विराटनगर महानगरपालिकाको बजेट तीन अर्बबढी

विराटनगर महानगरपालिकाले सोमबार तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार उपमेयर शिल्पा निराला कार्कीले नगर सभामा उक्त बजेट पेस गरेकी हुन् ।

जसअनुसार कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै, ऋणको सावा ब्याज भुक्तानीमा पाँच करोड, चालु आवको चालु खर्चतर्फको दायित्व भुक्तानीमा तीन करोड ३४ लाख ८३ हजार, समपूरक कार्यक्रममा ६ करोड १० लाख, वडास्तरीय योजनातर्फ ४३ करोड तीन लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको कार्कीले जनाइन ।

बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाहरूको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराइ मधेस समृद्धि कार्यक्रम तर्फ ५ करोड ६० लाख, मर्मत सम्भारतर्फका लागि १० करोड तथा भारी सवारी साधन खरिदका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको कार्कीले जानकारी दिइन् ।

यस्तै, सामाजिक विकास क्षेत्र अन्तर्गत शैक्षिक विकास कार्यक्रम तर्फ ७८ करोड ७८ लाख १ हजार, स्वास्थ्य विकास कार्यक्रमतर्फ २० करोड ५७ लाख ९३ हजार, महिला लक्षित कार्यक्रमतर्फ ९९ लाख ५७ हजार, संघ संस्थातर्फ २ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

आदिवासी जनजाति, दलित, मधेशी, तथा यौनिक तथा अल्पसङ्ख्यकतर्फ ६२ लाख ८६ हजार, बालबालिका लक्षित कार्यक्रमतर्फ ७० लाख ८० हजार, युवा विकास कार्यक्रमतर्फ ९५ लाख ८४ हजार, खेलकुद विकास कार्यक्रमका लागि १ करोड ८ लाख, रोजगार प्रवर्द्धन कार्यक्रमतर्फ ७० लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

ज्येष्ठ नागरिकतर्फ ९ लाख ९५ हजार, अपाङ्गता क्षमता विकास कार्यक्रमतर्फ २८ लाख ८ हजार विनियोजन गरिएको छ । यसैगरी आर्थिक विकास क्षेत्र अन्तर्गत कृषि विकास तर्फ १ करोड ३ लाख, पशुपंक्षी तथा भेटनरी तर्फ १ करोड ५३ लाख ९७ हजार, सहकारीतर्फ २४ लाख, उद्यमशील विकास तर्फ ५० लाख, उपभोक्ता हित संरक्षणका लागि ८ लाख ५० हजार, पर्यटन प्रवर्द्धनका लागि १ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी, वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्र अन्तर्गत विपद् व्यवस्थापन तर्फ १ करोड २० लाख, वन वातावरण तथा जैविक विविधतातर्फ ३५ लाख ५० हजार तथा सरसफाइ कार्यक्रमतर्फ १ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सुशासन तथा संस्थागत विकास क्षेत्र अन्तर्गत राजस्व सुदृढीकरण तर्फ ३० लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापनका लागि ४० लाख, सहरी विकास तर्फ ९० लाख, सूचना तथा सञ्चारका लागि ६० लाख, सूचना तथा प्रविधि तर्फ ८० लाख, सुशासन तथा सेवा प्रवाहका लागि १ करोड ८ लाख ४५ हजार, कानुन तथा न्यायतर्फ ७२ लाख ५० हजार, फोहोर पानी प्रशोधन केन्द्रतर्फ २ करोड ९५ लाख, भू-उपयोग आवास तथा बस्ती विकास कार्यक्रमतर्फ ८५ लाख ४९ हजार, विद्युतीकरण कार्यक्रमका लागि २ करोड ९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ का लागि महानगरपालिकाले ३ अर्ब ३६ करोड १७ लाख २५ हजार ६ सय २६ रुपैयाँ बराबरको बजेट ल्याएको थियो । अहिले महानगरपालिकाले बजेट बढाएर ल्याएको हो ।