौता

डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्न माछापुच्छ्रे बैंक र एनसेलबीच सम्झौता भएको छ । सम्झौतापत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् ।

मोबाइलमा डेटा सकिएपछि ब्यालेन्स नकाटिने र अन्य सुविधाहरू रहेको एनसेलको ‘सधैं अन’ योजना अन्तर्गत गरिएको उक्त सम्झौतानुसार अब माछापुच्छ्रे बैंकमा खाता भएका एनसेलका ग्राहकले बैंकको मोबाइल बैकिङ एप एमबीएल एम-स्मार्टको चेक आउट सर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्जका साथै सेवा, सुविधाहरू खरिदका लागि भुक्तानी गर्न सक्नेछन् ।

एनसेलका वितरक तथा खुद्रा विक्रेताहरूले पनि रिटेलर्स एपमार्फत सिधैं माछापुच्छ्रे बैंकको खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई सहज बनाउँदै सधैं अन रहन सहयोग गर्ने विश्वास एनसेल र माछापुच्छ्रे बैंकले लिएको छ ।