मुख्य सचिव डा.बैकुण्ठ अर्याल निलम्बनमा परेसँगै निमित्त मुख्यसचिवको कार्यभार लीलादेवी गडतौलाले सम्हाल्ने भएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव डा.बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वत: निलम्बनमा परेका छन् । उनी निलम्बनमा परेसँगै प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव गडतौलाले निमित्त मुख्य सचिव सम्हाल्ने भएकी हुन् ।
अख्तियार ऐन अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भए स्वतः निलम्बन हुने व्यवस्था अनुशार मुख्यसचिव डा.अर्याल निलम्बित भएका हुन् । मुख्यसचिव अर्यालको निलम्बनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौला स्वत: निमित्त मुख्य सचिव भएकी छन् । मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरू कृष्णहरि पुष्कर र नारायण दवाडीभन्दा गड्तौला वरिष्ठ सचिव हुन् ।
सरकारले तत्काल मुख्यसचिव नियुक्ति गर्न चाहेको अवस्थामा मुख्य सचिव अर्यालको पद सारेर हाल कार्यरत वरिष्ठ सचिवहरूमध्येबाट उपयुक्त लागेका एक सचिवलाई मुख्य सचिव नियुक्ति प्रक्रिया अघि बढाउने छ भने केही दिन लाग्ने भएको अवस्थामा निमित्त मुख्य सचिव गडतौलालाई नै कायम राख्न सक्नेछ ।


















