कांग्रेस र एमाले सहकार्य गर्ने भएपछि वर्तमान सरकारमा संकट, माओवादी केन्द्र बैठक बस्दै

सोमबार नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहकार्य गरेर अघि बढ्ने सहमति गरेपछि प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा संकट आएको छ । सत्ता समीकरणमा फेरबदलसँगै नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको हो ।

बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । पदाधिकारी बैठकले अब के गर्ने भनेर निर्णय गर्ने पुनले बताए ।

दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने एमालेको भनाई छ ।

कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेको माओवादी केन्द्र २०७९ पुस १० गते एमालेको समर्थनमा सरकारको नेतृत्वमा पुगेको थियो । त्यसयताको डेढ वर्षमा प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस र एमालेले पालैपालो समर्थन गर्दै आएका थिए ।