नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले काठमाडौंमा पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने भएको छ । टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले मंगलबार नाट्टाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सम्मानमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले सङ्घीय राजधानी काठमाडौंमा पर्यटक बसपार्क निर्माणका लागि पहल थाल्ने बताएका हुन् ।
अध्यक्ष थपलियाले भने, ‘पर्यटक बसलाई पशुपति क्षेत्रबाट सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषसँग छलफल भइरहेको छ, एक दुई महिनाभित्रै पर्यटक बसपार्कको समस्या समाधान हुने विश्वास लिएका छौँ ।’ पछिल्लो समय पर्यटक बसको टिकटका लागि प्रविधिको प्रयोगलाई अगाडि बढाएको भन्दै अध्यक्ष थपलियाले टिवानलाई धन्यवाद दिँदै विपत्तिको समयमा पर्यटन क्षेत्रमा आइपर्ने समस्या समाधानका लागि विपद् कोष खडा गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।
टिवानका अध्यक्ष कृष्ण आचार्यले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन बसलाई अगाडि बढाउन टिवान र नाट्टा हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । पर्यटक बसलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सबै लाग्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा नाट्टाको ५७औँ साधारणसभा तथा २४औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सम्मान गरिएको थियो ।

















